-मनोजकुमार भट्टराई(प्रमुख कार्यकारी अधिकृत)-प्राइम लाइफ इन्स्योरेन्स

जीवन बिमा कम्पनीहरुको अवस्था कस्तो छ ?
-समग्रमा देशमा जीवन बिमा गर्ने मानिसहरुको जुन प्रचलन र प्रक्रिया छ, आजको दिनसम्म यो सतप्रतिशत फोर्स सेल नै हो । हुन त विकासोन्मुख देशहरुको बिमा व्यवसायको यो एउटा विशेषता नै हो भनिन्छ । भारतमै पनि उनीहरुले भन्ने डेटामा ७५ देखि ८० प्रतिशतसम्म फोर्स सेल नै हो ।

हामीकहाँ आजसम्म पनि कुनै एकजना व्यक्ति स्वस्फूर्त रुपमा बिमा गर्न आएको वा बिमा प्रडक्टको विषयमा एजेण्ट वा कम्पनीका प्रतिनिधिलाई सोधेको अहिलेसम्म मैले थाहा पाएको छैन ।

नेपालमा ५०–५२ प्रतिशत जनसंख्या आर्थिक रुपमा सक्रिय छ भनिन्छ । आजको ५ वर्षपछि पनि उद्योगको जीडीपीले कृषिलाई उछिन्नसक्ने अवस्था छैन । जबसम्म उद्योग व्यवसायको जीडीपीमा योगदानको प्रतिशत बढ्दैन, तबसम्म आर्थिक क्रियाकलाप राम्रो भएको मान्न सकिन्न । तर पनि ५०–५२ प्रतिशत आर्थिक रुपमा सक्रिय जनसंख्या भएको मुलुकमा हालसम्म १७ प्रतिशतको हाराहारीमा मात्र बिमा भएको छ । 

इन्स्योरेवेल इन्ट्रेस्ट भएको, प्रिमियम तिर्नसक्ने र इन्स्योरेवल एज भएको हिसाबले पनि जतिको बिमा हुनुपथ्र्यो, त्यसको ३० प्रतिशत मात्र बिमा भएको अवस्था छ ।

हुन त साह्रै सस्तो बिमा योजनाहरु ल्याउन सक्ने हो, बिमाको सचेतना, शिक्षालाई बिस्तार गरेर लानसक्ने हो भने ५२ प्रतिशतभन्दा बढीको पनि बिमा गराउन सकिन्छ । तर, अहिलेलाई आर्थिक रुपले सक्रिय जनसंख्यामा मात्र जाऔं भन्ने हो भने पनि ५२ प्रतिशतको बिमा त हुन्छ हुन्छ । 

सबै जनसंख्या बिमामा अटाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । तर, त्यति भन्दाभन्दै पनि देशमा हामी १९ वटा जीवन बिमा कम्पनीहरु छौं । बिमा व्यवसायको बिस्तारका लागि हामीहरुबाट समेत पर्याप्त प्रयत्न हुन सकेको छैन । किनभने हामीले कतै न कतै व्यापारिक दृष्टिकोण बढी लगाइरहेका छौ । ‘सय, पचास, दुईसय, पाँचसय मान्छेलाई कुनै ठाउँमा भेला गराएर बिमा सचेतना कार्यक्रम गरौं, बिमा पोलिसी बिक्री भए हुन्छ, नभए पनि होला’ भनेर खुल्ला छाति राखेर हामी पनि अगाडि आउन सकेका छैनौ ।

हामी(कम्पनी)हरुले अभिकर्तासँग भेटघाट गर्ने, उनीहरुलाई सिकाउने, पढाउने, उनीहरुलाई पहुँच बढाउनका लागि मद्धत गरिदिने काम गरिरहेकै छौ । अभिकर्ताको भेला गराएर, तालिम गराएर खर्च गरिरहँदा तिमीहरुले कति विजिनेश ल्याउने हो त ? भनेर पनि सोध्नैपर्ने रहेछ ।

