काठमाण्डौ । पूँजी वृद्धिको नीतिसँगै लघुवित्त कम्पनीहरुमा पनि मर्जरको क्रम सुरु भएको छ । 

यो क्रमको सुरुवात साधाना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी गर्ने भएको छ । 

गोरखा जिल्लामा केन्द्रीय कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको साधनाले तनहुँ जिल्ला भानु न.पा.१ डुम्रेमा रजिष्टर्ड कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्तिको सम्झौता गरेको हो । 

सवल पूँजी भएको उत्कृष्ठ राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हुने लक्ष्यका साथ एक कार्यक्रमका बीच प्राप्ति सम्बन्धी समझदारीपत्रमा साधना लघुवित्तका तर्फबाट अध्यक्ष कृष्णबहादुर थापा र आर्थिक समृद्धि लघुवित्तका तर्फबाट डा. एकनारायण चापागाँइले हस्ताक्षर गरेका छन् । 

प्राप्तिपछि संस्थाको नाम साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहनुका साथै केन्द्रीय कार्यालय हरमटारी ६ गोरखामा रहने सम्झौतामा उल्लेख छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा चुक्तापूँजी ४ करोड ९० लाख रहेको साधनाले २६ वटा शाखा सञ्चालनमा ल्याएको छ भने आफ्ना २० हजार सदस्यमार्फत् रु १३ करोड निक्षेप संकलन तथा रु ७० करोड लगानी गरी रु ५७ लाख नाफा आर्जन गरेको छ । 

त्यसैगरी, चुक्तापूँजी ३ करोड ६ लाख २५ हजार रहेको आर्थिक समृद्धि लघुवित्तको १४ वटा शाखामार्फत् आफ्ना ५ हजार सदस्यमार्फत् रु ४ करोड निक्षेप संकलन गरी रु १५ करोड लगानी गरेको छ ।

नेपाल राष्ट्रबैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदेशस्तर वा राष्ट्रिय स्तरमा कायम रहनुपर्ने र सोका लागि मर्जर तथा प्रप्तिलाई प्रोत्साहन गर्ने नीति ल्याएकोले दुई लघुवित्तले एकअर्कामा मर्ज हुने गरी प्राप्ति सम्बन्धी सम्झौता गरेका र लघुवित्तबीचको प्राप्ति सम्बन्धी सम्झौता भएको यो नेपालकै पहिलो घटना रहेको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुखकार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।