– अर्जुन तिमिल्सिना

काठमाण्डौ । कोरोना संक्रमण जोखिम बढेसँगै उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ। निषेधाज्ञाका बेला अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिने छ। सार्वजनिक र निजी सवारीसाधन पनि चल्न नदिइने भएको छ।

कोरोनाले अन्य क्षेत्र प्रभावित बने पनि सेयर बजार भने निर्वाध रुपमा सञ्चालन हुने भएको छ। सेयर बजार अहिले प्रविधिमैत्री रहेका प्रभावित नहुने र निर्वाध रुपमा सञ्चालन हुने नियामक निकायहरुले बताएका छन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगाना कोरोनाको प्रभाव धितोपत्र बजारमा कुनै हालतमा नपर्ने बताउँछ। ‘सेयर कारेबार हुने सबै कार्यालय तथा ब्रोकर हाउसहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सर्कुलर जारी भइसकेको छ’, उनले भने, ‘अहिले बजार प्रविधिमैत्री पनि छ। निषेधाज्ञा जारी भएको अवस्थामा लगानीकर्ताहरुले घरमै बसेर सेयर कारोबार गर्न सक्ने वातावरण रहेकोले बजार बन्द हुँदैन।’

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख चन्द्रसिंह साउदले पनि बजार बन्द हुने बताए। ‘सेयर कारोबारसम्बन्धी काम हुने कार्यालयहरु र ब्रोकर हाउसहरुमा सीमित कर्मचारी बोलाएर वा आलोपालो गराएर काम गराउन तथा स्वास्थ्य मापदण्ड दुरुस्त राख्न भनेका छौँ’, उनले भने, ‘अहिलेको परिस्थितिबाट सजक हुँदै लगानीकर्ताहरु पनि घरै बसेर सेयर कारोबार गर्दा राम्रो हुन्छ, प्रविधि त्यहीअनुसार बनेको पनि छ।’

अनलाइन सेयर कारोबार गर्दा आउने केही समस्याहरु इन्टरनेट प्रदायक कम्पनीहरुका कारण पनि देखिएको साउदको भनाइ छ। ‘जहाँसम्म टीएमएस, मेरो सेयरमा आउने समस्या छ, त्यो धेरै हदसम्म समाधान भइसकेको छ’, उनले भने, ‘त्यही भएर अनलाइन कारोबार गर्न अहिले निकै सहज छ।’

बजार बन्द नहुने भएकोले निर्धक्क भएर सेयर कारोबारमा संलग्न हुन पनि साउदले आमलगानीकर्तालाई सुझाव दिएका छन्।