हामी अहिले एकप्रकारको प्रिमिटिभ स्टेजमा छौ । यो अवस्थामा कम्पनी विशेषले वा व्यापारिक दृष्टिकोणले भन्दा पनि शिक्षित गर्ने इच्छाशक्तिसहित सम्बन्धित निकायहरु अगाडि आएर पहिला अगाडि बढिदिनुपर्छ ।  यसमा बिमा समितिको इनिसिएसन चाहिन्छ ।

बिमा समितिले कुनै सचेतना कार्यक्रम गरायो, बिमा सम्बन्धी जागरण ल्याउने कार्यक्रम गरायो भने कुनै कम्पनी विशेषको बारेमा भन्नुपर्ने आवश्यकता रहँदैन । त्यो वास्तवमा नै सचेतनाको कार्यक्रम हुनेछ ।

तर, कम्पनी विशेषले गर्यो भन्ने बित्तिकै त्यो कतै न कतै विज्ञापन नै हुन्छ । किनभने उसले त्यत्रो खर्च गरेपछि उसले आफ्नै प्रडक्टको विषयमा कुरा गर्छ, मेरै कम्पनी राम्रो, मैले नै गरेको ठीक भन्छ । 

तपाई(कम्पनी)हरुले अहिले बिमा सचेतनाभन्दा पनि सञ्जाल बिस्तारमा ध्यान दिइरहनुभएको छ । शाखा तथा उपशाखा बिस्तार गर्दा लागत पनि बढिरहेकै हुन्छ । आउँदा दिनमा सञ्जाल बिस्तारसँगै बिमा सचेतनाको तारतम्य कसरी मिलाउनु हुन्छ ?
-शाखा, उपशाखा खोलिरहँदा ती ठाउँमा जुन स्तरको विमा व्यवसाय आउनुपर्छ भनेर हामीले मान्यता राखेका छौ, त्यो हिसाबले आएको छैन । आज नआए भोलि आउँछ, कम्पनीले सञ्जाल बिस्तार चाहि गर्नुपर्छ भन्ने सोंचबाट सञ्जाल बिस्तारको काम भइरहेको हो । 

अर्कोतर्फबाट हेर्ने हो भने त्यो किसिमको गतिविधि गर्दै जाँदा खर्च पनि बढिरहेको हुन्छ । मानौं न कुनै ठाउँमा मैले कम्पनीको शाखा उपशाखा राखिरहँदा त्यसमा हुने कर्मचारीको खर्च, संचालन खर्च, त्यसको भाडा, निरीक्षण गर्न जाने क्रममा हुने खर्च, ती सबै खर्च मैले विमितहरुले दिएको बिमाशुल्कबाटै व्यवस्थापन गर्ने हो । भनेपछि त त्यो शाखा वा उपशाखाले आफूले खर्च धान्नसक्ने स्तरको व्यवसाय गर्न नसक्नु भनेको हामीले अर्को विमितलाई नोक्सानीमा पार्नु हो । त्यो चिजलाई आजको दिनमा कुनै व्यवस्थापक वा कुनै कम्पनीको सीइओले त्यसरी सोचेको छ कि छैन, त्यो उसको कुरा होला । तर, परिपक्व कम्पनीको परिपक्व व्यवस्थापक भएको नाताले कम्तीमा मैले यो विषयमा सोचेको छु ।

एकातिर शाखा विस्तार गर्नुपर्ने आवश्यकता पनि हो, प्रेसर पनि हो । पहुँच नपुगी व्यवसाय बढ्दैन भन्ने मान्यता पनि हो । 

अर्कोतर्फ सचेतना र शिक्षाको पनि कमी भइरहेको छ । अब यसमा चाहि हातेमालो नै गरेर अगाडि बढ्नुपर्छ । तारतम्य मिलाउन रेगुलेटर वा सरकारी निकायले सचेतनाको कार्यक्रम गरिदिनुपर्यो । त्यसमा हामी पनि सहयोग गर्न तयार छौ । 

