काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गरेको १७.५० प्रतिशत नगद लाभांश प्राप्तिको चाहना छ ? त्यसो हो भने तपाईले सकेसम्म चाँडो यो बैंकको सेयर खरीद गरिसक्नुपर्नेछ । 

यो बैंकले आफ्नो ३२ औं वार्षिक साधारणसभासँगै बुक क्लोजको मिति समेत सार्वजनिक गरेको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आगामी माघ ७ गते आफ्नो वार्षिक साधारणसभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आह्वान गरेको हो । 

साधारणसभामा यसअघि संचालक समितिबाट आएको १७.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ । 

यस्तै, सर्वसाधारण समूहबाट एक संचालकको निर्वाचन लगायतका अजेण्डा समेत साधारणसभामा पेश हुनेछन् । 

बैंकले साधारणसभा प्रयोजनका लागि पुस २९ गतेलाई बुक क्लोज मिति तोकेको छ । यसको अर्थ यो बैंकले घोषणा गरेको नगद लाभांश  प्राप्तिको चाहना हुने र साधारणसभामा सहभागी हुने चाहना राख्नेले पुस २८ गतेभित्र बैंकको सेयर खरीद गरिसक्नुपर्नेछ ।