काठमाण्डौ । आउने सातादेखि कान्तिपुर टेलिभिजनमा प्रशारण सुरु हुने ‘सुपर डान्सर नेपाल’ को पावर्डबाई प्रायोजन डिशहोम फाइबरनेटले गरेको छ। यससँगै इन्टरनेट पार्टनर पनि डिशहोम फाइबरनेट नै रहेको छ।

‘सुपर डान्सर नेपाल’ भारतीय रियालिटी शोको फ्रेन्चाइज प्रडक्ट हो। ‘सुपर डान्सर’ भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टीभी रियालिटी शो हो। ४ देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शो ‘सुपर डान्सर नेपाल’ को निर्णायकमा भुवन केसी, अभिनेत्री जसिता गुरुङ र ख्यातिप्राप्त कोरियोग्राफर सुरेन्द्र राई रहनेछन्।

नेपालभर विभिन्न सहर काठमाण्डौ, पोखरा, इटहरी, हेटौँडा, बुटवल,  नेपालगन्जलगायतमा फिजिकल अडिसन सम्पन्न भइसकेको र नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरुको प्रतिभासमेत सहभागी गराउने उद्देश्यका साथ डिजिटल अडिसनसमेत गरिएको थियो। 

कार्यक्रमको होस्टमा अभिनेता विल्सन विक्रम राई र नृत्यांगना कविता नेपाली रहनेछन्। 

हरेक हप्ता बिहीबार र शुक्रबार प्रशारण हुने ‘सुपर डान्सर नेपाल’ कान्तिपुर टीभी एचडीमा साउन २६ गते राति ९ बजेदेखि प्रसारणमा आउँदैछ।