बिमा सचेतना देशका धेरै ठाउँका नागरिकको मन मष्तिष्कमा पुगेको छैन । अहिले बिमाको पहुँच शहरी क्षेत्रमा मात्रै केन्द्रीत हो ? माइक्रोलेभलमा बिमा व्यवसाय बिस्तार गर्ने तथा पहुँच पुर्याउने उपाय केही छन् ? 
-तपाईले साह्रै सान्दर्भिक र राम्रो प्रश्न गर्नुभयो । मलाई लाग्छ, हाम्रो बुझाईमै कहीँ न कहीँ समस्या छ । बिमा कम्पनी सहर केन्द्रीत भए, सचेतना अभियान शहर केन्द्रीत भयो भनेर जसरी बारम्बार कुरा आउने गरेको छ, यसमा बुझाईमै समस्या जस्तो लाग्छ । काठमाण्डौ, बुटवल, पोखरा, विराटनगर, नेपालगञ्जजस्ता ठाउँहरुमा जति पनि हामीले जीवन बिमा गराइरहेको भनेका छौ, त्यहाँका व्यक्तिको बिमा भइरहेको होइन । अथवा, काठमाण्डौमा पनि काठमाण्डौकै व्यक्तिको वा यहाँका एलिट वर्ग भन्नेहरुको बिमा भइरहेको छैन । 

जो फ्रि भएर कुनै कुरा सुन्न आउँछ भने उसले त्यो कुरा बुझ्दो रहेछ । उसमा केही जिज्ञासा बढ्दो रहेछ, बढी जानकारी लिन खोज्दो रहेछ । तर, केही पढेलेखेको जान्ने, सुन्ने भन्ने भइसकेका मानिसहरुमा बिमाको भोक जगाउन निकै कठीन हुँदो रहेछ । त्यसकारण बिमा शहरिया जनसंख्या, वा शिक्षित वर्ग वा सभ्रान्त वा हुनेखाने वर्गमा खासै पुगेको छैन । बरु त्योभन्दा मिडिल र लोअर मिडिल क्लासमा यसको व्यापकता छ । किनभने सुरक्षा यो वर्गले खोज्दो रहेछ । 

माथिल्लो वर्ग, जसको आम्दानीको स्रोत अथाह छ, उसलाई जोखिम पनि अनुभूति नहुँदो रहेछ । बिमाको आवश्यकता पनि महसुस नहुँदो रहेछ । उसलाई भन्न जाँदा ऊ खुल्ला रुपमा सुन्दा पनि सुन्दैन । एकडेढ करोडको बिमाले मलाई के हुनेवाला छ र ? मेरो यत्रो साम्राज्य छ भन्ने खालको सोंच हुने हुनाले शहर केन्द्रीत र हुनेखाने वर्गमा मात्र बिमा भयो भन्ने कुरा सही होइन ।

सायद यो कुरा कार्यालय स्थापनाको एंगलबाट बढी आइरहेको हो कि जस्तो लाग्छ । सुविधासम्पन्न ठाउँमा मात्र बिमा कम्पनीले कार्यालय खोलिरहँदा ‘शहर केन्द्रीत भए’ भन्ने टिप्पणी भइरहेको हुनसक्छ । जहाँ बत्ती, बाटो, पानी, टेलिफोन, इन्टरनेटको सुविधा छ, त्यहीँ न कार्यालय स्थापना गर्ने हो । भौतिक सुविधा नभएको ठाउँमा कार्यालय स्थापना गरेर सेवा नै दिन सकिन्न । त्यहाँ बैंक पनि हुनुपर्यो, बिमा गर्नेले दिएको रकम सुरक्षित गर्नसक्ने अवस्था पनि हुनुपर्यो । इन्टरनेटमा मेरो सर्भिस पनि हुनुपर्यो । कोही मान्छेले आएर मेरो बिमा गरिदेऊ भन्यो भने तुरुन्त उसलाई मैले रसिद काटेर दिनसक्ने अवस्था हुनुपर्छ । 

