-अभिजित घोष दस्तिदार(अफिसिएटिङ सीइओ)-एलआइसी नेपाल

बिमा समितिले बिमा कम्पनीहरुका लागि समयसीमासहित चुक्तापूँजी तोकेको छ। तपाईहरु पनि त्यो दौडमा हुनुहुन्छ, अवस्था के छ ?
-हाम्रो अहिलेको चुक्तापूँजी १ अर्ब ३४ करोडको हाराहारीमा छ । केही समयअघि हामीले २०७३/७४ को मुनाफाबाट ३६ प्रतिशत बोनस सेयर घोषणा गरेका छौ र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत अलग्गै उपलब्ध गराउने भनेका छौ । यसले हाम्रो चुक्तापूँजी बढाएर १ अर्ब ८३ करोडको हाराहारीमा पुग्नेछ । आर्थिक वर्ष २०७४/७५ मा के कति बोनस दिन सकिन्छ भन्ने बिषयमा हामीले हिसाबकिताब गरिरहेका छौ । बिमा समितिको निर्देशन अनुसार चालु आर्थिक वर्षको अन्तसम्म तोकिएको चुक्तापूँजी पुर्याउनुपर्छ । हामी तोकेको चुक्तापूँजी सुविधाजनक ढंगले नै पुर्याउनेछौ । 

तपाईले प्रतिशतकै हिसाबले हेर्नुभयो भने पनि ३६ प्रतिशत बोनस घोषणा गरेपछि समेत १२ प्रतिशतको हाराहारीमा मात्र चुक्तापूँजी अपुग हुने देखिन्छ । २ अर्ब पूँजी पुग्नका लागि आवश्यक थप रकम तोकिएकै समयअवधिभित्र जुट्नेमा म तपाईलाई विश्वस्त बनाउन चाहन्छु । 

तपाईहरुले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट हालसम्मकै सर्वाधिक लाभांश घोषणा गर्नुभयो, आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई कतिसम्म बोनस आउला ?
हामीले यसपटक पनि राम्रै नाफा कमाएका छौ । हाम्रा सबै सरोकारवालाहरुले दिएको आशिर्वादका कारण प्रत्येक वर्ष राम्रो प्रगति गर्न सकिरहेका छौ । सबै क्षेत्रको हामीले सहयोग पनि निरन्तर पाइरहेकै छौ । हाम्रो विजिनेश पनि अरुको भन्दा राम्रो छ । एसेट्स साइटबाट हेर्ने हो भने हामी टप पोजिसनमा छौ । गत वर्ष बैंकहरुको ब्याजदर निकै माथि रह्यो । यसको अर्थ, हाम्रो लगानीले समेत सोही अनुसारको रिटर्न प्राप्त गरेको छ । यसले गत वर्ष कम्पनीको विजिनेशमा समेत राम्रै बढोत्तरी गराइदिएको छ । 

एकपछि अर्को प्रगति र सफलता कसरी संभव भयो ?
-हामी लङ टर्मका लागि योजना बनाएर काम गर्छौ । मैले कहिल्यै पनि इन्स्योरेन्स कम्पनीलाई क्वार्टर टू क्वार्टर बेसिसमा हेर्दिँन । प्रत्येक क्वार्टरमा कस्तो प्रगति गर्यो वा गरिरहेको छ भन्ने कुरामा हाम्रो ध्यान हुुँदैन । हामी दीर्घकालीन योजना बनाएर त्यो लक्ष्य प्राप्तिका लागि लाग्छौ । 

हामीले २ वटा क्षेत्रमा आफूलाई राम्रैसँग विकास गरेका छौ । पहिलो हो हामीले हाम्रो सेवालाई विभिन्न क्षेत्रमा बिस्तार गरेका छौ । गत आर्थिक वर्षमा मात्रै हामीले १० वटा नयाँ शाखा खोलेका थियौ, त्यो पनि बैतडीदेखि इलामसम्मका ठाउँहरुमा । देशका विकट क्षेत्रमा समेत हामीले शाखा बिस्तारमा ध्यान केन्द्रीत गरेका छौ । त्यसअघि हाम्रो शाखा संख्या निकै कम अर्थात ३२ मात्र थियो, १० वटा थपिएर अब ४२ वटा पुगेको छ । चालु आर्थिक वर्षमा हामीलाई बिमा समितिले २१ शाखा  बिस्तारको अनुमति दिइसकेको छ । हामीले यसरी सेवा बिस्तारमा म्यासिभ ग्रोथ गर्नेछौ यो वर्षभित्र । अबको ६ महिनाभित्रमा यी २१ नयाँ शाखा हामी बिस्तार गरिसक्छौ ।

