-अम्बिकाप्रसाद पौडेल-प्रबन्ध निर्देशक-हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमीटेड

केही समयअघि तपाईले फेसबुकमा एउटा फोटो हाल्नुभयो र स्टाटस लेख्नुभयो–‘साँढे उठेन, अब उचाल्नुपर्यो ।’ त्यो स्टाटस केही सांकेतिक थियो कि ? त्यो स्टाटसले बजारको अहिलेको अवस्थालाई प्रतिनिधित्व गर्न खोजेको हो ?

-साच्चिकै भन्दा नेप्से १८८१ मा पुग्दा मैले सांकेतिक रुपमा एक पत्रिकामा पूँजीबजारको उच्चतम विन्दू यही हो भनेको थिएँ । त्यसपछि नेपालको पूँजीबजारमा एकथरि व्यक्तिको म निशानामा पर्न थालेँ । आखिरीमा बजारको विधि–विधान र प्रक्रियालाई तथा वेभलाई कसैले रोकेर रोकिन्न रहेछ, मैले भनेजस्तै भयो । 

र, विगत केही समयदेखि मैले भनिरहेको छु, पूँजीबजारको उच्चतम र न्यूनतम विन्दू ठ्याक्कै भन्न सकिन्न । मैले यसअघि पनि भनेको छु, नेपालको पूँजीबजार ११०० भन्दा तल संभवत आउँदैन । मेरो २५ वर्ष भन्दा बढीको अनुभवले यो कुरा भनिरहेको छ । कुनै त्यस्तो अप्रिय घटना भयो वा पूँजीबजारप्रति सरकारको पूरै नेगेटिभ दृष्टिकोण आएको अवस्थामा बाहेक बजार ११०० तल आउँदैन । म यो कुरामा स्पष्ट छु । 

म साँढेको नजिक गइरहनु भनेको पूँजीबजार अब तंग्रिन थाल्छ भन्ने संकेत गर्न खोजेको हुँ । पूँजीबजारमा छिर्ने बेला भयो है, लगानीकर्ताहरु तपाईहरु अब एकदम दनदनी बलेको पूँजीबजारमा होइन, सुषुप्त भएको र रिटर्नले जस्टीफाई गरेको पूँजीबजारमा प्रवेश गर्ने बेला भयो भन्ने संकेत पनि हो । 

विगत लामो समयदेखि बजारमा अपेक्षित चमक आउन नसकिरहेको बेला तपाई ११०० भन्दा तल बजार जाँदैन भन्नु हुँदैछ । अब चाहि साँढे ब्यूँझिदैछ भन्नु मात्रै अलिक हाइपोथेटिकल हुन्न ? यसका आधार पनि चाहियो होला नि ?
-जहिले पनि पूँजीबजारमा लगानी गर्ने लगानीकर्ताले पूँजीबजारको आधारभूत तहलाई हेर्नुपर्छ । अहिलेको सन्दर्भमा तपाई साउन–भदौमा हुनुहुन्छ । अधिकांश सूचिकृत कम्पनीहरुले अबको ३–४ महिनामा प्रतिफल दिन्छन् । सरसर्ती हेर्दा बजारको रिटर्नको रेट करिब ६ प्रतिशत भन्दा बढी छ । अधिकांश कम्पनीको ६ प्रतिशत बढी छ । कतिपयको केही धेरै पनि छ । अहिले तपाईले बजारमा तिर्नुपर्ने ब्याजदर ११ देखि १२ प्रतिशत होला । भनेपछि ग्याप रह्यो ५–६ प्रतिशतको । त्यसलाई ४ महिनामा प्राप्त गरिन्छ भने त्यसलाई मल्टिप्लाई गरेर हेर्नुहोस् न कति पुग्छ । मैले भन्न खोजेको आधार भनेको आज लगानी गर्ने लगानीकर्ताले कुनै पनि हालतमा राम्रो प्रतिफल पाउँछ । बजारमा चलेका अन्य लगानीको उपकरण भन्दा राम्रो रिटर्न पाउँछ । अहिलेको अवस्थामा मुद्धतीमा राख्नुभन्दा वा ऋणपत्रमा लगानी गर्नुभन्दा दोश्रो बजारमा लगानी गर्नेले राम्रो रिटर्न पाउँछ । 