हामीले अभिकर्तामार्फत बिमा व्यवसाय गाउँ–गाउँ, टोल–टोल र घर–घरमा पुर्याइरहेका छौ । संसारमा जीवन बिमा मात्रै एउटा यस्तो व्यवसाय, जो अभिकर्ता नराखी संभव नै छैन । 

एउटै कुरा के चाहि हो भने भौतिक पूर्वाधारको सुविधा पुगिसकेका ठाउँहरुमा चाहि उपस्थिति हुनुपर्छ । सबै कम्पनीले एकैठाउँमा खप्टिएर व्यवसाय खोसाखोस गर्नुभन्दा म नपुगेको ठाउँमा अरु कम्पनी गइदियो भने बिमाको पहुँच बिस्तारको उद्देश्य समेत पूरा हुनसक्छ । 

यसरी सबै कम्पनीको सबै ठाउँमा उपस्थिति होइन, तर कुनै न कुनै बिमा कम्पनी चाहि सबै ठाउँमा उपस्थित हुने हिसाबको प्रक्रियाबाट हामी गयौं भने ‘शहर केन्द्रीत भए’ भन्ने आक्षेपबाट पनि बच्छौ । बिमाको सुविधा र सेवा घरदैलोमा दिनसक्छौ । 

बिमा व्यवसाय बिस्तारका लागि शाखारहित सेवाको अवधारणा कार्यान्वयन गर्न सकिने अवस्था छ कि छैन ?

-बैंकहरुले शाखारहित बैंकिङ गर्छन् । कुनै पनि ठाउँको एउटा व्यक्ति, जसलाई बैंकले विश्वास गरेको हुन्छ, ऊमार्फत सीमित बैंकिङ सेवा दिइन्छ । हाम्रो(बिमा कम्पनी)मा अभिकर्ताहरु नै एकप्रकारको ब्राञ्चलेस भएर काम गरिरहेका छन् । अभिकर्तासँगको व्यक्तिगत  सम्बन्ध र विश्वासका आधारमा नै कतिपय हाम्रा बिमितहरुले बिमा शुल्क दिने, गरेर ल्याइदिनुस भन्ने गरेका छन् । त्यो भनेको शाखारहित सेवा नै हो । 

कतिपय ठाउँमा हामीले केही समयमा लागि सम्पर्क कार्यालयको रुपमा राखेर शाखारहित सेवा दिइरहेकै छौ । 

सबै कम्पनीको काम गर्ने फरक–फरक स्टाइल छ । कतिपय कम्पनीले उपशाखा भन्ने नै नाम दिंदैनन् । सबै कार्यालयलाई शाखा नै भनिदिने गरेका छन् । हामीले चाहि सेवाको गुणस्तरताका आधारमा कुन हदसम्मको सेवा दिने ठाउँलाई शाखा भन्ने, कुन हदसम्मको सेवा दिनेलाई उपशाखा भन्ने र सम्पर्क कार्यालय भनेर वर्गीकरण गरेका छौ । 

बिमा सेवाको डिजिटाइजेसनमा हामी कहाँ छौ ? प्राइम लाइफ कहाँ छ ?
-यो भनेको केही थोरै व्यवसायिक रणनीतिभित्रको कुरा पनि पर्यो । यसमा चाहि प्राइम कहाँ छ भनेर भनेँ भने त्यो एक्सपोज हुने अवस्था हुन्छ । यसलाई म व्यवसायिक गोप्यताकै हिसाबले राख्छु। 

