काठमाण्डौ । लक्ष्मी बैंकको तर्फबाट लगभग निश्कर्षमा पुगिसकेको एभरेष्ट बैंकसँगको मर्जर अन्ततः भाँडिने अवस्थामा पुगेको छ । 

डिडिए रिपोर्टका आधारमा आएको सेयर स्वाप रेसियोमा एभरेष्ट बैंकसँग मर्जमा जान तयार लक्ष्मी बैंकसँग एभरेष्ट बैंकको संचालक समितिले एकपछि अर्को गर्दै नयाँ नयाँ शर्त तेस्र्याएपछि तीव्र गतिमा अगाडि बढी निश्कर्षमा पुग्नै लागेको मर्जर भाँडिने अवस्था सिर्जना भएको हो । 

एभरेष्ट बैंकको नयाँ शर्त र कुरा फेरिरहने प्रवृतिले लक्ष्मी बैंकका अधिकारीहरु दिक्क भएका छन् । उनीहरु मर्जरको अन्तिम प्रयासमा जुटिरहेको बताइए पनि अधिकांश संचालक अब एभरेष्टसँगको मर्जर सफल हुन निकै कठीन रहेको निश्कर्षमा पुगेका छन् । 'संचालकहरुले यो बिषयमा पहिलाजस्तो चासो पनि दिन छाडेका छन् ।' बैंकस्थित एक उच्च स्रोतले भन्यो-'एभरेष्टसँग लगभग कुरा नमिल्ने उनीहरुको निश्कर्ष हुनसक्छ । कुनै चमात्कार भएन भने एभरेष्टसँगको मर्जर असफल नै भयो भन्दा पनि हुन्छ ।' 

तीन महिनाअघि नै टुंगिने भनिएको एभरेष्ट बैंक र लक्ष्मी बैंकबीचको मर्जर २५ दिनअघि निश्कर्षमा पुग्नै लागेको अधिकारीहरुले बताएका थिए । त्यसबेलाको सोही साता मर्जरले निश्कर्ष पाउने बताए पनि अन्तिम अवस्थामा एभरेष्ट बैंकको तर्फबाट सेयर स्वाप रेसियोमा आएको नयाँ शर्तले सबै कुरा भाँडिएको छ । 

उच्च स्रोतका अनुसार डिडिएले एभरेष्ट बैंकको ५० कित्ता बराबर लक्ष्मी बैंकको १०० कित्ताको स्वाप रेसियोको आधारमा मर्जमा लैजान सकिने देखाएको छ । एभरेष्टसँग १००ः५० को सेयर स्वाप रेसियोमा जान लक्ष्मी बैंक तयार भए पनि एभरेष्ट बैंकले भने अन्तिम अवस्थामा यो सेयर स्वापलाई अस्वीकार गरेको बुझिएको छ । एभरेष्टले लक्ष्मीलाई आफ्नो ३० देखि ३५ कित्ता बराबर लक्ष्मीको १०० कित्तासम्म मात्र मर्जरमा जान सकिने भन्ने नयाँ शर्त राखेपछि लक्ष्मीका संचालक झस्किएका हुन् । लक्ष्मीका संचालकले एभरेष्टकै आग्रहमा डिडिएका लागि विदेशी कम्पनीलाई संलग्न गराइएकोले त्यसले दिएको प्रतिवेदनका आधारमा आएको सेयर स्वाप रेसियोमा मर्जर गर्नुपर्नेमा जोड दिएका छन् । 

दुई बैंकबीच मर्ज भई बढी चुक्तापूँजी भएको पहिलो वाणिज्य बैंक बन्ने र बजारलाई डोमिनेन्ट गर्ने ठूलो उद्देश्यका साथ एभरेष्ट र लक्ष्मी बैंकको मर्जर प्रयासहरु भएका हुन् । तर, एभरेष्ट बैंकले बढी भाउ खोज्दा ऐतिहासिक मर्जर भाँडिने अवस्थामा पुगेको बैंक स्रोत दाबी गर्छ । 'तपाईहरुले दशैंअघि नै मर्जरको बिषयमा यथार्थ थाहा पाउनुहुन्छ ।' लक्ष्मी बैंकका एक उच्च अधिकारीले बिजशालासँग भने-'तर, अहिलेसम्मको प्रगति सन्तोषजनक छैन । यसअघि हामी उत्साहित थियौं, तर एभरेष्टको व्यवहारले अहिले दिक्क छौ ।' 

एभरेष्ट बैंकमा २० प्रतिशत स्वामित्व रहेको पञ्जाब नेशनल बैंकको इच्छाअनुसार इन्टरनेशनल एकाउन्टेन्सी फर्म(इएनवाई) नामको कम्पनी र लक्ष्मी बैंकको तर्फबाट एक स्वदेशी कम्पनीले डिडिए गरेका थिए ।

यसअघि दुवै बैंकका ठूला सेयरहोल्डरहरुले सम्पति तथा दायित्वको मूल्याङ्कन९डिडिए० अगाडि नै सेयर स्वाप रेसियोमा मोलमोलाई गर्न खोज्दा त्यसबेलाको मर्जरको कुरा हल्लै हल्लामा सीमित भएको थियो । तर, यसपटक भने दुवै बैंक मर्जरका लागि निकै धेरै अगाडि बढे पनि अन्तिम अवस्थामा पुगेर कुरा जेलिएको छ । 

डिडिएले निर्धारण गरेको सेयर स्वाप रेसियो र उल्झनको रुपमा अगाडि आएका केही बिषयमा सहज निश्कर्ष निस्किन सकेको खण्डमा र अन्तिम अवस्थामा एभरेष्टका संचालक केही लचक बने भने मर्जर हुन पनि सक्ने स्रोतहरु दाबी गर्छन्। 

राष्ट्रबैंकले समेत एभरेष्ट र लक्ष्मी बैंकको मर्जरलाई टुंगोमा पुग्ने गरी भूमिका निर्वाह गरिरहेको छ । परिणाम जस्तो आए पनि लक्ष्मी र एभरेष्ट बैंकको मर्जरको बिषयमा धेरैले खेल्ने काम गरेका भन्दै केन्द्रीय बैंकका अधिकारीले समेत छिटो निश्कर्ष निकाल्न दवाब दिइरहेका बुझिएको छ । 

सीइओले छाडे जागिर
यसैबीच, मर्जर सफल बनाउन भगिरथ प्रयत्न गरेका लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिंगले जागिर छाडेका छन् । मर्जर निश्कर्षमा पुग्ने ठानेर संचालक समितिले पछिल्लो पटक उनको कार्यकाल ३ महिना थप गरेको थियो । तर, आफ्नो प्रयासमा थालिएको मर्जर निश्कर्षमा पुग्न नसक्ने देखिएपछि अपजसको भागिदार हुनुभन्दा जागिर छाड्नु नै मुनासिव ठानेर सीइओ खालिंग छुट्टी मनाउन अमेरिका गएका छन् । 

उनले मर्जरका लागि निकै धेरै प्रयास गरेका थिए । पछिल्लो समय उनले बिजशालासँग कुरा गर्दै मर्जर सकारात्मक रहेको र योपटक भने सफल हुनेमा आफू ढुक्क रहेकोसम्म भन्न भ्याएका थिए । तर, अन्तिम अवस्थामा मर्जर सफल नहुने निश्कर्षसहित उनी बैंकबाट विदामा बसेका हुन् ।