अर्को कारण, अहिले उपयुक्त समय हो । सूचिकृत कम्पनीहरुको प्रवृति हेरियो भने गत वर्ष २० देखि २५ प्रतिशतको ग्रोथ भएको छ । यो वर्षमा २० प्रतिशतको ग्रोथ हुन्छ । विजिनेश ग्रोथ नै २० प्रतिशत बढाउनुपर्छ भनेको अवस्थामा हामीले अहिलेको २० प्रतिशत रिटर्नको २० प्रतिशत नै मान्ने हो भने अर्को वर्ष २४ त आउला नि त, अघिल्लो वर्षलाई आधार वर्ष मान्ने हो भने । यसको अर्थ आजको मितिमा कुन चाहि क्षेत्रमा लगानी गर्दा यति राम्रो प्रतिफल पाउनुहुन्छ ? ४–५ महिनामै प्रतिफल आउँदैछ । अर्को वर्ष पनि ग्रोथउन्मुख नै छ । 

सबैभन्दा महत्वपूर्ण कुरा चक्रीय प्रभाव पनि हो । धेरैले चक्रीय प्रभावलाई हेर्दैनन् वा मान्दैनन् ।  मैले चक्रलाई असाध्यै राम्रोसँग सम्मान गर्छु । मेरो लगानी निर्णयको एउटा आधार चक्रीय प्रभाव पनि हो । चक्रीय हिसाबले पनि सामान्यतया २ वर्ष ९ महिनाको अन्तिम विन्दू ११०० बाट बाउन्स गरेको होइन र ? १३५० पुगेको होइन र ? १३५० बाट अहिले बजार करेक्सन भएको हो। मैले कहीँ भनेको छु १३५० बाट फेरि तल आएर फेरि माथि जान्छ । त्यसपछि बढेर ३५०० पुग्छ भनेको थिएँ । तर पूरा कुरा नपढी मानिसहरुले मेरो आलोचना गरे । कम्तीमा ८–१० मिनेटको कुरा धैर्य गरेर पढिदिनुपर्छ र सुनिदिनुपर्छ नि । लगानी गर्छु भन्नेले पढिदिनुपर्यो । फेसबुकमा अरुलाई तथानाम गाली गरेर लेख्ने समय राम्रो कुरामा गहन अध्ययनमा दिनुपर्छ लगानीकर्ताले । 

चक्रीय हिसाबले पनि ११०० बाट १३५० मा त गयो । त्यसपछि १२०० तल आएको छ । समय लाग्छ । सेयर बजार भनेको म्याराथन दौड होइन । स्टार्ट गरेर अन्त गर्ने विषय होइन सेयर बजार भनेको । बजारले प्रत्येक विन्दूमा टेस्ट गर्दै अभ्यस्त हुँदै माथि लैजाने हो । अति सुन्दर फण्डामेन्टल हुँदा हुँदै पनि उसले आफूलाई परीक्षण गर्दै, रोक्दै र हेर्दै हेर्दै अगाडि बढ्ने हो । तसर्थ अघिल्लो वर्ष ११०० मा नउठाएका लगानीकर्ताहरुका लागि यो पूँजीबजारमा प्रवेश गर्ने सबैभन्दा सुनौलो समय हो । र, पूँजीबजारमा जहिले पनि सबै स्क्रिप्ट र सेयरका लागि समय भन्ने हुँदैन । राम्रो कम्पनीका लागि समय हो फेरि पनि । कतिपय कम्पनीका लागि पनि यो समय होइन अर्कोतर्फ ।