जीवन बिमालाई डिजिटाइज्ड गर्ने विषयमा केही प्राविधिक कठिनाई आउनसक्छ । आज त कम्तीमा अभिकर्ताले बिमा गराउन जाँदा बिमितलाई देखेको छ नि । अभिकर्ताले व्यक्ति देख्छ, उसको शारिरीक अवस्था देख्छ । उसले त्यही अनुसारको रिपोर्ट तयार गर्छ र उसले संकलन गरेको त्यही जानकारीका आधारमा हामीले अण्डराइटिङ गरिरहेका हुन्छौ । तर, पूरा डिजिटाइज्ड भएपछि त कम्प्युटर अथवा डिभाइसको माध्मयबाट मात्र हुने भने त्यहाँ व्यक्ति देखिने अवस्था भएन । त्यसलाई प्राविधिक रुपले कसरी मिलाउन सकिन्छ भन्ने कुरा सोचिन आवश्यक छ । 

अर्कोतर्फ, यो हाम्रो मात्र पाटो होइन, हामीले सबै जोखिम लिन पनि सक्दैनौ । हामीले निश्चित रिस्क लिएपछि बाँकीका लागि रिइन्स्योरेन्स गर्नुपर्ने हुन्छ । जसले पुनर्बिमा लिन्छ, उसले पनि त कुन हदसम्म त्यो जोखिम लिने कि नलिने भन्ने कुरा हेर्नुपर्ला । अझ त्योभन्दा पनि एक स्टेप अगाडि गएर कुरा गर्ने हो भने डिजिटल गरेर जाने क्रममा मेडिकल रिपोर्टहरु चाहिने हुन्छ । जुन देशमा डिजिटल संभव भएको छ, त्यहाँ हरेक डेटा डिजिटल्ली उपलब्ध छ । 

र, मेडिकल रिपोर्ट र हिस्ट्री पनि एउटा सेन्ट्रल ठाउँमा सेभ भइरहेको छ । त्यो मान्छेले मसँग ५० लाखको बिमा गर्न आयो भने मलाई त्यो मान्छेको मेडिकल इतिहास चाहिन्छ । विदेशमा सबै कुरा त्यहाँबाट रेकर्ड हेर्न पाउँछु । त्यसले गर्दा सजिलो छ । ती ठाउँमा पेमेन्ट गेट्वेको काम गर्न पनि सजिलो छ । तुरुन्तै पैसा ट्रान्सफर गर्न सकिन्छ । हामीकहाँ पेमेन्ट गेट्वे पनि सजिलो भइसकेको छैन । तर, समयअनुसार डिजिटल सेवामा जानैपर्ने अवस्था पनि छ । यसको मुख्य चुनौति वा समस्या भनेको डिजिटल्ली डेटा उपलब्ध नहुनु नै हो । 

प्राइम लाइफकै कुरा गर्नुहुन्छ भने हामीले फूल्ली एड्भान्समा यो विषयमा सोचिसकेका छौ । 

बिमा कम्पनीहरुबीच व्यवसाय खोसाखोसको अवस्था देखिन्छ । कतिपय कम्पनी त खुलेआम अस्वस्थ प्रतिस्पर्धामा छन् । अभिकर्ता, कर्मचारीको तानातानको अवस्था उस्तै छ । व्यवसाय बिस्तारकै लागि तीव्र बनिरहेको अस्वस्थ प्रतिस्पर्धाकै कारण कम्पनीहरुले मनलागी उपहार बाँड्न थाले भनेर बिमा समितिले अंकुश नै लगाउनुपर्यो । उपहार दिंदा अब समितिको पनि स्वीकृति चाहिने सर्कुलर आएको छ । बिमा कम्पनी अराजक भएका हुन् ?
-अभिकर्तालाई तानातान गर्ने, उपहारको वर्षा गर्ने, विमितहरुलाई पनि विभिन्न किसिमका प्रलोभनहरु दिने भन्ने कुरा सही मानेमा बिमा होइन । बिमाको नाममा अन्य खालका गतिविधि पनि भइरहेको छ भन्ने संकेत हो । आज बिमा गरेर आजै बिमाको लोन लिन पाइन्छ भनेर काम गरेको पनि सुनियो ।

