काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले आर्थिक सामाजिक रुपान्तरणको महत्वपूर्ण आधार सहकारी भएको बताएका छन्। 

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले १ अर्बभन्दा बढी कारोबार गर्ने सहकारी २०० भइसकेको बताए। विकास बैंक, लघुवित्तभन्दा सहकारी ठूलो भइसकेको उनको भनाइ थियो। ‘सहकारीको सुधारमा हाम्रो चासो छ। बैंकको ब्याज धेरै भएमा सहकारीमा गएर बस्ने गर्छ। त्यो तरिकाले स्विम भइरहेको छ। सहकारीलाई ध्यान दिइरहेका हुन्छौँ’, उनले भने। 

‘तरलता (तत्काल नगदमा परिणत गर्ने) नभई लगानीयोग्य साधानका रुपमा बुझ्ने गरिन्छ’, खरेलले भने, ‘भनेको समयमा निक्षेप नआउने र कर्जा असुली नहुने समस्या आउने गरेको छ।’

‘अर्को संस्थामा समस्या आउँदा पनि फिर्ता गर्ने क्रम बढ्ने गरेको छ’, उनले भने, ‘समग्र वित्तीय प्रणालीमा तरलता कम हुँदा सहकारीमा पनि प्रभाव परेको हो।’

बैंकमा ब्याजदर बढी भएपछि सहकारीबाट झिकेर बैंकमा राखेको हुन सक्ने खरेलले बताए। तत्काल रिटर्न नदिने घर–जग्गा र सेयरको मूल्य घट्दा पनि सहकारीमा समस्या आएको उनले जनाए। ‘राज्यले सहकारीलाई सहुलियत कर्जा दिनुपर्छ’, उनले भने, ‘सहकारी स्वनियमन नहुँदामात्रै समस्या आउने होइन, राज्यले पनि सहयोग गर्नुपर्छ।’ 

तरलतामा सहयोग गर्ने निकाय नहुँदा जतिबेला पनि तरलता अभाव हुन सक्ने खरेलको भनाइ छ। 

बैंक तथा वित्तीय संस्थाका लागि एकद्धार प्रणाली लागू भएकाले समस्या नआउने गरेको भन्दै कार्यकारी निर्देशक खरेलले सहकारीलाई पनि यस्तै व्यवस्था आवश्यक भएकोे बताए। खराब कर्जा ५ प्रतिशत भन्दा कम हुन नहुने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको उनले बताए। 

सहकारीमा डाटा नहुँदा वास्तविकत तथ्यांक आउन नसकेको उनको भनाइ थियो। 

स्थिरीकरण कोषमा ११ करोड जम्मा भए पनि त्यो पर्याप्त नभएकाले कार्यान्वयनमा समस्या भएको खरेलको ठहर छ। बैंक तथा वितीय संस्थाले जस्तै सहकारीले अन्तर सहकारी कारोबार गर्न नपाउनु समस्या भएको उनले बताए। ‘सहकारीले मापदण्ड पूरा गर्नुपर्ने, तरलता सहयोग गर्ने ठाउँ चाहिने र  वैधानिक रुपमा अर्को सहकारीबाट सापटी लिन पाउने व्यवस्था हुनुपर्छ’, उनले भने। 

तीन वर्षदेखि संख्या तथा कारोबारको तथ्यांक लिन नसक्नु दुःखद् भएको खरेलको भनाइ थियो। ‘सहकारीलाई जतिसुकै खम्बेका कुरा गरे पनि विवरण यकिन गर्न सक्नुपर्छ’, उनले भने।