काठमाण्डौ । नयाँ जमानाको नयाँ भुक्तानी प्रणाली र डिजीटल दुनियाँलाई बुझ्न नयाँ पुस्तालाई जति सजिलो छ, पुरानो पुस्तालाई उत्तिकै कठीन पनि । आधुनिक युगको डिजीटल भुक्तानी प्रणाली तथा सूचनाका नयाँ प्लेटफर्महरुमा अभ्यस्त नहुने व्यक्ति समाज तथा समूहमा एक्लो हुनुपर्ने बाध्यता समेत रहेका कारण कठीनताका बाबजुद पुरानो पुस्ता पनि पछिल्लो समय बाध्य भएर यस्ता डिजीटल प्रणालीमा आबद्ध भइरहेका छन् । सिटिजन्स बैंकले हालै क्यूआर कोड पेमेन्टको विषयमा तयार गरेको सन्देशमूलक भिडियोमा यस्तै यस्तै विषयलाई समेट्न खोजिएको छ । 

सिटिजन्स बैंकले तयार गरेको २ मिनेट ३९ सेकेण्ड लामो भिडियोमा कलाकारहरुले क्यूआर कोडको महत्व तथा आवश्यकतालाई निकै सजिलो ढंगले बुझाउन खोजिएको छ । 

छोटो कथामा यादव नाम गरेका पिता हुन्छन्, जसका मनिष नामका छोरा हुन्छन् । अफिस जान लागेका पिताले छोरालाई बोलाउनुअघि पत्रिका पढिरहेको देखाइन्छ, पत्रिकाभित्र सिटिजन्स बैंकको क्यूआर कोडको ब्रोसर हालिएको हुन्छ, जसलाई यादव वास्ता गर्दैनन् र छोरालाई आफ्नो नयाँ स्मार्टफोन चाँडो ल्याइदिन आग्रह गर्दै अफिसका लागि हतारिन्छन् । अफिस पुगेका यादवले सहकर्मीहरुको समेत खप्की खानुपर्छ, कारण प्रविधिसँग अभ्यस्त हुन नखोज्दा । आधुनिक युगमा समेत कम्प्युटर छाडेर यादवले कागजका ढड्डामै काम गरिरहेको देखेर उनका सहकर्मीले ‘यो कम्प्युटरको जमानामा कहाँ ढड्डामै झुम्मिनुभएको ?’ भनेर प्रश्न गर्छन् । प्रश्नको टालटुले उत्तर दिए पनि कार्यालयका सबै सहकर्मी चिया खाँदा समेत फेसबुकमा झुण्डिरहेका, स्मार्टफोन चलाइरहेका कारण यादवको मुहारमा एक्लोपन महसुस भएको देखिन्छ । उनले पनि छोराले ल्याइदिएको स्मार्टफोन गोजीबाट निकाल्छन् । सहकर्मीले देखेपछि ‘यादव सर नयाँ फोन, स्मार्टवाला !’ भनेर जिस्क्याउँछन् । यसमा समेत यादवले टालटुले जवाफ दिंदै भन्छन्–‘तपाईलाई त जहिले पनि फेस टू फेस देखेकै छ नि, किन चाहियो फेसबुक ?’

सहकर्मीमाझबाट यत्ति भनेर यादव हिँड्छन्, सहकर्मीहरुले खासखुस गर्छन्–‘छोराले किन्दिएको होला नि स्मार्टफोन ।’ अर्का सहकर्मीले यादव आधुनिक समयका प्रविधि तथा डिजीटल प्लेटफर्मको विषयमा कतिसम्म अनभिज्ञ र पुरातन सोंचका रहेछन् भन्ने कुरा दर्शकलाई बुझाउने गरी भन्छन्–‘कम्प्युटरको भाइरस त आफूलाई सर्छ भन्ने बुढाले आफैंले किन किन्थे र स्मार्टफोन ?’

त्यसपछि भिडियोमा यादव कुनै सडकमा देखिन्छन्, जहाँ उनकै छेउकी एक युवतीलाई एक मोटरसाइकल चालकले धक्का दिई घाइते बनाएर भाग्छ । यादवले ती युवतीलाई उद्धार गरी अस्पताल लैजान्छन् र त्यहाँ ब्याण्डेज र पानी माग्छन् । तर, त्यसको भुक्तानीका लागि पैसा खोज्दा उनको पर्समा २० रुपैयाँ मात्र हुन्छ । त्यसपछि उनले आफू हिँड्ने बेलामा छोराले भनेको कुरा सम्झिन्छन् । छेउमै अर्की एक युवतीले फार्मेसीलाई क्यूआर कोड स्क्यान गरेर भुक्तानी गरेको देखेपछि उनले पनि आफ्नो स्मार्टफोन हेर्छन्, जहाँ उनी हिँड्ने बेलामा उनका छोराले सिटिजन्स बैंकको क्यूआर कोर्ड डाउनलोड गरिदिएका हुन्छन् । त्यसपछि यादवले पनि छेउकी युवतीको सिको गर्दै सो फार्मेसीले राखेको कोड स्क्यान गर्छन र क्षणभरमै सहजै भुक्तानी गर्छन् । 

भिडियो सकिएपछि सिटिजन्स बैंकले गरेको प्रश्न निकै रोचक र प्रभावकारी छ । यो भिडियोको अन्तमा भनिएको छ–‘नेपालका सारा सिटिजन्स सिटिजन्स बैंकको क्यूआर कोडमा छन्, तपाई कता हुनुहुन्छ ?’