सिंगल प्रिमियमको नाममा फिक्स्ड डिपोजिट राखेजस्तो, एक करोडको बिमा गर्दा ९३ लाख प्रिमियम दिए पुग्ने, त्यसको तुरुन्तै ९० प्रतिशतसम्म लोन पाउने, अनि त्यसमा कमिसन, तानातान र उपहार सबैको हिसाब गर्दा त तिरेको जति पैसा विमितले नै तुरुन्तै फिर्ता लैजान पाउने अवस्था आयो । उसले सित्तैमा १ करोडको बिमा पाउने गतिविधि पनि भयो भन्ने बजारमा आएकै छन् । हावा नचली पात हल्लिन्न । 

तर, यो व्यवसायमा केही अस्वस्थ प्रतिस्पर्धाको अवस्था सिर्जना भएको चाहि पक्कै हो । किनभने जब बिमा समितिले विगतमा हामीलाई प्रथम बिमा शुल्कको १८ प्रतिशतसम्म व्यवसाय प्रवद्र्धनका लागि विविध खर्च गर्न पाइने भनी तोकिदिएको थियो । यो कमिसन बाहेकको कुरा हो । समितिले एउटा क्याप दिइसकेको अवस्थामा फेरि तिमीहरुले कुन कुन उपहार दिन लागेका हौ, पूर्व स्वीकृति लिनू भनेर माग्नुको अर्थ त, १८ प्रतिशतभित्र बस भनेका पनि बसेनन् र त्यो १८ प्रतिशत भन्दा बढी गरेको पनि लुकाएर गरे भन्ने नै हो । यस्तो उपहार कुनै कम्पनीको सीइओले आफ्नो तलबबाट इन्स्योरेन्स एजेन्टलाई बाँड्दैन । अथवा, कम्पनीमा लगानी गर्ने प्रवद्र्धकहरु, लगानीकर्ताले पनि सेयर लगानी मात्र गरेका हुन्, व्यवसाय ल्याउन उनीहरुले पनि फेरि खल्तीबाट त पैस खर्च गर्दैनन् । भनेपछि पैसा त त्यहीभित्रबाट खर्च भएको छ । यहीकारण नियामकले यस्तो प्रावधान गरेको होला, जुन सही छ । 

नियमनकारी निकायले यो स्तरमा आएर माइक्रोम्यानेजमेन्ट गर्नुपर्ने अवस्था भनेको ज्यादै नराम्रो इण्डीकेसन हो । आज प्राइम लाइफमा बसेर म जतिसुकै सिस्टममा काम गरौं, स्ट्याण्डर्डमा काम गरौं, समग्र रुपमा भोलि कुनै व्यक्तिले बिमाको बारेमा कुनै कुरा गलत भयो भने यो कम्पनी भन्दैन, नेपालको जीवन बिमाको बजार भन्छ । समग्र उद्योग नै लज्जित हुने अवस्था आउँछ । तसर्थ जसले यस्ता खालका गतिविधि गरेर नियमनकारी निकायलाई सर्कुलर नै गर्नुपर्ने अवस्था सिर्जना गर्यो, उहाँहरुले आत्माआलोचना गर्नुपर्छ । र, नियमनकारी निकायलाई यस्तो किसिमको माइक्रो म्यानेजमेन्ट गर्न बाध्य पनि बनाइनुहुन्न । 

