काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकले आकर्षक विशेषताहरु समावेश गरिएको एनसेलको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन्। 

‘शून्य मोज्दात’ मै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधाहरुसहितको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन्। बचत खाता खोली बचतको फाइदासँगै थप आकर्षक सुविधाहरु दिन तथा साथीभाइ र आफन्तसँगको सम्बन्ध थप प्रगाढ बनोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकलाई यो अफर ल्याएको हो। मेगा बैंक र एनसेलको यो सहकार्यका लागि बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।  

प्रिलोडेड रुपमा रहेको ५०० एमबी डाटा (इन्टरनेट), ५० मिनेट टक टाइम तथा ५० एसएमएस प्याकेज भएको एनसेलको सिमकार्ड नयाँ खाता खोल्ने ग्राहकका साथसाथै यो निक्षेप योजनाअन्तर्गत मेगा स्मार्ट मोबाइल बैंकिङ सुविधा उपभोग गर्ने ग्राहकलाई निःशुल्क उपलब्ध गराइने मेगा बैंकले जनाएको छ। यसका साथै यसरी पाइने सिम कार्डबाट बैंकको मेगा स्मार्ट मोबाइल बैंकिङ र मेगा अनलाइन बैंकिङको प्रयोग गर्न अनलिमिटेड इन्टरनेट सुविधा निःशुल्क उपलब्ध हुनेछ। 

यस ‘मेगा लोकप्रिय बचत खाता’ खोल्नासाथ ग्राहकले प्राप्त गर्ने उक्त सिम कार्डमा मासिक १०० रुपैयाँमात्र रिचार्ज गर्नासाथ सम्पूर्ण प्याकेजसहितको सेवाको निरन्तरता हुनेछ। यो सेवाको उपभोगसँगै आम ग्राहकले कम लागतमा सञ्चार प्रविधिमा पहुँच, बचतमा प्रोत्साहन एवं डिजिटल प्रविधिमा आधारित बैंकिङ सेवाको विस्तारमा समेत योगदान रहने मेगा बैंकको विश्वास छ।