तपाईको आशय: ११०० मा पुगेको बजार १३५० मा पुग्यो । त्यसपछि फेरि घटेर ११६० को हाराहारीमा छ । यसको अर्थ १३५० मा पुगेको बजार अहिले करेक्सन भइरहेको हो भनेर बुझ्दा हुने भो ?
-बिल्कुलै । सत्य कुरा नै यही हो । यसमा कुनै द्विविधा मान्नु पर्दैन । अढाईसयले बढेको बजार अहिले २०० पनि घटेको छैन । के बुझ्नुपर्यो भने हिजो घट्ने क्रममा २०० प्वाइन्ट घट्थ्यो, १०० प्वाइन्ट बढ्थ्यो । अहिले हेर्दा २५० प्वाइन्ट बढेको छ,, करिब २०० प्वाइन्ट घटेको छ । ५० प्वाइन्ट त गेन गर्यो नि त बजारले । 

११०० भन्दा तल आएको छैन। यो विन्दूबाट फेरि बाउन्स गरेर १५०० को विन्दूमा पुग्यो भने आश्चर्य मान्नु पर्दैन । अनि १५०० बाट फेरि एकाएक बढेर केही दिनमै १८०० वा २००० पुग्छ भन्ने कुरामा चाहि म विश्वास गर्दिँन । किनभने यसले एउटा लामो समय लिन्छ । 

भनेपछि यो विन्दूबाट बाउन्स भई फेरि केही बढ्छ, फेरि निश्चित समय करेक्सन हुन्छ । सर्टेन टाइम लिएर मात्र बजार अगाडि बढ्ने हो । सेयर बजारको विशेषता भनेकै एउटै रेखामा बस्दैन, आराम गरेर बस्दैन । धेरै मान्छेलाई सटक्कै बढिदेओस् अनि माथि गइदियोस् र त्यहाँ बसिराखोस्, फेरि बुरुक्क उफ्रिदियोस् भन्ने हुन्छ, यो कहिल्यै हुँदैन । सेयर बजार एउटै तह वा रेखामा बसिरहन्न । कि घट्नैपर्छ, किन बढ्नै पर्छ । बढिरहँदैन । बाध्य भएर तल घट्छ, फेरि बढ्छ । यो क्रम पूँजीबजारमा सधैं चलिरहन्छ  । 

चक्रीय प्रभावको कुरा गर्नुभयो । अहिले हामी कुन चक्रमा छौ ? कुन समयमा छौ ?बजार बाउन्स ब्याक हुँदा वा साँढे ब्यूँझिने बेलाको विषयमा कुनै प्रक्षेपण गर्न सकिन्छ ?
-चक्रीय प्रभावलाई हामीले विगतको अनुभवको आधारमा भन्ने कुरा हो । अघिल्लो पटक पनि हामीले भनिरहँदा ५ वर्ष जति बढिरहेको बजार २ वर्ष ९ महिनामा बाउन्स ब्याक भएको थियो । त्यसभन्दा अघि २ वर्ष ६ महिनादेखि २ वर्ष १० महिनाको अवधि नै थियो । त्योभन्दा बढी थिएन। त्यो चक्रलाई फलो गर्यो, ११०० बाट १३५० मा गयो । २ वर्ष नौ महिना गएछ, अहिले त्यो वृद्धिबाट ११६० को अवस्थामा छौ । हामी टाइम फ्रेममै छौ । म के कुरामा विश्वस्त छु भने ११०० विन्दूका तल्लो विन्दू थियो, अब त्यही विन्दूलाई आधार बनाएर बजार माथि जाने हो । रातारात माथि जाने कुरा होइन । ४–५ वर्षको पिरियड छ । यो अवधिमा सेयर बजार बढ्दा अन्तिम चौथो वा पाँचौ वर्षमा सतप्रतिशत बढ्ने हो । 