अर्को, हामी व्यापारमा विशेष विश्वास गर्छौ । बिमाको समस्या नै मिससेलिङ हो । इन्स्योरेन्सका सेल्सम्यानले जे चाह्यो, त्यो बेचिरहेका हुन्छन् ।

मानिसको चाहनालाई कतिपय अवस्थामा ध्यान दिइएको पाइन्न । त्यसकारण हामीले चाहि सधैभरि हाम्रा एजेन्टलाई भन्ने गरेका छौ कि व्यवसायिक बन्नुहोस्, प्रडक्टको बिषयमा पर्याप्त ज्ञान भेला पारेर मात्र ग्राहक बनाउन जानुहोस् । बिमाको बिषयमा राम्रो ज्ञान नभई राम्रो एजेन्ट बन्न सकिन्न । हाम्रो यही नीतिका कारण हुनुपर्छ, धेरै नयाँ बिमा कम्पनीहरु आउँदा समेत हाम्रा अधिकांश एजेन्टहरुले हामीलाई छाडेका छैनन् । हाम्रा एजेन्टहरु हामीसँगै छन्, किनभने उनीहरुले पनि यहाँ महत्व  पाइरहेका छन्, विजिनेश गर्ने  ज्ञान, प्लेटफर्म र राम्रो वातावरण पाइरहेका छन् । 

एमडी आरटी भनेको अमेरिकी कम्पनीबाट प्रवद्र्धित लाखौं डलरको राउण्ड टेबल कन्फरेन्स हो, उसको एलआइसीसँग सम्बद्धता छ । एलआइसी एजेन्ट एमडी आरटी बन्न योग्य समेत छन् । एमडी आरटीबाट एलआइसी नेपालले आबद्धता पाएको छ, तर त्यसका लागि समेत तपाईमा केही न केही क्वालिटी हुन आवश्यक छ । सन् २०१६ मा हामीसँग ८७ एमडी आरटी एजेन्ट्स थिए, २०१७ मा त्यो संख्या बढेर १३८ पुगेको छ । त्यसकारण हामीले हाम्रा एजेन्टलाई उनीहरुको जीवन कसरी समृद्ध र सुखी बनाउने भन्ने कुरा पनि सिकाइरहेका छौ, अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी पोजिसन कसरी बनाउने भन्ने कुरा पनि सिकाइरहेका छौ । 

यसरी, भौगोलिक उपस्थितिमा वृद्धि र आफ्ना एजेन्टलाई सही कुरा सिकाउने राम्रो नीति हामीसँग छ । एजेन्टका लागि कमिसन अनिवार्य छ, तर त्यो भन्दा बढी ग्राहकको सेवासुविधालाई समेत फोकसमा राख्नुपर्छ भनेर हामीले सिकाएका छौ । तपाईले कस्टमरको टेककेयर गर्नुभयो भने उनीहरुले तपाईको टेककेयर गर्ने हुन् । यो मन्त्र हाम्रा एजेन्टहरुलाई राम्रो थाहा छ ।

कतिपय चुक्तापूँजी वृद्धि गर्न नसक्ने संकेत देखिएका कतिपय बिमा कम्पनीहरुलाई नियामकले सकेसम्म चाँडो फोर्स मर्जरमा लैजानुपर्ने सुझाव समेत दिइरहेका भेटिन्छन् । यसमा तपाईको धारणा के हो ?
-नेपालमा कतिपय कम्पनीहरु हालैबाट मात्र संचालनमा आएका छन् । २ अर्ब चुक्तापूँजी त्यस्ता कम्पनी संचालनका लागि आवश्यक छ । लङटर्ममा राम्रो हुने सोचेरै यति धेरै रकम खर्च गरेकाहरु किन मर्जरमा जाने ? यस्तो अवस्थामा कोही पनि अरुसँग मर्जरमा जान चाहदैन होला । 

