-भरत रानाभाट, पूर्व अध्यक्ष: स्टक ब्रोकर एशोसिएसन

पछिल्लो समयको सेयर बजारलाई तपाईले कसरी विश्लेषण गर्नुभएको छ ? हामी कुन अवस्थामा छौं ?
-पछिल्लोकालको बजार ११०० बाट ३२०० पुगेर फर्किएको हेर्यौं भने अहिले पनि बजार माथि र हामी राम्रो पोजिशनमा छौं । ३२०० पुगेर घटेको अवस्था हेर्ने हो भने १०–१२ प्रतिशतको हाराहारीमा मात्र बजार घटेको छ । यसरी हेर्दा लगानीकर्ता धेरै प्यानिक हुने अवस्था म देख्दिँन । 

पछिल्लो समयका केही उदाहरणहरुलाई हेरेर पनि अहिलेको बजारलाई बुझ्न सकिन्छ । जस्तो ११०० बाट ३२०० पुगेर फर्किदै गरेको नेप्से इण्डेक्स तथा अहिलेको लेभलसम्म आइपुग्दा हामीले ३–४ पटक यस्तै गिरावट व्यहोरिसकेका छौं । आजकै दिनमा हेर्दा बजार डाउन भएर अहिले २८०० हाराहारीमा रोकिएको छ । सरसर्ती हेर्दा धेरै प्यानिक हुने अवस्था चाहिँ म देख्दिँन । 

अहिले बजार जसरी घटिरहेको छ । बजार घट्ने कारणहरुको रुपमा केही घटनाक्रम तथा नीतिगत परिवर्तनहरु भनिएको छ । ती कारणहरु सान्दर्भिक छन् ?
-बजार बढ्दै गर्दा पनि विभिन्न कारणले बढ्दै जाने हो र घट्दै गर्दा पनि विविध कारणहरुले नै हो । बजारप्रति नेगेटिभ कुराहरु छन् भने बजारलाई नेगेटिभ असर गर्ने हो । पछिल्लो कालमा हेर्ने हो भने २ वटा कारणले बजार घटिरहेजस्तो लाग्छ । एउटा राष्ट्रबैंकले मौद्रिक नीतिको आधारमा सेयर धितो कर्जाको सीमा सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनका लागि गरेको निर्देशन नै हो । यसले लगानीकर्तालाई अन्यौलमा पार्यो । रियल रुपमा यसलाई १२ करोड बनाइरहँदा यसको असर कत्रो पर्छ ? बजार यति ठूलो भइसक्यो, यो नीतिको वेट कति छ भन्ने कुरा धेरै मान्छेलाई थाहा छैन । 

दोश्रो कारण चाहिँ तरलता टाइट भइदियो र ब्याजदर एकाएक १० प्रतिशत माथि पुग्यो । हाम्रो बजारको ३–४ वर्षयताको घटनाक्रमलाई हेर्ने हो भने पहिला ब्याजदर बढ्दा ह्वात्तै बढ्थ्यो र घट्दा पनि ह्वात्तै नै घट्थ्यो । त्यही टाइपको परिदृश्य अहिले छ कि छैन यो विषय हामीले बुझेनौं वा हेर्न चाहेनौं । ब्याजदरमा हुने २ प्रतिशतसम्मको अप र डाउनलाई हामीले स्वभाविक रुपमा लिनुपर्छ । कहिलेकाही तरलता टाइट भयो, १ प्रतिशत ब्याजदर बढ्यो रे, के फरक पर्छ त ? २ प्रतिशत बढ्यो, के फरक पर्यो त ? भोलिको दिनमा तरलता सहज हुँदै गएपछि फेरि घटेर पनि त आउँछ होला नि त । केही वर्षअघि जुनबेला मुद्दतिकै ब्याजदर १४–१५ प्रतिशत पुग्यो नि, त्यही अवस्थामै फेरि ब्याजदर पुग्ने हो कि भन्ने मान्छेलाई डर भयो । तर राष्ट्रबैंकको पोलिसीअनुसार ब्याजदर फेरि त्यही विन्दूमा पुग्ने अवस्था छ कि छैन भनेर हामीले एनालिसिस गर्न सकेनौं वा त्यो गहिराईतर्फ जान नै सकेनौं । त्यही भएर अहिले नेगेटिभ कुराहरु आउँदै गर्दा यसको असर लामो समयसम्म रहला कि भन्ने मनोवैज्ञानिक त्रासका कारण बजार नेगेटिभ देखिन्छ । 