अहिले हामी कुन अवस्थामा छौं ?
-हामी वृद्धिको प्रारम्भिक अवस्थामा छौं । हामी ५ वर्षको फ्रेममा ५ महिना मात्र बितेको छ । त्यसकारण धेरै चिन्ता लिनुपर्ने विषय होइन । सेयर बजारले सबैलाई खुशी बनाउन सक्दैन । केही मानिसलाई प्यानिक हुन्छ, यो भइरहन्छ । सबैलाई कहिल्यै पनि खुशी बनाउन सक्दैन । सबैको अनुहारमा खुशी सेयर बजारले तेश्रो वर्ष माथि लागेपछि मात्र दिने हो । वृद्धिको पहिलो, दोश्रो र तेश्रो वर्षसम्म सबैको अनुहारमा खुशी आउँदैन, त्यही भित्र पनि लुछाचुडी भइरहेको हुन्छ । बजार क्लाइमेक्समा पुग्ने बेलामा मात्र सबैको अनुहारमा खुशी आउने हो । 

भनेपछि बजारमा तत्काल ‘वाउ’ भन्ने अवस्था आउँदैन ? 
-आउँदैन, त्यस्तो त हुँदै हुन्न नि । यो पहिलो र दोश्रो बजार त यसैगरी गुज्रिने हो । थोरै मान्छेलाई रमाइलो हुन्छ । ट्याक्टफूल नभएका मान्छेले यहीँभित्र पनि गुमाउनुहुन्छ । वृद्धिको अवस्थामा पनि कतिपयले गुमाउँछन् । त्यो चौथो र पाँचौ वर्षको अवधिमा मात्र मान्छेले सुपर एन्जोय गर्ने हो । 

बजारको अहिलेको अवस्था चक्रीय कारणले मात्र हो या अन्य कारणहरुले गर्दा पनि भएको हो ? 
-चक्रीय प्रभाव एउटा फ्याक्टर मात्रै हो । यस अलावा धेरै फ्याक्टरहरु हुन्छन् । यो यथास्थितिमा चक्र फलो गर्छ भन्ने अवस्था मात्र हो । 
हामीसँग धेरै कुरा राम्रा थिए । हिजोको जस्तो थियो त्यही प्रवृतिलाई फलो गरेर आएको अवस्थामा पूँजीबजारप्रति सरकारले गर्ने आधारभूत कुराहरु पनि नगरेको अथवा लगानीकर्ता सरकारले गरेँ भनेका कार्यमा विश्वस्त हुन नसकेका अवस्था हो । त्यो कुराले पनि केही निराशा थप्ने गर्छ, यो स्वभाविक हो । 

बुँदागत रुपमा भनिदिनुहोस् न त ती फ्याक्टरहरुको विषयमा । 
नियामक निकायहरु जसले जति जे भने पनि लगानीमैत्री हुन सकेको  अवस्था देखिन्न । लगानीकर्ताको इच्छा र भावनालाई सम्मान गरेको अवस्था देखिन्न । एउटा सामान्य कुराः अघिल्लो वर्ष आन्दोलन भयो, भारित औसत लागत विधिबाट मूल्य निर्धारण गर्ने भनियो, त्यही अनुसार गर्ने भनियो । कमिटी बन्यो । त्यो अनुसार रिपोर्ट पनि दिइयो । अर्थमन्त्रीजीले यो वर्षको करका दर लागू हुनुभन्दा डेढ महिनाअघि जेठ १५ मा भारित औसतमा पूँजीगत लाभकर निर्धारण गरिन्छ भन्नुभयो । साउन १ गते अन्यौल सिर्जना भयो । के नियामक र जिम्मेवार निकाय पूँजीबजारप्रति साच्चिकै जिम्मेवार रहेछन् त ? यस्ता कुराले निराशा सिर्जना गर्छ । ठूला र विवेकी लगानीकर्ताहरु प्रष्ट छन्, सरकार पूँजीबजारप्रति साच्चिकै गम्भीर रुपमा लागेको छैन । बजारलाई सरकारले राम्रोसँग लिएको छैन भन्ने एउटा संकेत हो यो । 

यसअलावा सरकारले एउटा कमिटी बनायो । केही कुरा कार्यान्वयन भए । कमिटीले दिएका सिफारिसमध्ये अधिकांश असार मसान्तसम्म कार्यान्वयन गर्ने भनिएको थियो । त्यसमा जिम्मेवार निकायका जिम्मेवार अधिकारी हुनुहुन्थ्यो । म पनि आमन्त्रित सदस्यको रुपमा थिएँ । ती सबै कुरा  कार्यान्वयन भएनन्, हामीकहाँ धेरै कुरा भनिन्छ, सबै कुरा लागू हुँदैनन् । अनि सरकारले लागू नगर्दा सरकारले पूँजीबजारलाई साच्चिकै प्राथमिकतामा राखेको छैन भन्ने कुरा बुझ्ने कि नबुझ्ने ? 