आजभन्दा २ वर्षअघि ६ प्रतिशतभन्दा बढी खर्च गर्न पाइन्न भन्दै समितिले क्याप लगाइदिएको थियो । त्यतिबेला फत्तबहादुर केसी हुनुहुन्थ्यो बिमा समितिको अध्यक्षमा । मैले उहाँलाई भनेको थिएँ–‘फत्तबहादुर जी, २०६९ सालमा पनि तपाईले यही प्रावधान गर्नुभएको थियो । त्यतिबेला चाहि त्यो ६ प्रतिशतभित्र विज्ञापनको पनि, अन्य कुरा पनि गर्ने भन्ने थुप्रै हेडिङ थिए । योपटकको चाहि विज्ञापन र अन्य हेडिङ झिकेर विशुद्ध अभिकर्तालाई मात्र दिने भनेको हुनाले ०६९ सालमा गरेको चिज फेरि ०७३ सालमा गर्नुपर्यो । ०६९ सालमा गरियो ब्याक भइयो, ०७३ सालमा आएर त्यही कुरा गर्नु भनेको त फेरि ब्याक हुनु हो नि । यसले हामी ४ वर्ष पछि धकेलियौं । यो निर्णय फेरि पनि फिर्ता लिइयो भने नियामकको भूमिकामाथि प्रश्न उठ्छ, कृपया यसलाई फिर्ता नलिनुहोस् ।’ 

त्यतिबेला प्राइम लाइफ इन्स्योरेन्सको तर्फबाट नेपालभरका शाखाहरुमा गएर अभिकर्तालाई भेला गराई अब ६ प्रतिशत भन्दा बढी दिन सकिन्न, हिजो दिइरहेको सुविधा कटौति हुन्छ भनेर प्रष्ट भनेँ । कैयौं कम्पनीका सीइओहरुले आफ्ना ब्राञ्च म्यानेजरहरुको विजिनेश कन्फिडेन्स बढाउन सकेनन् । 

प्राइम लाइफको मनोज भट्टराई मात्र यस्तो व्यक्ति भयो, जसले एजेन्टलाई अगाडि राखेर हामी ६ प्रतिशतमा काम गर्नुपर्छ भनेर हिँडे, प्रमाणित गरेर देखाएँ र काम पनि गरेरै देखाएँ । ६ महिनापछि त्यो निर्णय फेरि पल्टियो र १८ प्रतिशतमा आयो । १८ प्रतिशतमा आइसकेपछि आज पनि बिमा समितिमा पेश भएको प्राइम लाइफको खर्च संरचना हेर्न सक्नुहुन्छ । आज पनि म ६.०१ प्रतिशत मात्र खर्च छ । १८ प्रतिशतसम्म देऊ भनिसकेपछि मेरो अभिकर्ता चाहि थोरैमा काम गर, अरुले धेरै दिए पनि हुन्छ भन्न सकिन्न । त्यो नैतिक दायीत्व पनि होइन । मैले अभिकर्तालाई अड्याउन पनि सक्नु पर्छ । तर, त्यसरी थप दिंदा पनि पोहोर मैले साढे १२ प्रतिशतभन्दा बढी खर्च गरेको छैन, यो साल पनि मेरो १३ प्रतिशत भन्दा बढी नाघ्नेवाला छैन । म १८ प्रतिशत भन्दाभन्दै पनि १३ प्रतिशतभित्र बसिरहेको छु । 

फेरि यहाँ त राम्रो काम गर्दा पनि आलोचना हुँदो रहेछ । प्राइमको कसरी १३ प्रतिशत भयो ? पक्कै खर्च लुकायो होला भन्नेहरु पनि देखिए । ए बाबा, १८ प्रतिशत नाघेको भए पो खर्च लुकाउनु ! जब मेरो १८ प्रतिशतभित्रै छ भने खर्च लुकाउनुपर्ने आवश्यकता नै छैन । 