अघि मैले भनेँ नि ३–४ पटक बजार अप एण्ड डाउन भएर तल आउने र फेरि माथि जाने कुरा । २६०० बाट २३०० मा आउने, २७५० को हाराहारीमा आएर  फेरि ३२०० पुग्यो र अहिले २८०० तल आउन सकेको छैन । यो हिसाबले हेर्ने हो भने प्रतिशतवाइज बजार १०–१२ प्रतिशत घटेर एउटा लेभलमा आइसकेको छ । अब फेरि पनि १०–१५ प्रतिशत घटेर तल जान्छ जस्तो चाहिँ मलाई लाग्दैन । 

बजार हो, घटबढलाइ स्वभाविक रुपमा लिनुपर्छ । तर, बजार घटेको घट्यै पनि गर्दैन र बढेको बढ्यै पनि गर्दैन, यत्ति चाहिँ प्रष्ट हुनुपर्छ । 
यस्तो बेलामा पनि अवसर कहाँनेर हुन्छ, त्यो हेर्न चाहिँ सक्नुपर्छ । 

तपाईले भन्नुभएजस्तो बजारको घटबढलाई स्वभाविक रुपमा नलिनेहरु पनि धेरै देखिए । बजार १८०० मा पुगेर ११०० मा झरेको विगत, त्यसअघिका घटबढ लगायतलाई हेरेर कतिपय लगानीकर्ता मनोवैज्ञानिक रुपमा त्रस्त देखिन्छन् । बजार धेरै नै घट्ने हो कि भन्ने चिन्ता त्यस्ता लगानीकर्तामा देख्न सकिन्छ । यो अवस्थामा विगतलाई हेरेर त्रसित हुनु सान्दर्भिक छ कि छैन ?
-पटक्कै सान्दर्भिक छैन । पहिलाको परिदृश्य धेरै परिवर्तन भइसकेको छ । ब्याजदरकै कुरा गर्ने हो भने बैंकहरुले तपाईलाई नसोधी तपाईको लोन लिएको १५ दिनपछि नै ब्याजदर बढ््यो भन्न पाउने समय थियो । अहिले त्यो भन्न पाउँदैनन् । अहिले राष्ट्रबैंकले कडाई गरेको छ । पहिलाको जस्तो ब्याजदर बढ्ला जस्तो लाग्दैन । अहिलेको अवस्थामा दुर्भाग्य चाहिँ के हो भने एउटा सरकारले बजेट ल्याइदियो र कार्यान्वयन गर्नेबेलामा अर्को सरकार आइदियो । यो २–३ महिनामा खर्च हुनुपर्ने र बजारमा आउनुपर्ने पैसा आइदिएन । नआएपछि हामीजस्तो सानो अर्थतन्त्र भएको मुलुकमा १ खर्ब हाराहारीको पैसा सरकारी खातामै रोकिँदा यसले तरलता टाइट गरिदियो । 

अलिकित टाइट हुनेबित्तिकै १२ करोडको कुरा पनि आयो । त्यसपछि लोन लिनेहरुले पनि ओहो अलिकति घटाएर बस्नुपर्छ भनेर लोन घटाउनतिर पनि लागे । एउटा लोन घटाउनतिर लागे भने दोश्रो चाहिँ तरलता टाइट भयो । यिनै कारणले पनि बजारमा असर देखियो । 