दोश्रो कुरा, बैंकको भन्दा बिमा कम्पनीहरुको सेवा फरक छ, विजिनेश पनि फरक हो । बिमा व्यवसाय भनेको प्रक्षेपणमा आधारित विजिनेश समेत हो । बैंकमा यस्तो हुँदैन । बिमाहरुले केही अनुमानको आधारमा काम गर्छन, भन्नुको अर्थ १००० मानिसहरुमध्ये कति मानिसहरुको आगामी वर्ष मृत्यु होला भन्ने कुरा कसैले पनि भन्न सक्दैन । अर्को उदाहरण, जस्तो हामीले कुनै इन्स्योरेन्स पोलिसी १५ देखि २० वर्षे अवधिका लागि बिक्री गर्छौ । अब उसो भए यसको ब्याजदर कति हो त ? कसैले भन्न सक्दैन । यो एउटा अनुमान नै हो । जस्तो २ वर्षअघि मात्र नेपालको ब्याजदर ४ प्रतिशतको हाराहारीमा थियो, यो बढेर १४ प्रतिशत पुग्यो र अहिले १०–११ प्रतिशतको हाराहारीमा घुमिरहेको छ । भन्नुको अर्थ, तपाईले २ वर्षसम्मका लागि त प्रक्षेपण गर्न सक्नुहुन्न भने १५ वा २० वर्षका लागि कसरी प्रक्षेपण गर्न सक्नुहुन्छ ? हरेक बिमा कम्पनीहरुले गर्ने भनेकै आफ्नो अनुमानको आधारमा हो । कतिपय कम्पनीहरुको अनुमान उस्तै पनि होला । एलआइसीको कुरा गर्ने हो भने हामी यो मामलामा निकै कन्जरभेटिभ छौ, हामीले ५.७५ प्रतिशतसम्मको रिटर्निङ फ्यूचरसम्म अनुमान गरेका हुन्छौ, यो नै हाम्रो बोनस मेन्टेन गर्न पर्याप्त हुन्छ । तर, हामीले गत वर्ष १० देखि १२ प्रतिशतसम्म ब्याज आम्दानी गर्न सफल भयौ । 

कतिपय कम्पनी संभावित ग्रोथको अनुमान गर्ने बिषयमा साहसी पनि बन्न सक्लान् । मैले यहाँ भन्न खोजेको लाइफ इन्स्योरेन्स कम्पनीमा मार्जिन भन्ने चिज साह्रै गाह्रो कुरा हो । 

यदि कुनै कम्पनी पूँजीको समस्याबाट प्रताडित छ भने ग्राहकको इच्छाको कदर गर्दै नियामकले त्यस्ता कम्पनीलाई मर्जरमा लैजान सक्नुपर्छ । किनभने ग्राहकको चाहना पहिलो नम्बरमा राखिनुपर्छ । 

तोकिएको समयमा चुक्तापूँजी पुर्याउन नसक्ने कम्पनीका लागि त मर्जर राम्रै कुरा हो नि, होइन र ?
यदि कम्पनी पूँजीको आधारमा सुविधाजनक अवस्थामा छैन भने त्यस्ताका लागि सही भए पनि वा गलत भए पनि अन्य विकल्प नै छैन । तपाईले मन पराउनुहोस् वा मन नपराउनुहोस्, तर आफ्ना कस्टमरका लागि मर्जरमा जान तयार हुनुपर्छ । 

