– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले २०७८ सालभित्रै दैनिक सेयर कारोबार १५ अर्ब रुपैयाँदेखि २० अर्ब रुपैयाँसम्मको हुन सक्ने प्रक्षेपण गरेका छन्। 

नेप्सेकै कार्यालयमा बिहीबार बिजशालाकर्मीसँगको कुराकानीमा सीईओ साउदले यस्तो प्रक्षेपण गरेका हुन्। ‘२०७७ सालमा दैनिक औसत ९ अर्ब रुपैयाँको हाराहारीमा सेयर कारोबार भएको देखिन्छ’, उनले भने, ‘सरकारले धितोपत्र बजारबाट बितेको २०७७ सालमा ९–१० अर्ब रुपैयाँसम्म राजस्व संकलन गरेको छ।’

गत वर्षको तथ्यांकलाई आधार मान्ने हो भने पनि यो वर्ष सरकारले १५ अर्बदेखि २० अर्ब रुपैयाँ राजस्व पाउने सम्भावना रहेको सीईओ साउदको प्रक्षेपण छ। ‘पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको अचाक्ली आकर्षण बढेको छ, यो हिसाबले धितोपत्र कारोबार पनि यो वर्षभित्रै दैनिक १५ अर्बदेखि २० अर्ब रुपैयाँसम्म हुन सक्ने मेरो अनुमान हो’, उनले भने।

नेप्से प्रमुख साउदको यो प्रक्षेपण बजार जानकारहरुसँग मेल खाएको देखिन्छ। केही दिनअघि मात्रै नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले पनि बिजशालासँगको कुराकानीमा २०७८ सालभित्रै दैनिक सेयर कारोबार २० अर्बदेखि ३० अर्बसम्मको हुने अनुमान गरेका थिए। 

अर्को प्रसंगमा सीईओ साउदले नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि स्वीकृति दिएको अवस्थामा नेप्सेमा आवेदन दिएको एक हप्ताभित्रै ब्रोकर लाइसेन्स जारी गर्ने बताए। तर, उनले नयाँ ब्रोकर लाइसेन्स लिनका लागि के–कस्ता प्रावधान छन् भन्ने विषयमा भने खुलाएनन्। 

ब्रोकरले ल्याउन लागेको टीएमएसका विषयमा सीईओ साउदले उनीहरुले चाहँदैमा आफूहरुले निजी कम्पनीहरुलाई डाटा दिन नसक्ने स्पष्ट पारे। ‘अहिलेकै अवस्थामा ब्रोकरले चाहेजस्तो टीएमएस चलाउनलाई अनुमति दिन सक्दैनौँ’, उनले भने, ‘२ करोड खर्चेर हार्डवेयर राख्न नसक्नेले अहिले आएर ५० करोडको सिस्टम ल्याउँछौँ भन्दा कसैले पत्याउँछ ?’