काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलगायतका क्षेत्रमा विश्व बैङ्क र निजी क्षेत्रबीचको सहकार्य हुनुपर्नेमा जोड दिएको छ । 

महासङ्घका अध्यक्ष भवानी राणासहित पदाधिकारी र नेपालका लागि विश्व बैङ्कका देशीय व्यवस्थापक फेरिस हादाद जर्भसबीच आज भएको भेटवार्तामा अध्यक्ष राणाले नेपालमा रहेका सम्भाव्यतामा सहयोग गर्न विश्व बैङ्कलाई आग्रह गर्नुभयो । 

अध्यक्ष राणाले ‘कनेक्टिभिटी’, बैङ्किङ, पूर्वाधार, सूचना प्रविधिलगायत विषयमा सार्वजनिक निजी साझेदारीका साथै सार्वजनिक निजी संवादको अवधारणाअनुरूप अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको महासंघले जनाएको छ । 

नेपालमा करमैत्री र लगानीमैत्री वातावरण निर्माणमा विश्व बैंकको महत्वपूर्ण भूमिका हुनसक्ने औँल्याउँदै अध्यक्ष राणाले निजी क्षेत्रको सङ्घीय प्रतिनिधिमूलक संस्था महासङ्घको देशव्यापी सञ्जाल रहेकाले महासङ्घ र विश्व बैङ्कबीच अझ बढी सहकार्यको आवश्यकता रहेको बताउनुभयो । 

भेटका क्रममा विश्व बैङ्कका देशीय व्यवस्थापक फेरिसले नेपालको विकास प्रयासमा निजी क्षेत्रसँग मिलेर कार्य गर्ने विश्वास दिलाउनुभएको थियो । उहाँले विश्व बैङ्कको सहयोगको क्षेत्र र निजी क्षेत्रको अपेक्षा एकै किसिमका रहेकाले सहकार्यका लागि सहज हुने बताउनुभएको महासंघले जनाएको छ ।