नेपालको बिमा क्षेत्रका समस्या, जोखिम र अवसरहरु के के हुन् ?
मलाई तीनवटै कुराहरुमा विश्लेषण गर्न दिनुहोस् । पहिला कुरा गरौं जोखिमको । इमानदारसाथ भन्नु पर्दा नेपालका बिमा कम्पनीहरुका लागि एकमात्र जोखिम भनेको लङ टर्म अवसरका कुनै पनि उपकरणमा लगानी गर्न नपाउने वा त्यस्तो  वित्तीय औजारको अभाव हुनु नै हो । बिमा कम्पनी लङ टर्मका लागि लायवलीटी लिएको हुन्छ । तर, जुन सम्पत्ति प्राप्त हुन्छ, त्यो चाहि सर्ट टर्मका लागि हुन्छ । तपाईले १५ वर्षका लागि कुनै पोलिसी बिक्री गरिरहनुभएको छ भने १५ वर्षसम्म संकलन हुने प्रिमियमका लागि गतिलो वित्तीय औजार नै छैन । कहाँ लगानी गर्ने ? भन्नुको अर्थ सम्पत्ति सर्टटर्मका लागि छ, तर मेरो लायविलिटिज नै लङ टर्मका लागि छ । यहाँनेर समस्या र जोखिम छ । एसेट र लायविलिटिज सधैं म्याच हुनुपर्छ, यी दुई कुरामा मिसम्याच भयो भने त्यो राम्रो भएन । जस्तो, आजको दिनमा राम्रो ब्याज पाइराखिएको छ भने त्यो निरन्तर नहुन सक्छ, भोलि धेरै तल समेत ओर्लनसक्छ । 

मैले त नेपालको भोलिको आर्थिक विकासको अथाह संभावना देखेको छु । अर्थतन्त्रका दुई सुपरपावर देशको बीचमा रहेको मुलुक नेपालको आर्थिक विकास हुँदैन भन्ने कुरा हुन्न, नेपालको अर्थतन्त्रले समेत भविष्यमा राम्रै फड्को मार्ने देखिन्छ । जब आर्थिक विकास हुन थाल्छ, ब्याजदर घट्न थाल्छ । यस्तो अवस्थामा मसँग भएको रकम लङटर्मका लागि ढुक्कले लगानी गर्ने कुनै वित्तीय औजार(उपकरण) मसँग छैन । यो ठूलो जोखिम हो । 

चुनौति पनि प्रशस्तै छन् । नेपालको बिमा क्षेत्रको मुख्य चुनौति भनेको दक्ष जनशक्तिको अभाव हुनु हो । नेपालमा १९ वटा जति जीवन बिमा कम्पनी आइसकेका छन् । हामीसँग बिमा कम्पनीमा काम गर्ने खालको टेक्निकल शिक्षा दिने एकेडेमीहरु पनि छैनन् । मैले कर्मचारीको रुपमा एमबिए, बिबिएलाई लिएर उनीहरुलाई बिमामा अभ्यस्त गराउनुपरेको छ । यो साच्चिकै गाह्रो कुरा हो । जस्तो केही दिनअघि हामीले असिस्टेन्ट पदमा ५० कर्मचारी माग्यौ । त्यसका लागि हामीकहाँ ५ हजारले आवेदन दिए । यसको अर्थ एक पदका लागि १०० जनाको आवेदन पर्यो । तर, परेका आवेदनहरुमा जब हामीले सर्टलिस्टिङको काम थाल्यौं, तब देखियो कि कसैमा पनि बिमा सम्बन्धी शिक्षा नै रहेनछ ।

नयाँ कम्पनीहरुलाई त अझै बढी समस्या छ । उनीहरुका लागि तालिमप्राप्त जनशक्तिको आवश्यकता छ । यहीकारण पुराना कम्पनीहरुमा काम गर्ने मानिसहरुको तानातान छ । ९ कम्पनीमा काम गर्ने तिनै मानिसहरु १९ वटा कम्पनीमा छरिएका छन् । सायद यही खाँचो देखेर बिमा समितिले हालै इन्स्योरेन्स ट्रेनिङ इन्स्टिच्यूट स्थापना गरेको छ । 

म बिमा कम्पनीमा आफ्नो करिअर बनाउन चाहने सबै विद्यार्थीहरुलाई अनुरोध गर्न चाहन्छु कि बिमा कम्पनीमा जागिरका लागि आवेदन दिनुअघि केही भए पनि बिमा शिक्षा लिनुहोस् । तपाईले पढेर बिमाको तालिम मात्र लिनुभयो भने तपाईका लागि नेपालको बिमा क्षेत्रमा निकै ठूलो अवसर छ । 

