काठमाण्डौ । भारतको पञ्जाब बैंकसँगको संयुक्त लगानीमा स्थापना भएको एभरेष्ट बैंक लिमिटेडले लक्ष्मी बैंकसँगको मर्जर भाँडिएको औपचारिक घोषणा गरेको छ । 

बैंकले शुक्रबार काठमाण्डौमा आयोजना गरेको पत्रकार सम्मेलनमा त्यसका अध्यक्ष बि के श्रेष्ठले लक्ष्मी बैंकसँगको मर्जर असफल भएको औपचारिक घोषणा गरेका हुन् ।

उनले सो क्रममा लक्ष्मी बैंकसँग निकै लामो समयसम्म जारी रहेको मर्जर प्रक्रिया असफल हुनुमा लक्ष्मी बैंककै दोष रहेको र सेयर स्वाप रेसियोमा कुरा नमिल्दा मर्जर भाँडिएको दाबी गर्न समेत भ्याए । 

उनले सो क्रममा लक्ष्मी बैंकसँगको मर्जरका लागि भएको डिडिएमा एभरेष्ट बैंकको १ कित्ता सेयर बराबर लक्ष्मीको २.५ कित्ता सेयर हुने रिपोर्ट आएपछि लक्ष्मीका संचालक मर्जरबाट भागेका दाबी समेत गरे । ‘उहाँहरुले १ बराबर २ सम्मको सेयर स्वाप रेसियोसम्म मिलाउन भन्नुभएको थियो, तर हामीले डिडिए रिपोर्टले तोकेको भन्दा एक इञ्च पनि तलमाथि नगर्ने भनेपछि उहाँहरु आफैं भाग्नुभयो ।’ अध्यक्ष श्रेष्ठले भने–‘मर्जरको प्रस्ताव समेत लक्ष्मी बैंकका अध्यक्ष राजेन्द्र खेतानले नै गर्नुभएको थियो, पछि मर्जरबाट समेत उहाँ आफैं भाग्नुभयो ।’ 

उनले नेपाल इन्भेष्टमेन्ट बैंकसँग समेत मर्जरको प्रयास भए पनि त्यसले मूर्त रुप नलिएको दाबी समेत गरेका थिए । 

इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले आफूलाई फोन गरेरै एभरेष्टसँग मर्जरको कुरा गरेर धेरै चरणको वार्ता भए पनि अन्तिम अवस्थामा कर्मचारीको बाहाना देखाएर इन्भेष्टमेन्ट बैंक भागेको दाबी समेत गरेका थिए । 

‘मर्जरका निम्ति हाम्रो ढोका खुला छ।’–उनले आफू उपयुक्त पार्टनर पाए अझै मर्जरको पक्षमा रहेको संकेत गर्दै भने ।

नियमनकारी निकाय नेपाल राष्ट्रबैंकले सबै वाणिज्य बैंकहरुलाई पूँ्जी वृद्धि वा बैंकहरु एकापसमा गाभिएर सञ्चालन गर्न निर्देशन दिएपछि लामो समयदेखि साझेदारको खोजीमा रहेको यो बैंक लामै समयदेखि विभिन्न बैंकसँग मर्जर गर्न खोजे पनि असफल हुँदै आएको छ । 

अन्य बैंकहरुले भने एभरेष्ट बैंककै कारण मर्जर भाँडिने गरेको बताउने गरेका छन् । 

सम्बन्धित समाचार :

भाँडियो एभरेष्ट र लक्ष्मी बैंकबीचको मर्जर !

लक्ष्मी-एभरेष्ट बैंकबीचको मर्जर भाँडिने अवस्थामा, कसले खेल्यो खेल?

एभरेष्टसँग १००ः५० को अनुपातमा गाभिन लक्ष्मी बैंक तयार, मर्जरको टुंगो यही साता