काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) को ‘मेरो सेयर’ पोर्टल प्राविधिक समस्या आएपछि केही समयका लागि अवरुद्ध हुने भएको छ।

सीडीएससीले मंगलबार सूचना प्रकाशित गर्दै आज राति ८ बजेदेखि केही समयका लागि मेरो सेयर अवरुद्ध हुने जानकारी गराएको हो। मेरो सेयरमा सेवाग्राहीको चाप बढ्ने क्रमसँगै विभिन्न प्राविधिक समस्याहरु देखा पर्दै आएकोले ती समस्या समाधानका लागि आकस्मिक रुपमा थप सर्भरहरु जडान गर्नुपर्ने देखिएको र सो सर्भर जडान गरी डाटा माइग्रेसन गर्न केही समय लाग्ने भएकोले मेरो सेयर केही समयका लागि अवरुद्ध हुने सीडीएससीले जनाएको छ।

मेरो सेयर सेवा अवरुद्ध हुँदा हिजो चैत १६ गते कारोबार भई भोलि चैत १८ गते राफसाफ तथा फछ्र्यौट हुनुपर्ने कारोबारको ईडीआईएस प्रविष्टि गर्ने समय चैत १८ गते बिहान १० बजेसम्म कायम गरिएको पनि सीडीएससीले जनाएको छ। मेरो सेयर सेवा अवरुद्ध हुँदा लगानीकर्तामा पर्न गएको असुविधाप्रति सीडीएससीले क्षमा माग गरेको छ।