अवसर पनि कम छैन बिमा क्षेत्रमा । अहिले नेपालको कुल बजारको मुश्किलले १० प्रतिशत मात्र बिमा कम्पनीले कभर गरेका छन् । हाम्रो कभरेज प्रतिशत निकै दयालाग्दो अवस्थामा छ । त्यसकारण सबै बिमा कम्पनीहरुले आफ्नो सेवा बिस्तार गर्न आवश्यक छ र अथाह संभावनालाई पक्रन आवश्यक देख्छु । कम्पनीहरुका लागि निकै ठूलो अवसर देखिन्छ ।

आर्थिक वर्ष २०७५/७६ का लागि सरकारले प्रस्तुत गरेको बजेट र त्यसपछि राष्ट्रबैंकले प्रस्तुत गरेको मौद्रिक नीतिले बिमा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । यस्तो नीतिका कारण समेत अब नेपालको बिमा क्षेत्र बुस्ट हुने बेला आएको हो भन्ने लाग्छ ?
हो, म त धेरै उत्साही पनि छु । एउटा सामान्य उदाहरण हेरौं न, ९ वटा नयाँ जीवन बिमा कम्पनी किन फिल्डमा आए होलान् ? एउटा कम्पनी सेटअप गर्न २ सय करोडसम्म लगानी गरिएको छ । जसले २ सय करोडसम्म लगानी गरेका छन्, उनीहरु साना मान्छे होइनन् । उनीहरुले पक्कै पनि केही न केही मार्केट रिसर्च गरेरै आएका होलान् । यदि अहिलेको संकेत झै नेपालको आर्थिक वृद्धि निरन्तर हुने हो भने भविष्यमा बिमा क्षेत्रमा निकै ठूलो बुम आउनेछ । नयाँ र पुराना सबै बिमा कम्पनी मज्जाले सस्टेन हुनेछन् र उनीहरुलाई विजिनेश गर्न भ्याई नभ्याईको अवस्था हुनेछ । तर, सरकारबाट पनि यो क्षेत्रलाई बुस्ट गर्न उस्तै सहयोग हुन आवश्यक छ । कर लगायतको इस्यूमा सरकारको कदम सहयोगी नै देखिएको छ, तर अझै अपुग छ । हामीले मानिसहरुलाई लङ टर्म सेभिङका लागि केही इन्सेन्टिभ समेत दिनसक्ने अवस्था सिर्जना गरिनुपर्छ । समग्रमा म चाहि सुनिश्चित छु कि आउँदा दिनमा बिमा क्षेत्र बुम हुनेछ ।

नेपालका अधिकांश नागरिकमा बिमा चेतना अझै आइसकेको छैन । यसको जिम्मेवार को हो ? 
हामी र हामीजस्ता कम्पनी जिम्मेवार हौ । हामी सधैं विज्ञापन गरेर ‘मेरो पोलिसी लिनुहोस्, मेरो पोलिसी लिनुहोस्’ मात्र भन्छौ । तर, हामीले सर्वसाधारणले बुझेर बिमा गरिदियोस् भन्ने बिषयमा बढी केन्द्रीत हुनुपर्छ । भन्नुको अर्थ, मेरो पोलिसी लिइदिनुहोस् त भन्नुपर्छ नै, तर नागरिक इन्स्योरेन्सको बिषयमा सचेत भएपछि मात्र । म यसको जिम्मेवार हुँ भन्ने ठान्छु । यहीकारण गत वर्ष हामीले बिमा गर्नुको फाइदाको बिषयमा केन्द्रीत थुप्रै विज्ञापनहरु समेत प्रसारण र प्रकाशन गर्यौं । एलआइसी जहिल्यै पनि युवाहरुको अवधारणालाई क्याच गर्ने बिषयमा विश्वास गर्छ । आजका केटाकेटी नै भोलिका नागरिक हुन् । तसर्थ हामीले ग्रामीण क्षेत्रका स्कूलहरुसम्म पुगेर बिमा चेतना बिस्तार गर्न खोजिरहेका छौ । उनीहरुको कक्षा लिएर बिमाको बिषय बुझाउन चाहिरहेका छौ । र, सो विद्यालयको एक विद्यार्थीलाई हामी बेस्ट स्टूडेन्ट अफ दि इयरको ट्रफी पनि प्रदान गर्नेछौ । यस्तो कदमले तिनीहरु शिक्षा र बिमा शिक्षाप्रति समेत इच्छुक बनून् भन्ने हाम्रो चाहना हो । 

