काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभाले २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट २०७५ असार मसान्तसम्ममा कायम शेयर पूँजीको १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

आइतबार सम्पन्न बैंकको ३२ औं साधारणसभाबाट पारित बोनस सेयरसँगै चुक्तापूँजी रु. १२ अर्ब ५८ करोड पुगेको छ । 

त्यसैगरी, बैंकको जगेडा तथा कोषको रकम पनि बढेर रु.९अर्ब ७७ करोड पुगेको छ भने शेयरधनीकोष रकम रु.२४ अर्ब ८७ करोड पुगेको छ । 

संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा सम्पन्न साधारणसभाले संचालक समितिको प्रतिवेदन पारित गर्नुका साथै नेपाल राष्ट्र बैंकको निर्देशानुसार एनएफआरएस बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । 

यस बैंकको शेयरधनी कोष निजी क्षेत्रका बैंकहरुमध्ये उच्च रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेडले आ.व. २०७४/७५ मा रू.४ अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको छ । 

त्यसैगरी खुदनाफा ३ अर्ब ६५ करोड पुगेको छ  । बैंकको निक्षेप ११.४५प्रतिशतले बढेर रू. १खर्ब ४० अर्ब पुगेको छ भने कर्जा लगानी १४.४४ प्रतिशतले बढेर रू.१ सय २० अर्ब पुगेको छ ।

 बैंकको खराबकर्जा (एन.पि.ए.) अनुपात १.३६ प्रतिशत रहेको छ  ।

बैंकिङ्ग सेवा नपुगेका स्थानीय तहमा कार्यालय खोल्ने नेपाल राष्ट्रबैंकको निर्देशनलाई पालना गर्दै शाखा बिस्तारको क्रममा  बैंकले उपत्यकाभित्र र बाहिर गरी १६ वटा नयाँ शाखाहरु बिस्तार गरेको छ भने एस डेभलपमेण्ट बैंक लिमीटेडको प्राप्तिपछि एकै क्षेत्रमा रहेका केही शाखाको स्थानान्तरण पनि गरेको छ ।

विस्तारित शाखासहित बैंकले काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यकाबाहिर ५५ गरी जम्मा ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउण्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४७ वटा शाखारहित बैंकिङ सुविधा तथा १०९ वटा एटिएमबाट सेवा दिइरहेको छ ।

त्यस्तै यहीवर्ष बैंकको सहायककम्पनीएनआईबिएल क्यापिटलमार्केटलि. र साविक एस क्यापिटल लि. एकआपसमागाभिई नेपालको सबैभन्दा बढी रु.२७ करोड चुक्तापूँजी भएको मर्चेन्ट बैंकरको रुपमा एनआईबिएल एस क्यापिटल स्थापित भएको छ । साथै आफ्ना उपलब्ध सेवाहरुलाई सुलभ एवं सहज बनाउन उपत्यकाभित्र लालदरबार र लगनखेल तथा उपत्यकाबाहिर पोखरा, बुटवल, वीरगञ्ज र बिराटनगरमा पनि शाखा विस्तार गरिसकेको छ  ।

बैंकले ग्रामिण क्षेत्रकाग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तिय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने लक्ष्यलाई निरन्तरता दिँदै समयानुकुल प्रविधिको प्रयोगमा जोड दिई ग्राहक सेवामा सहजता ल्याउने तथा राष्ट्रको समग्र विकासमा अग्रसर हुने भावी योजना बनाएको बताइएको छ । 

यसवर्षदेखि बैंकले आफ्ना कार्ड सञ्जालमा मास्टरकार्डको सेवा संचालनमा ल्याएको छ । मास्टरकार्डबाट एटिएम र पस मेसिन दुवैको सुविधा प्राप्त गर्न सकिन्छ ।

बैंक अफ दि इयर पाँच पटक प्राप्त गरिसकेको एनआइबिएलले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण यूरोमनि नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट ‘यूरोमनी अवार्ड फर एक्सलेन्स बैंक २०१८’ अवार्ड प्राप्त गर्न सफलभएको छ भने यसै वर्ष इक्रा नेपालबाट प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा ए बाट ए प्लस ल्याई स्तरोन्नति समेत गरिसकेको छ ।