पूँजीबजार लगायत र लगानीका अन्य क्षेत्र पनि सुषुप्त भएको अवस्था हो । अहिले सिमेन्टमा समस्या आएको भन्ने सुनिएको छ । रियलस्टेट व्यवसायी पनि समस्यामा छन् भन्ने सुनिन्छ । यति धेरै होटल खुले, तिनको अकुपेन्सी जुन हिसाबले हुनुपर्ने त्यो भएको छैन भनिएको छ । हाइड्रोपावरमा लगानी गर्ने लगानीकर्ता दिनप्रतिदिन डूबेको अवस्था छ । हाइड्रो कम्पनीका १०० को सेयर अधिकांशको तल आएको अवस्था छ । विविध क्षेत्रमा पनि जुन किसिमको उत्साह हुनुपर्ने, त्यो घटेको देखिएको छ । त्यसको असर पनि प्रत्यक्ष र परोक्ष रुपमा पूँजीबजारमा परेको छ । 

अर्को, नीतिगत अन्यौलता पनि छ । मौद्रिक नीतिले केही मात्रामा बैंक तथा वित्तीय संस्थाहरुको प्रफिटलाई हिट गर्ने कुरा आयो । बैंकका लगानीकर्ता त्यस्ता नीतिबाट खुशी हुन सकेका छैनन् । यसले पनि लगानीकर्ताको मनोबललाई बिगारेको छ । 

यी सबै पेरिफेरि हेर्दा अनि कहिलेकाही पूँजीबजार लगानीको क्षेत्र होइन कि क्या हो भनेर भ्रम सिर्जना हुने गर्छ । पूँजीबजार पनि लगानीको क्षेत्र हो, यसलाई सरकारले पनि एकदमै प्रोत्साहन गरेको छ, यो क्षेत्रको विकास र बिस्तार भयो भने समग्र नेपालको अर्थतन्त्रलाई सहयोग गर्छ, भन्ने सरकारको थिम होइन रहेछ भन्नेकुरा ठूला र विश्वासिला लगानीकर्ताले बुझिसकेपछि वैकल्पिक लगानीको क्षेत्र रोज्न थालेकै हुन् । पूँजीबजारमा लगानी गर्दै आएकाहरु वैकल्पिक टूल्सहरुमा लगानी डाइभर्ट गर्र्न थालेका छन् । अहिले ऋणपत्रमा १२ प्रतिशतसम्मको ब्याजको अफर आएका छन्। एफडीमा पनि राम्रै रेट छ अहिले । विवेकी लगानीकर्ता अहिले साच्चिकै राम्रो हुन्छ भनेर पूँजीबजारमा प्रवेश गर्न नसकेकै हुन् । 

ठूला लगानीकर्ता र विश्लेषण गर्नसक्ने लगानीकर्ताहरुसँग लगानीका अनेक विकल्प छन् । ठूला लगानीकर्ताहरुले पोर्टफोलियो म्यानेज गरेर लगानी गर्छन् । सरकार र नियामकका कुराहरुले उनीहरुलाई केही हदसम्म झस्काएको छ । तत्काल उनीहरु पूँजीबजारमा प्रवेश गर्ने वातावरण पनि नहुनसक्छ । पछिल्लो समयमा अलिक प्यानिक देखिनुको प्रमुख कारण यो पनि हो । तथापि मैले भनिहालेँ, यस्तो चक्र भइरहन्छ बजारमा । हामीले कुन कम्पनी र क्षेत्रमा लगानी गरेका छौ भन्ने मूख्य कुरा हो । 

सामाजिक सञ्जालमा चाहिने नचाहिने हल्ला गर्नेहरु पनि बजार घटाउने कारक हुन् ? आफ्नो वास्तविक परिचय लुकाएर बजारको विषयमा भ्रम सिर्जना गर्नेहरुको विषयमा तपाईको धारणा के हो ?

