– रेखा चन्द
काठमाण्डौ । हिमालयन बैंकसँग एकीकृत कारोबारको अन्तिम संघारमा रहेको सिभिल बैंकका कर्मचारीहरु आन्दोलनमात्र उत्रिएका छन्।
सम्झौताविपरीत एक तह घटुवा गरेर आफूहरुलाई हिमालयन बैंकसँग गाभनेर एकीकृत कारोबारको गर्न लागिएको भन्दै सिभिलका कर्मचारी रुष्ट बनेका हुन्। बैंकबाट गत सोमबार बेलुका पद घटुवाको सर्कुलर पठाएपछि उनीहरुले हिजो मंगलबारबाट बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म (दुई घन्टा) पेनडाउन गरेका छन्।
हिमालयनमा जाँदा पनि सम्झौताअनुसार नै समान पद कायम हुनुपर्ने सिभिल बैैंक कर्मचारी संघका अध्यक्ष सचेन्द्र निरौला बताउँछन्। ‘हामीले आफ्ना मागहरु व्यवस्थापनसमक्ष राखिसकेका छौँ’, उनले भने, ‘उहाँहरुले मर्जर कमिटीमा कुरा राखेर प्रतिक्रिया दिने भन्नुभएको छ।’
यता सिभिल बैंक सञ्चालक समिति सदस्य अम्बिर बोगटी हिमालयनसँग जाँदा सिभिलका कर्मचारीहरु समान हैसियतमै जाने बताउँछन्। ‘हिमालयनमा पनि ४ वटा तह छ, हाम्रोमा पनि ४ वटा नै छ’, उनले भने, ‘नाम फरक हुन सक्छ, हाम्रोमा तहको नाम फरक छ र उता फरक छ । त्यसकारण कामको प्रकृति, तलब, सेवासुविधा सबै एउटै हो, त्यसमा केही तलमाथि छैन।’
बोगटीका अनुसार सिभिलमा सुपरभाइजर पद नरहेको र एच१, एच२, एच३ र एच४ भनेर सांगठनिक संचरना छ। ‘हिमालयन बैंकमा सिभिलको एच४लाई सिनियर असिसटेन्ट, एच१लाई टेलर वान नाम दिइएको रहेछ’, उनले भने ‘सांगठनिक संरचनाअनुसार नाम फरक भए पनि सिभिलका कर्मचारीले पाउने सेवासुविधामा तलमाथि हुँने छैन, हिमालयनमै भएको ४ वटा तहमा सिभिलको ४ तह गएर मिसिने हो।’
सिभिलका सीईओ सुनिल पोखरेल मातृ शोक र हिमालयनका सीईओ पितृ शोकमा परेको बेला कर्मचारीहरुले यस्तो विषय उठाउन नहुने बोगटीको भनाइ छ। हिमालयनको बाईलजअनुसार समायोजन गर्दा तहको नाम फरक पर्न गएको उनी बताउँछन्। ‘सिभिलका ९३७ जना कर्मचारीमा कसैको पनि पद घटुवा भएको छैन’, उनले भने।
उता हिमालयन बैंकका एचआर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले भने सिभिलका कर्मचारीहरुले गरेको पद घटुवाको विरोधका बारेमा जानकारी आफूहरुकहाँ नआएको बताए।
हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १० गते गर्ने निर्णय भएको छ । यसअघि माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी भएपनि केही प्राविधिक कारणले एकीकृत कारोकार रोकिएको थियो । अब एकीकृत कारोबार फागुन १० गते गर्ने निर्णय भएको सञ्चालक बोगटीले बताए।
बोगटीले राष्ट्र बैंकले दिएको डेडलाइन (फागुन १६ गते) भित्र हिमालयन र सिभिलको एकीकृति कारोबार हुने बताए। ‘राष्ट्र बैंकबाट फागुन १६ भित्र एकीकृत कारोबारको डेडलाइन छ’, उनले भने, ‘फागुन १० गतेभित्रै एकीकृत कारोबार गर्ने हाम्रो प्लान भए पनि केही सर्न सक्छ तर फागुन १६ गतेसम्म एकीकृत कारोबार भइसक्छ।’
यसैबीच सिभिलका सीईओ पोखरेल भने बैंकबाट बाहिरिने भएका छन्। हिमालयनमा उनलाई वरिष्ठ डेपुटी सीईओको जिम्मेवारी दिने सहमति भएको थियो। तर, पोखरेलले बैंकले ल्याएको स्वेच्छिक अवकाश सुविधा (भीआरएस) लिएर छाड्न लागेका हुन्।
कर्मचारी समायोजनमा कुरा नमिलेपछि सीईओ पोखरेल भीआरएस सुविधा लिएर छाड्न लागेको बताइएको छ। यद्यपि एकीकृत कारोबार नहुँदासम्म उनी सिभिलकै सीईओको जिम्मेवारीमा रहनेछन्।
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago