काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा लार्ज क्याप फन्ड’ मा आज सोमबार साँझसम्म ६ करोड १४ लाख हाराहारीमा इकाइ खरिदका लागि आवेदन परेको छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्म ५० हजार ७४४ आवेदकबाट ६ करोड १३ लाख ९३ हजार ३३० इकाइका लागि खरिद आवेदन परेको छ। यो ६१ करोड ३९ लाख ३३ हजार ३३० रुपैयाँबराबरको हुन आउँछ। 

प्रतिइकाइ मूल्य रु. १० दरका १० करोड इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत इकाइ कोष प्रबद्र्धक सानिमा बैंक तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित राखिएको छ। बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ। 

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्बा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। 

यस योजनाको निष्कासन बन्द छिटोमा माघ १३ गते र ढिलामा माघ २६ गते बैंकिङ समयपछि हुनेछ।

गत पुस १४ गते नेपाल धितोपत्र बोर्डले यो म्युचुअल फन्डलाई निष्कासनको अनुमति दिएको थियो।