-आफ्नो परिचय दिन नचाहने, सामाजिक सञ्जालहरुमा बढी हल्ला गरेर बजारको माहौल बिगार्ने, भ्रम सिर्जना गर्ने र बजार प्रभावित गर्नेहरुको जमात समेत ठूलै छ । यस्ता साथीहरुलाई धेरै फलोअर छन्, राम्रो व्यक्ति, मूल्य र मान्यता र आदर्श छ भने आउनुहोस् पूँजीबजारको विकासका लागि सँगै लागौं । किन परिचय लुकाइरहनुहुन्छ तपाई ?कस्तो व्यक्तिले परिचय लुकाउँछ ? कि त सामाजिक रुपमा बहिस्कृत भएको, रियल फेस देखाउन योग्य नभएको, कि आज सेयर विश्लेषक भएको छ, उहाँले आफैं टाट पल्टिएर उठ्नै नसक्ने भएर, भनाई र गराईमा फरकपन भएको । कि चाहि हिजोको दिनमा सार्वजनिक छवि डामाडोल भएको व्यक्ति बाहेक यति राम्रो कुरा गर्न, पूँजीबजारको विकास र बिस्तारको कुरा गर्न, सबैलाई सुसूचित गर्न नाम लुकाउनुपर्छ ? मुखुण्डो किन लाउनू ? भनेपछि केही न केही गडबडी छ । कायरहरुले मुखुण्डो लगाउने हुन् । देखिन नसक्ने, फेस गर्न नसक्नेहरु यस्ता हुन्छन् । आम लगानीकर्ताहरुले यस्ता छद्मभेषीबाट बच्नुपर्छ । राम्रो व्यक्ति अगाडि आउनुपर्छ, उहाँका लाखौ फलोअर छन् भने सम्मान गर्छन्, सबैले माला लगाउँछन् । किन भाग्नुपर्यो ? तपाई लुक्नुभएको छ र ? म लुकेको छु र ? स्पष्टसँग आफ्नो धारणा राख्न केको गाह्रो छ ? त्यति राम्रा कुरा गर्ने, आउनुहोस्, कहाँजाने जाऔं । पूँजीबजारको सुधार सोसल साइटको भित्तामा छद्मभेषी नामका आधार लेखेर मात्र हुनेवाला छैन ।

प्राविधिक विश्लेषकहरुले हचुवाको भरमा विश्लेषण गर्दा पनि बजार घटिरहेको छ । उनीहरु पनि संयमित हुनुपर्छ । 

दुईतिहाईको कम्युनिष्ट सरकार आएपछि यो सरकारप्रति अविश्वास गर्दै बजारमा ठूलो लगानी गर्ने मारवाडी समुदाय पलायन भए । ठूला लगानीकर्ता पनि पलायन भए । यो कारणले पनि बजारमा प्यानिक अवस्था भयो भनिन्छ । तपाईले पनि भन्नुहूँदैछ कि ठूला र विवेकी लगानीकर्ता अन्य विकल्पतर्फ जान थाले । अरुको र तपाईको विश्लेषण मिलेजस्तो लाग्यो । 
-कम्युनिष्ट सरकार आएकै कारण यस्तो भयो भन्ने विषयमा म त्यति धेरै सहमत होइन । जुनसुकै सरकारको नीति तथा कार्यक्रमले हिट गरेको हो । अहिले कहीँ न कहीँ पूँजीबजारप्रति हेर्ने सरकार र नियामकको नीतिकै कारण विवेकी लगानीकर्ता वैकल्पिक क्षेत्रमा अलिक बढी आकर्षित भएका हुन् कि भन्ने मेरो बुझाई हो । 

