काठमाण्डौ । नेपाल सीआरएस कम्पनीले परिवार योजनासम्बन्धी ‘मेरी संगिनी’ नामक मोबाइल एप सुरु गरेको छ।

अस्थायी र छोटो अवधिका परिवार योजनाका साधनहरुका बारे विस्तृत जानकारी दिने उद्देश्यले ‘मेरी संगिनी’ मोबाइल एप सुरु गरिएको हो। यो एपबाट प्रदान गरिएको अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधनहरुसम्बन्धी  तथा सो साधनको प्रयोगबाट पर्न जाने साधारणप्रति असरहरुको समेत जानकारी प्रजनन उमेरको जोकोहीलाई अतिउपयोगी हुने भए पनि विशेषगरी किशोर तथा किशोरी एवं नवविवाहित जोडीहरुलाई अत्यन्त उपयोगी रहने कम्पनीले जनाएको छ। 

एपमा भएको ‘प्राय सोधिने प्रश्नहरु’ खण्डले परिवार योजनाका अस्थायी तथा छोटो अवधिका साधनका बारेमा अझ विस्तृत जानकारी दिनुका साथै सम्भाव्य प्रयोगकर्ताहरुलाई साधनहरुको सुसुचित छनोट गर्न मद्दत गर्नेछ।

यसका साथै एपमा आफू नजिकैको अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने औषधि पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्सा पनि उपलब्ध हुने हुँदा आफू नजिकैको तालिम प्राप्त र दक्ष सेवा केन्द्रबाट आफूलाई उपयुक्त हुने साधनको सेवासमेत लिन मद्दत गर्नेछ।