बजारमा लामो समयदेखि संलग्न लगानीकर्ता र अनलाइन चलाउने नयाँ लगानीकर्ताहरुमा पनि भिन्नता देखेँ मैले । पुराना लगानीकर्ताले बजार अप एन डाउनको २–३ वटा घटना व्यहोरेका थिए । कतिपय पुरानाले १७०० मा इण्डेक्स पुग्दा नै बजारबाट पैसा निकाल्न सुरु गरिसकेका थिए । त्यो गर्दै गर्दा उनीहरुले बजारमा पस्ने, फेरि थोरै प्रफिट बुक गरेर बाहिर निस्किने क्रम चलाए । र, नयाँमा चाहिँ त्यो देखिएन । उनीहरुले जुन बेलामा बजारमा प्रवेश गरे, त्यसबेलादेखि बजार बढेकै मात्र देखिरहेका छन् । घट्दा पनि बजार सामान्य रुपमा मात्र घटेको देखे, १० प्रतशित घट्यो फेरि बजार १५–२० दिनमा फर्किएकै छ । 

र, अहिले बजारमा ९–१० लाखले अनलाइन लिएका छन् । ती लगानीकर्तामध्ये २–३ लाख रियल टाइम सिस्टम अन गरेर बसिरहेका हुन्छन् । धेरै लगानीकर्ता आइसकेपछि पुराना लगानीकर्ता पनि बेचेर बसे पनि अन्त पैसा लान सक्दैनन् । किनभने उसले यो बजार र यहाँ पैसा देखेको छ । अहिले पैसा लिएर बसेका मान्छे पनि बजार बढ्न थालेपछि आउने हो र त्यसका लागि केही माहौल चाहिँ बन्नुपर्छ । 

माथि भनिएका २–३ वटा कुराले गर्दा मात्रै अन्यौल सिर्जना भएको हो । तर, यो लामो समयसम्म रहन सक्दैन । अलि अलि बढ्न थालेपछि मानिसमा पोजिटिभ भाइभ आउँछ । त्यसपछि पैसा लिएर बसेका मान्छे पनि बजार छिर्न थाल्छन् । त्यो बेलासम्म तरलता पनि सहज हुँदै जाला । दशैं आउँदैछ, रेमिटान्सको फ्लो पनि बढ्छ ।

फेरि जहिले पनि बैंकहरुले पहिलो त्रैमासमा कर्जा ह्वात्तै बढाइदिन्छन् । पहिलो क्वार्टरमा लोन दिंदा उनीहरुले १ वर्षसम्म ब्याज खान पाउँछन् । दशैंतिहारपछि बिस्तारै कर्जा विस्तार पनि कम हुने र तरलता पनि बढ्दै जाने र यो सरकारको पैसा खर्च हुँदै जान्छ । १२ करोडको ह्याङओभर पनि लगभग सिद्धिइसकेको छ, जसले बेच्नु थियो बेचिसकेको छ । सेल नगरिसकेकाले पनि मिलाइसकेका होलान् । नभए पनि उसले मिलाउला, सेयर नै पनि सेल गर्न सक्छ । तर, अब त्यस्ताको सेयर सेलिङले बजारलाई ठूलो असर गर्छ जस्तो लाग्दैन । 

मलाई लाग्छ अब लगानीकर्ताले पनि आफ्नो सोंच बदल्नुपर्छ । पहिलाको बजार साइकलमा चलिरहेका पुराना लगानीकर्ताले ट्रेण्ड चेञ्ज गर्नुपर्छ । अब समय परिवर्तन भइसक्यो । पहिला पहिला अनलाइन आउँदा पनि म अनलाइनबाट गर्दिँन, म त तपाईलाई अर्डर दिएर कारोबार गर्छु भनेर धेरैले भन्ने गर्नुहुन्थ्यो । तर, त्यो ट्रेण्डबाट आजको दिनमा अनलाइन चलाउँदा भोलिपल्टबाटै उसले मलाई अर्डर दिएन नि । यसको अर्थ ऊ अभ्यस्त हुन थाल्यो भन्ने पनि हो । 

