काठमाण्डौ । नेपालको पहिलो पेमेन्ट गेटवे ‘इसेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको छ । 

नेपालीहरु पछिल्ला दिनमा विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै गएपछि इसेवामा एकाउन्ट खोल्नेको संख्या तीब्र रूपमा बढ्दै गएको हो । 

साथै इसेवाले पछिल्लो समय सुरु गरेको ‘रिफर एण्ड अर्न’ अफरका कारण पनि इसेवामा खाता खोल्नेको संख्या बढेको हो ।  २५ जनवरी २००९ बाट सेवा सुरू इसेवाको मोबाईल एप्स् डाउनलोड गरी कारोबार गर्नेको संख्या पनि करिब १३ लाख पुगिसकेको छ । 

त्यस्तै, देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङमार्फत करिब एक करोड व्यक्तिले इसेवाका सेवा लिइरहेका छन् । 

हाल इसेवाका देशभर करिब ५५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन् । 

त्यसैगरी इसेवामा रहेका मर्चेन्टको संख्या पनि २५ हजारभन्दा बढी पुगेको छ । पछिल्लो समय विभिन्न रेष्टुरेन्ट, होटल, किराना पसलदेखि विभिन्न डिपार्टमेन्टल स्टोरसम्म इसेवाको ‘क्युआर कोड’मार्फत् रकम भुक्तानी गर्न सकिने भएपछि मर्चेन्टको संख्या ह्वात्तै बढेको हो । पान पसलदेखि ठुला डिपार्टमेन्टल स्टोरसम्म क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने सुविधालाई इसेवाले आक्रामक रूपमा बढाउँदै लगेको छ । 

‘हामीले डिजिटल ट्वान्टी–ट्वान्टी भन्ने महत्वाकांक्षी योजना अगाडि सारिरहेको अवस्थामा इसेवामा मात्र खाता खोल्नेको संख्या २० लाख पुग्नुले अत्यन्त खुसी तुल्याएको छ । यसबाट हामी क्यासलेस सेसाइटी निर्माणको बाटोमा नजिक–नजिक पुगिरहेका छौँ भन्ने थप पुष्टि भएको छ,’ इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले भने ।

इसेवा मुलुकका हरेक कुनाकाप्चामा पुग्न सफल भएको छ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने इसेवाले यो एक दशकको अवधिमा ठुलो फड्को मारेको छ भने आम मानिसलाई लाइन बसेर बिल भुक्तानी गर्नुपर्ने झञ्जटबाट मुक्ति दिएको छ । 

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल–कलेजको शुल्कलगायत सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।