काठमाण्डौ । सेयर बजारमा दैनिक उच्च कारोबार हुन थालेसँगै सीडीएससीको ‘मेरो सेयर’ पोर्टलमा फेरि समस्या देखिन थालेपछि लगानीकर्ताहरु हैरान भएका छन्। 

‘मेरो सेयर’ सेयर ट्रान्सफर र डब्ल्यूएसीसी गर्न समस्या भइरहेको छ। हिजैबाट मेरो सेयर यी समस्या देखिएका कारण निकै समस्या भइरहेको लगानीकर्ता जितेन्द्र क्षेत्री बताउँछन्। 

ब्रोकर नम्बर २६ एसियन सेक्युरिटिजका एक अधिकारीले मेरो सेयरमा सेयर ट्रान्सफर र डब्ल्यूएसीसी गर्न समस्या भइरहेको बताए। 

मेरो सेयरमा समस्या देखिने नयाँ भने होइन। पहिले पनि यस्तै समस्या आएपछि सीडीएससीले आईपीओको नतिजा हेर्न छुट्टै व्यवस्था गरेको थियो। सीडीएससीले मेरो सेयरको क्षमता स्तरोन्नति गरिएको जनाए पनि बारम्बार समस्या आउँदा लगानीकर्ता हैरान भएका छन्। 

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले भने ‘मेरो सेयर’ यी समस्या आजमात्र देखिएको दाबी गर्छन्। ‘हिजो राम्रैसँग चलेको थियो’, उनले भने, ‘सिस्टम स्लो भएका कारण समस्या देखिएको हो, अहिले समाधानका लागि केही समयका लागि बन्द गरेका छौँ, छिट्टै सञ्चालनमा आउनेछ।’