तपाईले केही अघिसम्म ठूला लगानीकर्ताले लगानी विविधिकरण गर्न थाले भन्नुहुँदै थियो । हाथ्वे इन्भेष्टमेन्ट पनि ठूलो संस्थागत लगानीकर्ता नै हो । तपाईहरुको पोर्टफोलियो चाहि के छ ?
-हामीले सुरुदेखि नै पोर्टफोलियो राम्रोसँग म्यानेज गरेका छौ । हाम्रो टोटल लगानीको ६५ प्रतिशत पूँजीबजारमै छ । र, करिब ३० प्रतिशत जति हाम्रो विभिन्न कम्पनीको संस्थापक सेयरमा लगानी छ । केही प्रतिशत रियल स्टेटमा छ । पूँजीबजार १८८८ हुँदा दोश्रो बजारमा हाम्रो ३५ प्रतिशत लगानी थियो । अहिले हाम्रो करिब ६५ प्रतिशत पुगेको छ । 

संभवत हाथ्वे इन्भेष्टमेन्टको पूँजीबजारमा अहिलेको लगानी हाथ्वे खोलेदेखिको हालसम्मकै सर्वाधिक लगानी हो । 

भनेपछि तपाईहरुले यो अवसर हो भन्ने बुझ्नुभयो ?
हो, हामीले यो अवसर हो भन्ने बुझ्यौं । हामी ढुक्कसँग ग्रयाब गरिरहेका छौ । अरु क्षेत्रको लगानीलाई मिलेसम्म घटाउँदै दोश्रोबजारको लगानीलाई दिनप्रतिदिन बढाइरहेका छौ। 

आमलगानीकर्तालाई पनि यो राम्रो पाठ हुने रहेछ !
हो नि । हामीले बजार घटेको अहिलेको अवस्थालाई ‘अवसर’ भनेका मात्र छैनौ कि व्यवहारमा पनि लागू गरेका छौ। आजको अवस्थामा हेरियो भने पनि कसैले पनि पब्लिक लिमीटेड कम्पनी हो, कसैले चाहे हामी ब्यालेन्ससिट देखाउन सक्छौ । अहिलेको अवस्थामा म्युचुअल फण्डको भन्दा ठूलो लगानी हामीले बजारमा गरेका छौ । 

बजारमा अहिले धेरैले गुमाएको कुरा गर्छन् । तपाईको कम्पनी चाहि कुन अवस्थामा छ ?
स्वभाविक रुपमा हामीले पनि बजारले गुमाइरहँदा हामीले मात्र कमाउने भन्ने हुँदैन । बजार बढ्दा अरुलेजस्तै हामीले पनि कमायौं । हामीले धेरै प्यानिक भएको अहिलेको अवस्थामा पनि आफ्नो पोर्टफोलियोको ३ देखि ५ प्रतिशत मात्र लस गरेका छौ । अघिल्लो वर्ष हामीले ३ प्रतिशत मात्र लस गरेका थियौ, सबै खर्च कटाएर । ठूलो घाटा खानु परेको छैन । 

कतिपयले ६५ प्रतिशतसम्म गुमाएको कुरा गर्नुभएको छ । हामीले ११०० देखि १२०० को बीचमै बढी खरीद गरेका छौ । अहिले पनि हामीले खरीद गर्ने क्रमलाई रोकेका छैनौ ।

यस्तो बेलामा नयाँ लगानीकर्ताले लगानी गर्दा के कुरामा ध्यान दिनुपर्छ ? ११ उपसमूहमध्ये कुनमा चाहि लगानी गर्नु जोखिमरहित होला ?
नयाँ लगानीकर्ता अथवा ऋणबाट लगानी गर्नेहरुका लागि, जो लगानीकर्ता साच्चिकै बढी परिस्कृत हुनुभएको छैन, त्यस्ताले बैंकिङ र विकास बैंक समूहमै लगानी गर्नुपर्छ । यो समूह सबैभन्दा सुरक्षित र भरपर्दो छन्। उहाँहरुले आजका मितिमा धैर्य गरेर एक–डेढ–दुई वर्षसम्म बस्ने हो भने म ग्यारेण्टीका साथ भन्नसक्छु, कुनै पनि बैंकको एफडी भन्दा धेरै बेटर प्रतिफल पाउनुहुन्छ । बैंक र विकास बैंकहरुमा आँखा चिम्लिएर लगानी गर्दा हुन्छ । यो क्षेत्रमा धेरै चुजी हुन आवश्यक छैन । कम्तीमा पनि १८ देखि २० प्रतिशतसम्म रिटर्न छ । 