पहिलाजस्तो ५–१० हजार लगानीकर्ता होइन, यहाँ लाखौं लगानीकर्ता भइसकेका छन् । यो बजारलाई इन्भेष्टरहरुले ड्राइभ गर्न थालिसके भनेर जब सोच्छन्, तब बजारले बाटो चाहिँ पहिल्याउँछ । र, बजारमा हामी त्यो रुपमा जानुपर्छ । अनलाइन आइसक्यो, बजारमा यति ठूलो विकास भइसक्यो । डेभलपमेन्टको पाटोमा हेर्यो भने बजारले यत्रो ठूलो छलाङ मारिसक्यो, आजको दिनमा घरमा बसेर ट्रेड गर्न सकिन्छ । घरमै बसी बसी खातामा पैसा आउँछ र पठाउन पनि सकिन्छ । तर हाम्रो सोंच चाहिँ ओपन क्राइदेखि ब्रोकरलाई अर्डर दिने समयसम्मको प्याटर्नकै ह्याङओभरमा रुमल्लिरहेको छ । त्यसकारण अब हामी लगानीकर्ताले पनि पुरानो सोंच बदल्नुपर्छ । 

अहिलेको प्यानिकनेसबाट बजार(लगानीकर्ता)ले मुक्ति पाउने उपाय वा त्यस्ता संभावनाका कडीहरु के-के हुनसक्छन् ?
-जुन कारणले बजार प्यानिक भयो, त्यस्ता विषयलाई सम्बोधन गर्ने केही कुराहरु भइदिए राम्रो हुन्छ । हाम्रै नीतिका कारण वा मेरै कारण बजार प्यानिक भएको हो भन्ने उनीहरुलाई लाग्छ भने त्यहाँबाट केही कुरा आइदिनुपर्यो । होइन भने ‘बजार घटबढ कसैको नियन्त्रणमा हुँदैन, यसलाई आफ्नै लयमा चल्न दिनुपर्छ, यसका लागि हामी प्रभावित पार्ने गरी कुनै काम गर्दैनौं र गरेका छैनौ’ भन्ने कुरा आउनुपथ्र्यो, आएन । समयसँगै यस्ता कति कुरा आए, गए, समयले पचाउँदै जान्छ । 

अहिले प्यानिक हुने अर्को कारण १२ करोडवाला व्यवस्था हो, यसको त ह्याङओभर लगभग सिद्धिइसकेको छ । अर्को कारण छ तरलता । अघि पनि मैले भनेँ सरकारको खर्चै भएन, दशैंतिहारका लागि इम्पोर्ट गर्ने सामान आइसकेको छ, तर त्यो उपभोग गर्नेहरुले खर्च गर्ने टाइम आइसकेको छैन । दशैं आउनेबेलामा उनीहरुले किन्ने हो । रेमिटान्स पनि बढ्दै जाने, सरकारको खर्च पनि बढ्दै जाने हुन्छ । यसले गर्दा तरलता सहज हुँदै जान्छ । 

दशैंतिहारपछि स्थानीय निकायको चुनाव हुन्छ, चुनावी माहौल सुरु भएपछि तरलता त्यसै पनि सहज भइजान्छ । जब तरलता सहज हुन थाल्छ, तब बजार कसैले घट् भनेर पनि घट्दैन । 

प्यानिकनेसबाट मुक्ति पाउने अर्को उपाय भनेको लगानीकर्ताको सोंच परिवर्तन हुनुपर्छ । हुन त धेरैमा परिवर्तन भइसकेको छ । बाँकीमा पनि परिवर्तन संभव छ । 

