काठमाण्डौ । नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ “मेक इन नेपाल–स्वदेशी” अभियानलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ। 

परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको परिसंघका पदाधिकारीहरुले सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उनको कार्यकक्षमा भेट गरी “मेक इन नेपाल–स्वदेशी” अभियानका सम्बन्धमा छलफल गरेको छ। परिसंघका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सीएनआईले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको बताए। 

परिसंघको यस अभियानमा नेपाल सरकारको साथ र सहयोग हुनुपर्ने धारणा राख्दै मुलुकको औद्योगिक विस्तार, रोजगारीको सिर्जना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने मोरले बताए। यस अभियानमा सरकाले स्वमित्व बोधगरी स्वदेशी उद्योगहरुको स्थापना र उद्योगहरुलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा उनको थियो। 

परिसंघका उपाध्यक्ष अनुज अग्रवालले परिसंघले तयार पारेको अवधारणाको संक्षिप्त प्रस्तुति गर्दै परिसंघले मुख्यगरी ४ वटा आर्थिक खम्बलाई बढी प्राथमिकतामा राखेको बताए। विशेषगरी यस अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याई वार्षिक १ लाख १० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने महान लक्ष्य लिएको छ। परिसंघको लक्ष्यअनुसार ५ वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु्याउने अग्रवालले बताए। 

उद्योगमन्त्री भट्टले नयाँ औद्योगिक क्षेत्रहरुमा उद्योग स्थापनामा परिसंघले पहल गर्नुपर्ने बताउँदै त्यसका लागि सरकारले कुनै किसिमको सुविधा उपलब्ध गराउनुपर्ने भएमा सरकार तयार रहेको बताए। स्वदेशी उद्योग स्थापनासँगै कपास खेतीलाई प्राथमिकतामा राखी नेपालगन्जको खजरालाई कपास उत्पादनको पकेट क्षेत्र बनाउनका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। 

छलफलमा परिसंघका तर्फवाट निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु क्रमशः राजेशकुमार अग्रवाल र सुलभ अग्रवाललगायतको उपस्थिति थियो।