अर्काे कुरा, नयाँ लगानीकर्ताले आज लगानी गरेर अबको ४ देखि ६ महिनामा एउटा प्रतिफल पाउने कम्पनीमा मात्र लगानी गर्नुहोला । उदाहरण धेरै छन्। बैंक र विकास बैंकलाई हेर्दा हुन्छ । 

त्यसकारण विवेकी लगानीकर्ताले ३६५ दिन गुज्रिएपछि एक किसिमको प्रतिफल पाउने सेयरमा लगानी गर्नुपर्छ । 

लामो अवधिका लागि लगानी गर्न चाहनेका लागि चाहि कुन क्षेत्र राम्रो होला ?
यो विषयमा ठ्याक्कै भन्न सकिन्न होला । तर, फेरि पनि बैंकिङ र विकास बैंक नै हो । जलविद्यूत र बिमामा पनि राम्रा स्क्रीप्टहरु छन् । धेरै लगानीकर्ता अन्यौलमा लगानी गरेर धेरै प्यानिक हुने गरेका छन् । लहै लहैमा लगानी गरेर धेरै पछुताएका छन्। सुरक्षित लगानी विकास बैंक र बैंकिङ नै हो । तर, अन्य समूहका बेस्ट स्क्रीप्ट पनि छन् । वाणिज्य बैंक भन्दा विकास बैंक बढी सुरक्षित देखिन्छ । 

२०–२५ वर्षदेखि लगानी गरिरहेकाहरु भन्ने गर्छन् नेपालको सेयर बजारमा नियामकसँग नजिक हुने, स्वार्थी समूह, नीति निर्मातासँग नजिक हुने, सूचना चुहाउनेहरुले मात्र कमाउँछन्, अरुले गुमाउँछन् रे । नेपालको बजारमा यस्तै भइरहेको हो ?
-त्यो एकदमै बजार घटेर पीडा पोखिएको अवस्था मात्र हो । भयङ्कर जानेका, नेक्सस बुझेका, कम्पनी र नियामकसँग नजिक भएकाहरुले पनि गुमाएका छन् । एभरेष्ट बैंकको सेयर ३२०० मा किनेका, शिखर इन्स्योरेन्सको ४००० मा किनेको पनि देखिएकै हो, बुझिएकै हो । त्यो चाहि चित्त बुझाउने मेलो मात्र हो । नेपालको पूँजीबजारमा कसैले चाहेर केही हुनेवाला छैन । अम्बिकाप्रसाद पौडेलले चाहेर, कुनै म्युचुअल फण्डले चाहेर, अरु कसैले चाहेर बजार टिकाउने वा घटाउने तागत कसैले पनि राख्दैन । स्वभाविक रुपमा नवप्रवेशी लगानीकर्ताले सागर देख्दा ठूलो रुपमा देख्लान्, नवप्रवेशीको बुझाईमा कमजोरी हो । मलाई पनि सुरु सुरुमा प्रवेश गर्दा ठूला मान्छे देख्दा यिनीहरुले मात्र कमाउने होला जस्तो लाग्थ्यो, तर त्यो होइन रहेछ । 

विवेकी लगानीकर्ताहरुका लागि सेयर बजार अवसरै अवसरको खानी हो ?
-बिल्कुल सही भन्नुभयो । विवेकी लगानीकर्ताका लागि सेयर बजार अवसरै अवसरको खानी हो। 

-प्रस्तुतीः सोमनाथ