बजारअनुसार चल्न सकिएन भने फेल खाइँदो रहेछ भनेर धेरैलाई फिल भइसकेको छ । बजारबाट पैसा निकालेर कोही पनि अन्त गएका होइनन्, २ दिन जति बजार बढ्यो भने ती मानिस फेरि पैसा बनाउन बजार प्रवेश गर्छन । यसरी सबै हिसाबले हेर्दा अहिलेसम्म धेरै नेगेटिभ कुरा आएर यस्तो अवस्था बन्यो, अब पोजिटिभ कुरा आउन थालेपछि बजार आफैं माथि जान्छ । हामी लगानीकर्ता प्यानिक भएर ‘बजार सिद्धिने भयो, बजारबाटै पलायन हुनुपर्छ’ भनेर धेरै चिन्तित हुनुपर्ने आवश्यकता नै देखिन्न । घटेको बजारमा अवसर हेर्नुपर्छ । नयाँ लगानीकर्ताले पनि बजार सधैं बढेको बढ्यै नगर्दो रहेछ, टाइममा प्रफिट पनि लिनुपर्दो रहेछ भनेर सिक्नुभएको छ, यो राम्रो पक्ष हो । प्रफिट बुक गर्न नभ्याएकाले समेत पाठ सिकेर घटेको बजारमा अवसर छोप्न जान्नुपर्छ । यही बजारमा धानिएर बस्नेले पैसा कमाउने हो, घटेको बजारमा लगानी गर्नेले नै पैसा कमाउने हो । लगानीकर्ताले पोजिटिभ सोच्नुपर्छ । बजार कहिल्यै सिद्धिदैन । यो सधैं चलिरहने बजार हो । घटबढलाई सामान्य रुपमा लिनुपर्छ । 

कतिपय विश्लेषक तथा सार्वजनिक पदमा आसिन भइसकेकाहरुमध्ये कसैले बजार सुन्निएको पनि भने, कतिले ‘हावा भरिएको’ उपमा पनि दिए । तपाईको आशय बजारको बढोत्तरी प्राकृतिक नै छ भन्ने देखियो, यसका आधारहरु के के हुन् ?
-आजको दिनमा हाम्रो इण्डेक्स हेर्नुभयो र नजिकको अर्थतन्त्र भारतको बजार इण्डेक्सबीच नै तुलना गर्दा पनि हुन्छ । कोभिडको बेला हाम्रो बजार बन्द भयो, तर भारतको खुल्यो । भारतको बजार बन्द नभए पनि घटेर २६००० हाराहारीमा आइपुगेको थियो । आजको दिनमा २६००० मा आएको भारतको इण्डेक्स बढेर ५९००० पुगिसक्यो । प्रतिशतवाइज हेर्दा पनि हाम्रो एकदमै सुन्निएको भन्ने बजार र उनीहरुको एकदमै नेचुरल ग्रोथ भयो भन्ने मार्केटको ग्रोथ उस्तै छ । यहीबाट पनि हाम्रो बजार त्यति माथि गएको छैन भन्ने पुष्टि हुन्छ । 

अर्को, यो बीचमा धेरै ठूला कम्पनी र नयाँ कम्पनी आए, ती कम्पनीले इण्डेक्सलाई माथि लैजान सहयोग गरे । १८८१ इण्डेक्स हुँदाताका कतिपय कम्पनीको रेट जति थियो, अहिले त्यस्ता कम्पनीको मूल्य नै बढ्न सकेको छैन । धेरै कम्पनी छन् । वाणिज्य बैंकको त एउटा पनि पुगेको छैन । माइक्रोफाइनान्स र विकास बैंकको पनि एउटै त्यो रेटमा पुगेको छैन । एसटिसी, एचडिएल, सीआइटी लगायतका कुनै पनि कम्पनीको मूल्य त्यसबेलाको जस्तो बढेको छैन । कुनै पनि बीमा कम्पनीको मूल्य १८८१ हुँदाताकाको जस्तो बढेको छैन । अनि कसरी बजार सुन्नियो भन्ने ? एभरेष्ट बैंक त्यो बेलामा ३८०० रुपैयाँमा पुगेको थियो, आजको दिन ६–७ सयमा घुमिरहेको छ । स्ट्याण्डर्ड चार्टर्ड ४ हजार माथि थियो, त्यसको २० प्रतिशत जति रेट पनि आजको दिनमा छैन । 