सरकारले स्वास्थ्य बिमाको अवधारणा ल्याएको छ । यसमा तपाईको धारणा के हो?
-यो साच्चिकै राम्रो अवधारणा हो । वास्तवमा यो आइडिया भारत सरकारको पोलिसीबाट प्रभावित जस्तो देखिए पनि यो बेस्ट आइडिया हो । तर, यो पोलिसी धेरै चुनौतिका साथ आएको छ । अवधारणाको कुरा मात्र गर्ने हो भने यो गज्जबको छ र राम्रो छ । तर, ग्राउण्ड लेभलमा भने धेरै पूर्वाधारहरुको आवश्यकता पर्छ । जुनसुकै स्वास्थ्य बिमाको एकमात्र चुनौति भनेको फट्याई(फ्रड)लाई कसरी रोक्ने भन्ने नै हो । र, त्यसका लागि धेरै पूर्वाधार चाहिन्छ भन्ने लाग्छ । मलाई लाग्छ, यस्ता चुनौति आगामी दिनमा सरकारबाट सामना हुन्छ र सहज स्वास्थ्य बिमाका लागि एउटा वातावरण तयार हुनेछ । 

बिमा कम्पनीहरुको पोलिसीमा डूप्लिकेसन धेरै देखिन्छ । यस्तो किन हुन्छ ?
तपाईले साह्रै राम्रो प्रश्न गर्नुभयो । बजारमा यस्तो किन भइरहेको छ र मेरो कम्पनीले के गरिरहेको छ भन्ने बिषयमा हेरौं । 

सामान्य रुपमा, म्यानेजमेन्टमा सक्सेस ट्रयाप हुन्छ । केही गर्नुहुन्छ सफलता पाउनका लागि, फेरि केही गर्नुहुन्छ सफलताकै लागि । यसको अर्थ तपाईको माइण्ड सक्सेसमा ट्रयाप हुन्छ । सधैंभरि एउटै कुरा गर्न चाहनुहुन्छ, सफलताका लागि । ७०–८० को दशकमा हेर्नुभयो भने बलिउड मुभीमा एङ्ग्री योङ म्यानको फेसन नै आएको थियो । योङ म्यान आउँछ, अनि उसले भन्छ–‘म तेरो खुन पिउँछु, तलाई मारिदिन्छु’ । जब यो काम बच्चनले गरे उनी सफल भए । यही कुरा शशी कपुरले गरे, उनी पनि सफल भए । त्यसपछि सबैले त्यही खालका मुभी बनाउन थाले, किनभने उनीहरु पनि सफल बन्न चाहन्थे । यहाँको बिमामा पनि त्यही कुरा भइरहेको छ । यदि कुनै कम्पनीले कुनै प्रडक्टमार्फत सफलता प्राप्त गर्यो भने अरुले पनि त्यही काम गरिरहेका छन् । काम गर्नका लागि यो राम्रो बाटो र शैली होइन । यहीकारण यस्तो उद्योगमा नवीनतम प्रडक्ट लञ्च गर्नेले नै बजारलाई नेतृत्व गरिरहेको हुन्छ । जब कसैले नवीनतम प्रडक्ट लञ्च गरेर बजारलाई नेतृत्व गर्छ, अरुले फलो गर्छन् । एकखालका मार्केट लिडर हुन्छन्, बाँकी मार्केट फलोअर ।

बिमामा मात्र होइन, सबै क्षेत्रमा यो कन्सेप्टले काम गर्ने हो । जस्तो, कोलगेट जब पहिलोपटक लञ्च भएको थियो, प्लाष्टिकमा आधारित प्याकमा आएको थियो । यो कुरालाई डाबर लगायतका कम्पनीले पछ्याए । अब अहिले सबैले पतञ्जलीलाई फलो गरिरहेका छन् । यसको अर्थ बजारमा जे सफल हुन्छ, त्यसैको सबैले नक्कल गरिरहेका हुन्छन् । 

