काठमाण्डौ । मुद्धती निक्षेपमा अग्रीम ११ प्रतिशत ब्याजको अफरले नवील बैंक अहिले चर्चामा छ । ११ प्रतिशत अग्रीम भुक्तानी गर्दा निक्षेपकर्ताले समग्रमा साढे १२ प्रतिशत पाउने अवस्था भएपछि यसले बैंकरहरुबीचको भद्र सहमति उल्लंघन भएको भन्दै आलोचना भइरहेको छ । नेपाल बैंकर्स एशोसिएसन(एनबिए)ले मुद्धती निक्षेपमा अधिकतम ११ प्रतिशत र साधारण बचतमा ८ प्रतिशत ब्याज दिने भद्र सहमति गरेको थियो । तर, नवीलले घुमाउरो ढंगले अग्रीम ब्याज भुक्तानीको स्किम ल्याई एनबिएको सहमति उल्लंघन गरेको भन्दै तीव्र आलोचना भइरहेको छ । 

यही आलोचनाका बीच नवील बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बिजशालासँग कुरा गर्दै अन्य बैंकहरुले राम्रो ब्याज अफर गरी आफ्नो बैंकको १२ अर्ब रुपैयाँभन्दा बढी निक्षेप तानिदिएपछि आफूहरु पनि चूप लागेर बस्न नसकेको प्रष्ट्याएका छन् । ‘अरु बैंकले बढी ब्याज दिएर हाम्रो १२ अर्ब डिपोजिट बाहिर गइसकेको छ ।’ शाहले भने–‘यस्तो अवस्थामा नवीलले हात बाँधेर बस्ने कुरा हुँदैन, मैले पनि त मेरो तलब पकाउनुपर्यो नि !’ 

उनले ११ प्रतिशत अग्रीम ब्याज भुक्तानी स्किम तत्काल फिर्ता नहुने प्रष्ट पारेका छन् । ‘हाम्रो डिपोजिटको टार्गेट पूरा नभएसम्म यो स्किम फिर्ता हुँदैन ।’ उनले भने–‘अग्रीम ब्याज भुक्तानीको अफर हामीभन्दा अरुले पनि लञ्च गरेकै हुन्, हामीले गरेपछि अरुले पनि ल्याएकै छन्, अनि हामीले मात्र किन फिर्ता लिने ?’

एनबिएले ११ र ८ को भद्र सहमति कायम गर्दा जसले जहिले मन लागे पनि ब्याज दिन मिल्ने भनिएकोले आफूहरुको काम सहमतिविपरीत नभएको उनको जिकिर छ । ‘उहाँहरुले ११ प्रतिशतभन्दा माथि नगर्नु भन्नुुभएको छ, हामी त्यो सहमतिमै बसेका छौ ।’ उनले भने–‘उहाँहरुले अग्रिम ब्याज भुक्तानी गर्न सकिन्छ पनि भन्नुुभएकै हो ।’ 

एनबिए पदाधिकारीबाटै अग्रीम ब्याज भुक्तानी समेत दिन सकिने कुरा आएकोले आफूहरुको बैंकको आवश्यकता अनुसार यो स्किम लञ्च गरिएको उनको प्रष्टोक्ति छ । ‘हाम्रो टिममा कुरा भयो, हाम्रो कस्ट अफ फण्ड पनि लो छ, स्प्रेड पनि ५ प्रतिशत नजिक गइरहेको छ ।’ शाहले भने–‘अलिकति त्यो ब्याजलाई बढाइदिए स्प्रेड पनि नियन्त्रणमा आउँछ र हामी बढी लोन समेत दिनसक्छौ भन्ने हाम्रो निश्कर्ष रह्यो ।’ 

उनले जुन बैंकको जे शक्ति छ, त्यो नै चलाउने हो भन्दै अगाडि थपे–‘अर्को बैंकको शक्ति चलाएर म अगाडि बढ्छुु भनेर हुँदैन, मेरो बैंकको जे शक्ति छ त्यही चलाउने हो, मैले त्यही चलाएको छु ।’ 

११ प्रतिशतको भद्र सहमति हुनुुअघिसम्म आफूहरुले मुद्धतीमा १३ प्रतिशतसम्म ब्याज दिने अफर सार्वजनिक गर्ने तयारी गरेको स्मरण गर्दै भने–‘म त १३ प्रतिशतसम्म दिने तयारीमा थिएँ । मभन्दा पनि बढी दिने अरुको तयारी थियो । अहिले हामीले ११ प्रतिशत अग्रीम हुँदा पनि साढे १२ प्रतिशत मात्र पुुग्यो । १३ त अझै पुुगेन नि ।’ 

उनले अग्रीम ब्याज भुक्तानीको अफरबाट आफूहरुले १० अर्ब निक्षेप संकलन गर्न खोजेको समेत प्रष्ट पारे । ‘राष्ट्रबैंकको मापदण्डअनुसार पर्यटन र कृषिमा तोकिएको कर्जा पुर्याउनका लागि पनि हामीलाई १० अर्ब चाहिन्छ । यत्रो पैसा हामीले कहाँबाट ल्याउने ?’ उनले भने–‘त्यही टार्गेट पूरा गर्नलाई हामीले यो स्किम ल्याएका हौ, टार्गेट  पूरा भएपछि फिर्ता लिन्छौ ।’  

उनले आफूहरुले ल्याएको अग्रीम ब्याज भुक्तानीको अफरले राम्रो रेसपोन्स पाइरहेको उल्लेख गर्दै भने–‘यदि एनबिएले फेरि निर्णय गरेर ११ प्रतिशत अग्रीम ब्याज दिन पाइँदैन भन्यो भने हामी निर्णय फिर्ता लिन तयार छौ । गर्न पाइन्न भनिन्छ भने हामी अफर स्थगित गरिदिन्छौ, त्यो नभनेसम्म स्कीम जारी रहन्छ ।’