अर्को चाहिँ, यो बजारमा सहभागिता हेरौं न । पहिला पहिला ५० वटा ब्रोकरकोमा ५० वटा फोन व्यस्त हुनेबित्तिकै त्यसले अर्डर राख्न पाउथेन । आजको दिनमा ९ लाखले त अनलाइन लिइसके । ४३ लाखले डिम्याट खाता खोलिसकेको छन् । कसैको डबल होला, कतिले आइपीओका लागि मात्र गर्लान् । २०–२५ लाख लगानीकर्ता त होलान्, त्यसमा ९ लाखले अनलाइन लिइसके । भन्नुको अर्थ मार्केट यत्रो विकास भइसक्यो, त्यसको प्रभाव इण्डेक्समा देखिनुपर्यो नि, बजारमा देखिनुपर्यो नि । 

अर्को, हामीले त्यो बेलामा धेरै कारोबार गरेको भनेको १०० करोडको हुन्थ्यो । किनभने त्यसबेला हाम्रो क्षमता नै त्यति थियो, ५० वटा कम्प्युटरबाट गर्नसक्ने नै त्यति थियो । आजको दिनमा २० अर्बभन्दा बढीको कारोबार भयो । एभरेजमा पनि ८–१० अर्बको कारोबार भइरहेकै छ । भनिसकेपछि यति ठूलो कारोबार गर्नसक्ने गरी बजारको विकास भइसकेको छ भने त्यसले इण्डेक्सलाई हिट त गर्छ गर्छ । यो हिसाबले पनि हाम्रो बजार धेरै माथि गएको होइन । 

नयाँ कम्पनीहरुको इण्डेक्सलाई मात्र अहिले अलग गरेर हेर्ने हो भने आजको दिनमा नेप्से इण्डेक्स धेरै तल हुन्थ्यो । 

अर्को, हाम्रोमा इण्डेक्स गणना विधि नै गलत छ । जस्तो नवील बैंकको प्रमोटर सेयर बिक्री गर्नुपर्यो भने ६–७ सयको रेट पनि पाउनुहुन्न । खरीदकर्ता खोज्दै जानुपर्छ, तर त्यसले इण्डेक्सलाई हिट गरिरहेको छ । तपाईले आजको दिनमा इण्डेक्स क्यालकुलेसन गर्दा नवील बैंकको प्रमोटर र पब्लिक गरी सबै सेयरलाई एकैपटक गरेर एभरेज निकाल्ने हो । यसरी रेगुलेर कारोबार नहुने प्रमोटर सेयरले पनि इण्डेक्स हिट गरिरहेको छ । त्यसकारण इण्डेक्सलाई मात्र आधार मानेर कसैले बजार बढ्यो, अस्वभाविक भयो भन्छ भने जम्मा एउटा काम गरे पुग्छ । नेप्सेमा आजको दिनमा जति सेयर कारोबार भएको छ, त्यसको एभरेज गरेर इण्डेक्स निकालौं । १८०० को हाराहारीभन्दा इण्डेक्स माथि हुँदैन । नेप्सेको सिस्टमबाट जति सेयर कारोबार हुन्छ, त्यसको एभरेज निकाल्नुपर्छ, प्रमोटर फालेर । त्यसपछि मात्र थाहा हुन्छ बजारको वास्तविक अवस्था । 

यो बीचमा कतिपय कम्पनीको मूल्य रिटर्नले जस्टिफाइ नहुने गरी पनि बढेको होला, यस्तो हुनसक्छ । त्यो स्वभाविकै हो । सेयर बजारमा कुनै सेक्टर वा कम्पनीको रेट यति नै हुनुपर्छ भन्ने हुँदैन । यो संसारमै कहीँ हुँदैन । रेट यति ठीक हो कि होइन भन्ने कुराको डेटरमाइन गर्ने भनेको बजारले नै हो, बजारले त्यसलाई इजी रुपमा लिइदियो भने अरुले अस्वभाविक भन्नु हुँदैन । 

जोसुकैले पनि बजारमा बोल्दा, अझ बढी नीति नियम बनाउनेले बोल्दा, मैले बोलेको कुराले अर्काको सम्पत्तिलाई असर गर्छ कि भन्ने सोच्नुपर्छ । मेरो सम्पत्ति भएको भए मैले यो कुरा बोल्थेँ कि बोल्थिँन भनेर विचार गर्नुपर्छ ।