यही कुरालाई अभोइड गर्न एलआइसी केही निकै नवीनतम प्रडक्टसहित बजारमा आएको छ । हामीले पेन्सन प्रडक्ट ल्याएका छौ, जुन निकै नवीन छ । २० वर्षअघि नेपालका नागरिकको औसत उमेर ६० वर्ष थियो । अहिले बढेर ६९ वर्ष भएको छ । आउँदो १५ वर्षभित्र यो ८० वर्ष पुग्न सक्छ । तपाईले कमाउने उमेर भनेको ६० वर्षसम्म हो । यस्तो अवस्थामा ८० वर्षसम्म आफ्नो जीवन कसरी चलाउने, कसरी धान्ने ? त्यसकारण पेन्सनमा आधारित रहेर हामीले केही नवीन प्रडक्ट ल्याएका छौ । आगामी दिनमा अझै केही नवीन प्रडक्टका साथ हामी आउँदैछौ । पेन्सन सम्बन्धी बिमा प्रडक्टको आउँदा दिनमा मैले निकै ठूलो भविष्य देखेको छु । 

लाइफ इन्स्योरेन्स फण्डमा धेरै बिमा कम्पनीहरुको अरबौं रुपैयाँ थुप्रिएर बसेको छ । तर, त्यो लगानीको उपयुक्त बित्तीय उपकरण(औजार) वा ठाउँ छैन । यो बिषयमा तपाईको धारणा के हो ?
-मेरो कम्पनीको कुरा गर्दा हाम्रो जीवन बिमा कोषमा ३ हजार ८ सय करोड रुपैयाँ रहेको छ । यो भनेको निकै ठूलो रकम हो । यो पैसा मैले कहाँ लगानी गरिरहेको छु ? अधिकांश रकम ‘क’ वर्गका बैंकको मुद्धती खातामा लगानी गरेका छौ । केही रकम इक्वीटीमा लगानी गरिएको होला । मैले अघि पनि यहाँलाई भनेको थिएँ कि एसेट र लायवलिटिबीच मिसम्याच हुनु भएन । ग्लोबल्ली बिमा कम्पनीले लङ टर्मका लागि लगानीको विकल्प खोज्छन् र त्यस्तो अवसर पनि पाउँछन् । हामी ५० वर्षसम्मका लागि लगानी गर्न तयार छौ, बजारको भन्दा तल्लो रेटमै समेत हामी लगानी गर्न तयार छौ । किनभने मैले ५० वर्षका लागि लगानीको अवसर पाउँछु । उसो भए यस्तो फण्ड कहाँ लगानी गर्ने त ? यस्तो फण्ड पूर्वाधार विकासमा लगानी गर्न सकिन्छ ।

किनभने पूर्वाधारले रिपे गर्न धेरै लामो अवधि समेत लिन्छ । विश्वका अधिकांश देशमा बिमा कम्पनीहरुको यस्तो फण्ड सरकारबाट निर्मित पूर्वाधारमा लगानी भएको हुन्छ । यस्तोमा सरकारले निश्चित प्रतिशतको रिटर्न ग्यारेण्टी गरेको हुन्छ । यदि नेपाल सरकारले पनि आफूले संचालन गर्ने पूर्वाधार आयोजनामा लगानी गर्न चाहन्छ भने हामी बजारको भन्दा पनि सस्तो ब्याजदरमा त्यहाँ पैसा लगाउन तयार छौ । यो बिषयमा नेपाल सरकारलाई मेरो विशेष अनुरोध समेत छ ।

