काठमाण्डौ । नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष, सेलिब्रेटी बैंकर तथा नवील बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सन्तुलित मौद्रिक नीति आएको प्रतिक्रिया दिएका छन् । 

बिजशालासँग कुरा गर्दै उनले निजी क्षेत्र समेत बाँच्ने र वित्तीय क्षेत्र पनि बचाउने खालको मौद्रिक नीति आएकोमा स्वागत गरे । 

‘गभर्नर सा’बले नियुक्तिलगत्तै हामीसँग भन्नुभएको थियो–आफू पनि बच्नुहोस, ग्राहकहरुलाई पनि बचाउनुहोस् । मौद्रिक नीतिले यो रणनीतिलाई सपोर्ट गर्ने खालका कार्यक्रमहरु ल्याएको छ ।’ उनले भने ।

देशको अर्थतन्त्र र निजी तथा वित्तीय क्षेत्रलाई अहिले ‘स्थिरता’ चाहिएको उल्लेख गर्दै त्यो कसरी कायम गराउने भन्ने विषयमा मौद्रिक नीति केन्द्रीत भएको शाहको भनाई छ । 

‘निजी क्षेत्रलाई पनि डामाडोलबाट उकास्ने र वित्तीय क्षेत्रलाई समेत बचाउने काम भएको छ । दुईवटै क्षेत्रको हात समातेर डोहोर्याउने प्रयास गर्नु भएको छ गर्भनर सा’बले । शाह भन्छन्–‘कार्यान्वयन चाँडो होस्, इकोनोमीमा राम्रो हुनेछ।’

उनले सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटलाई सहयोग हुने खालको मौद्रिक नीति आएको बताए । मौद्रिक नीति सफल बनाउन बजेटको कार्यान्वयन समयमै हुनुपर्ने र सरकारको पूँजीगत खर्च समेत पहिलो त्रैमासदेखि नै हुन थाल्नुपर्नेमा उनले जोड दिए । 

‘मौद्रिक नीतिले दीर्घकालसम्म सोचेर केही व्यवस्था गरेको छ । जस्तो सीसीडी अनुपातलाई ८५ प्रतिशत पुर्याइएको छ । कोभिडको प्रभाव कम भई अर्थतन्त्र जाग्न सुरु भएपछि हामीलाई पूँजी धेरै चाहिन्छ, त्यस्तो बेलामा समेत तरलता टाइट नहोस् भनेर सीसीडी अनुपात ८५ प्रतिशत पुर्याइएको छ ।’

उनले थपे–‘अहिले रेमिटान्स घट्दो छ, पर्यटन लगायतका क्षेत्र डामाडोल अवस्थामा छ । यस्तो अवस्थामा तरलता सिर्जना हुने प्रमुख स्रोत भनेको सरकारी खर्च हो । त्यसकारण सरकारले तेश्रो वा चौथो त्रैमासमा होइन कि पहिलो त्रैमासदेखि नै खर्च गर्न थाल्नुपर्छ ।’  

मौद्रिक नीतिले संस्थागत ऋणिदेखि लिएर व्यक्तिगत ऋणि तथा सामान्य मानिसहरुलाई समेत समेटेकोमा उनी खुशी देखिए । ‘अन्तरबैंक एटीएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेर व्यक्तिगत ग्राहकहरुलाई पनि हेरिदिनुभएको छ । संस्थागत ऋणिलाई पनि राहातको व्यवस्था छ ।’ शाहले भने–‘यो मौद्रिक नीतिले अस्तव्यस्त बन्न थालेको वित्तीय क्षेत्रलाई पनि राम्रै संरक्षण गर्ने देखिन्छ ।’ 

सन्तुलित मौद्रिक नीति आएको बेलामा बैंकहरुले आफू बाँचेर आफ्ना ग्राहक बचाउने रणनीति बनाउनुपर्ने उनको सुझाव छ । ‘अहिले हामीले जोगाउनुपर्ने हाम्रो ब्यालेन्ससिट हो । नाफा कम भयो भनेर चिन्ता गर्ने बेला होइन, वासलात बलियो राख्ने बेला हो ।’ उनले भने–‘अहिले नै नाफा, अहिले नै लाभांश खोज्न थाल्यौं भने त्यसले नराम्रो गर्छ । मौद्रिक नीतिले पनि त्यो नहोस् भन्ने खालको प्रावधान लिएर आएको छ, यो स्वागतयोग्य छ ।’

उनले सर्टटर्ममा सर्भाइभल, मिडियम टर्ममा रिभाइभल र लङटर्ममा ग्रोथ भन्ने रणनीतिलाई मौद्रिक नीतिले प्रोत्साहन गरेको पनि बताए ।