काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुककै समृद्धिको आधारका रुपमा विकास गर्न मन्त्रालयले भिजन पेपरको तयारीको कार्य अघि बढाएको बताएकी छन्। 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३० औं साधारणसभाको आज काठमाण्डौमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औँल्याइन्। समग्र विकासका लक्ष्यहरु प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको उनले बताइन्। 

मन्त्री श्रेष्ठले अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी क्षेत्र अर्थतन्त्रको अत्यन्त महत्वपूर्ण तथा संवेदनशील क्षेत्र भएकाले सामाजिक सशक्तीकरणमार्फत गरिबी न्यूनीकरणको राष्ट्रिय लक्ष्यमा बचत तथा ऋण सहारी संस्थाहरुको योगदान महत्वपूण रहने विश्वाससमेत व्यक्त गरिन्। 

मन्त्री श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने, छरिएर रहेको श्रम, सीप, पुँजी र प्रविधिलाई एकीकृत गर्ने, बृहद सञ्जालीकरणमार्फत समग्र उत्पादन, उत्पादकत्व र रोजगारी सृजनाद्वारा उद्यमशीलताको प्रवर्द्धन गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बचत तथा ऋण सहारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिइन्। 

सहकारी र वैंकबीच कानुनी, प्रशासनीक तथा सैद्धान्तिक रुपमै अन्तर रहेकाले बचत तथा ऋण सहकारी तथा बहुउद्देश्य सहकारीहरु सामूहिक सहकार्य, प्रजातान्त्रिक अभ्यासद्वारा सामुहिक गतिविधिबाट सञ्चालन हुनुपर्ने विश्वव्यापी मान्यता रहे पनि नेपालमा साहुकारी मोडलमा सञ्चालन भएको विषय चिन्ताजनक रहेको भन्दै उनले यसमा सुधार आवश्यक रहेको औँल्याइन्। 

मन्त्री श्रेष्ठले सहकारी आधारभूत मूल्य, मान्यता र सिद्धान्तभन्दा बाहिर रहेर गरिएको केही क्रियाकलापका कारण नागरिकको विश्वास र भरोसा घटिरहेको वर्तमान सन्दर्भमा संस्थागत सुशासनको विषयमा पहल नलिने हो भने राज्यको नियन्त्रणबाट बाहिर जाने हो कि भन्ने भइरहेकोले यस्तो अवस्था आउन नदिन सबै पक्ष लाग्नु पर्ने बताइन्। बचत तथा ऋण सहारी क्षेत्रमा नीतिगत कानुनी तथा व्यवहारिक समस्या छन् भने त्यसलाई हटाई साझा अवधारणा विकास गरी मन्त्रालय अघि बढ्न तयार रहेको उनले बताइन्।