एलआइसी नेपालको फाइनान्सियल स्टाटस र मार्केट सेयर कस्तो छ ?
-हाम्रो पोजिसिन नेपालको उत्कृष्ट जीवन बिमा कम्पनीमध्येमै रहेको छ । सलभेन्सी मार्जिनले बिमा कम्पनीहरुको अवस्था बताउँछ । यसको अर्थ तपाईको एसेट र लायवलिटिजको अनुपात हो । बिमा समितिले यस्तो मार्जिन १५० वा त्यो भन्दा बढी हुनुपर्छ भन्छ, तर एलआइसीको सलभेन्सी मार्जिन ३८१ रहेको छ । यसको अर्थ १०० रुपैयाँ लायवलिटिजका लागि ३८१ रुपैयाँ एसेट छ भन्ने हो । यो भनेको निकै सुविधाजनक र राम्रो अवस्था हो । यो कम्पनीको खर्च दर पनि यो उद्योगकै कम छ । पोलिसी खरीदबापत आएको रकमको सुरक्षा मेरो प्राथमिक चिन्ताको बिषय हो । हाम्रो मार्केट सेयर २ हजार करोडको छ । बिमा कम्पनीहरुको करेन्ट मार्केट प्राइसमा एलआइसी नेपालको मूल्य सबैभन्दा धेरै छ । यस्तै, जीवन बिमा क्षेत्रमा हाम्रो मार्केट सेयर २५ प्रतिशतको हाराहारीमा छ । प्रिमियम संकलनतर्फ हामी नम्बर २ मा छौ । पहिलोपटक यो कम्पनीले १ हजार करोड प्रिमियम आम्दानी गर्न सफल भएको छ । ३०० करोड पहिलो प्रिमियम र ७०० करोड भन्दा बढी पुरानो प्रिमियम बापत हामीले उठाएका छौ । 

२०७३/७४ का लागि ३६ प्रतिशत बोनस सेयर घोषणा गर्नुभयो । २०७४/७५ का लागि पनि थप बोनस नै आउने देखिन्छ । एलआइसी नेपालको सेयर खरीद गर्ने लगानीकर्ताले आगामी दिनमा के अपेक्षा गर्ने ?
-एलआइसी नेपाल सही दिशातर्फको यात्रामा अगाडि बढेको कुरा म हाम्रो कम्पनीको सेयर होल्डरहरुलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । हामीले निकै सचेततापूर्वक विजिनेश गरिरहेका छौ । हाम्रा लागि कम्पनीको प्रोफिटाबिलिटी निकै महत्वपूर्ण छ । यहीकारण हामीले प्रिमियम संकलनमा सोच्दै नसोचेको प्रगति गरिरहेका छौ । वारेन बफेटले भनेजस्तो लङटर्मका लागि लगानी गर्नुहुन्छ भने एलआइसी नेपाल एउटा उत्तम विकल्प हो ।

सेयरबजारमा धेरै उतारचढाव भइरहन्छ, यस्तो बजारमा लगानी गर्दा केही दिन र महिनाको उतारचढाव मात्र हेर्नु हुँदैन । यहीकारण म फेरि पनि भन्छु दीर्घकालीन योजना बनाएर लगानी गर्न चाहने सेयर लगानीकर्ताहरुका लागि एलआइसी नेपाल सोलिड कम्पनी हो । लगानीकर्तालाई हामी निराश बनाउँदैनौ । हामी निरन्तर बढ्दो क्रममा छौ । हामी कस्टमर सर्भिसमा धेरै सचेत कम्पनी हौ । म हाम्रा सेयरहोल्डरहरुलाई विश्वस्त तुल्याउन चाहन्छु कि यो कम्पनी भोलिका दिनमा आजको भन्दा अझ सवल र आकर्षक हुनेछ ।

तपाईले एलआइसी नेपालमा अफिसिएटिङ सीइओको रुपमा काम थाल्नुभएको पनि महिनौं भइसक्यो, फुल सीइओ नियुक्तिमा किन ढिलाई भएको हो ?
-एलआइसी नेपालमा एलआइसी इण्डियाको ५५ प्रतिशत सेयर लगानी छ । एलआइसी इण्डिया भनेको भारत सरकारको कम्पनी हो । केही प्राविधिक कारणले फुल सीइओ नियुक्तिको निर्णय पेण्डिङमा रह्यो । ती सबै इस्यूहरु सर्टआउट भइसकेका छन् । विदेशी पोस्टिङका लागि हुने प्रक्रियागत झमेलाहरु पनि छँदै छन् । भारत सरकार पनि यो विषयमा सिरियस छ भन्ने लाग्छ । सरकारी निर्णय भएका कारण केही समय लिनु स्वभाविक हो, तर अब निकट भविष्यमै यो अवस्थाको समाधान निस्किनेमा म विश्वस्त छु।
प्रस्तुती: सोमनाथ बास्तोला, तस्विर: भक्तराज रसाइली