काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले सेयर बजारमा पछिल्लो समय कमजोर वित्तीय अवस्थाका कतिपय कम्पनीको मूल्य कर्नरिङ गरेर बढाइएको हुनसक्ने दाबी गर्दै त्यसको छानबिन थालिएको बताएका छन् । 

बिजशालासँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन् । 

उनले बजारमा नयाँ नयाँ कीर्तिमानहरु कायम भइरहेका र बढ्दो बजारमा सेयर कारोबार गर्दा धेरै सचेत हुनुपर्नेमा जोड दिए । 'केही नराम्रा कम्पनीको मूल्य पनि अस्वभाविक बढेको देखिएको छ, यसको हामीले छानबिन थालेका छौं ।' उनले थपे-'त्यस्ता कम्पनीको सेयरमा कर्नरिङ पनि भएको हुनसक्छ ।' 

उनले राम्रो वित्तीय अवस्था र नेटवर्थ भएका कम्पनीमा लगानी गरे जोखिम कम हुने समेत दाबी गरे । यस्ता कम्पनीमा क्षमताअनुसार लगानी गर्नुपर्ने उनको सुझाव छ । 'तर, अहिले नाफा धेरै हुने ठानेर बैकबाट ऋण मात्रै लिएर लगानी गर्नु जोखिमपूर्ण हुनसक्छ ।' बोर्ड अध्यक्ष ढुंगानाले थपे-'आफ्नो क्षमताअनुसार मात्र लगानी गर्नुहोस् । जोखिम कम हुने कम्पनीको सेयरमा मात्र लगानी गरे डूब्ने संभावना रहन्न ।' 

अध्यक्ष ढुंगानाले नेपालको सेयर बजारमा दैनिक कारोबार रकम २० देखि २५ अर्बसम्म पुग्नु सामान्य रहेको समेत बताए । बजेटपछि आजको कारोबार उत्साहजनक भएको समेत उनको भनाई छ । 'अब २५ अर्बसम्मको कारोबार सेयर बजारमा सामन्य नै हुनसक्छ ।'-उनले थपे । 

उनले बजेटमार्फत अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि निर्धारण गरिएको पूँजीगत लाभकरलाई पनि 'सही' भनेका छन् । 'केही समय पहिला पनि सीजीटी ७.५ प्रतिशत नै थियो । लगानीकर्ताले अल्पकालीन र दीर्घकालीन लगानीकर्ता छुट्याइदिन भनेका थिए, सरकारले त्यही गरिदिएको मात्र हो ।' उनले भने-'यो व्यवस्था ढिलोचाँडो आउनुपर्ने नै थियो, आयो । बजारको स्थायीत्वका लागि यो नीतिले राम्रो भूमिका खेल्छ ।' 

उनले केही समयअघि राष्ट्रबैंकले बैंकहरुलाई दीर्घकालीन लगानी गर्न निर्देशन दिएको र सोही आशयको व्यवस्था बजेटमार्फत व्यक्तिगत लगानीकर्तालाई लक्षित गरी ल्याइएको दाबी गरे ।