र, मनोज भट्टराई यस्तो एउटा व्यक्ति पनि हो कि भोलि व्यवसाय बढाउँदै जाँदा, मैले गर्दै जाँदा मेरो १८ प्रतिशत नाघेर १९ प्रतिशत भएछ भने पनि ठूलो छाति बनाएर बिमा समितिका अधिकारीलाई भन्नेछु–‘सर कोशिश गर्दा गर्दै पनि मैले १८ प्रतिशतमा गर्न सकिँन, एकप्रतिशतले मेरो बढी खर्च भयो, मिल्छ भने यो १ प्रतिशत मलाई रिल्याक्स दिइदिनुस ।’ यो कुरा भन्ने हिम्मत र हैसियत राख्छु म । भोलिका दिनमा ६ प्रतिशत खर्चमा काम गर्नुपर्छ भने पनि हामी तयार छौ ।

व्यवसाय बिस्तारमा अस्वस्थ प्रतिस्पर्धाको कुरा त गरिहाल्नुभयो । नवीन प्रडक्ट ल्याउने कुरामा चाहि प्रतिस्पर्धा छ कि छैन ? अथवा, प्रडक्टमै पनि विकृति छ कि ? 
-एकदमै राम्रो कुरा गर्नुभयो । विगतमा हेर्ने हो भने प्रडक्टमा प्रतिस्पर्धा पटक्कै थिएन । एउटाले कुनै प्रडक्ट बनायो भने त्यसको नाम फेरेर उस्तै प्रडक्ट लञ्च गर्ने लहर थियो । अहिले आएर प्रडक्टमा इन्नोभेसन चाहि आएको छ । तर, जति नै इन्नोभेसन भनिए पनि बिमामा नितान्त नयाँ काम गर्न सकिन्न । भएकै चिजहरुलाई केही हाइब्रिड बनाउने मात्र हो । 

जस्तो: अहिलेकै कुरा गर्ने हो भने मैले प्राइममा बिल्कुलै नयाँ प्रडक्ट ल्याएँ–एउटा बिमा गर्दा अर्को सित्तैमा पाइने । केही तलमाथि गरेर यही कन्सेप्टलाई धेरैले पछ्याए । 

हामीले हेर्नुपर्ने बिमितको एंगलबाट हो । उसलाई खालि सस्तो बनाइदिने भन्दा पनि रिस्क कभर कति गर्ने भन्ने कुरा महत्वपूर्ण हो । प्राइम लाइफको जीवन उपहार बिमा योजना अन्तर्गत २५ लाखको बिमा गरिरहँदा ५० लाखको रिस्क कभर हुन्छ, त्यति नै पैसामा । २५ लाखको बिमा गर्छु भनेर योजनासहित आइसकेको मानिसलाई पैसा घटाउनुभन्दा रिस्क कभर बढाउनु राम्रो भयो नि । भोलिका दिनमा दुवै पोलिसीको बोनस हिसाब गर्दा विमितले राम्रो बोनस पाउँछ । यस्ता खालका विविध चिजहरु विमितले आफूले तुलना गरेर भन्ने कुरा हो । कम्पनीका प्रडक्टहरुबीच तुलना गरी आफूलाई उपयुक्त पोलिसी लिनसक्ने गरी विमितलाई तयार गर्नुपर्छ । यसका लागि विमितलाई शिक्षा दिनुपर्यो, सचेतना बढाउनुपर्यो । 

तपाईले पाउने पैसा भन्दा पनि मुख्य कुरा भनेको तिम्रो रिस्क कभर कति हो ? तपाईको भ्यालू कम्पनीले कति बनायो भन्ने हो । तपाईले २५ लाखको बिमा गरिरहँदा अर्को वर्ष अर्को २५ लाखको पोलिसी सित्तैमा दिन्छ भने त कम्पनीले तिम्रो भ्यालु ५० लाखको बनाइदियो नि । २५ लाखको भ्यालू भएर बस्ने हो कि ५० लाखको भएर बस्ने ? त्यो कुरा विमितले निर्णय गर्ने कुरा हो।

बिमा भनेको जोखिमको कभर नै मुख्य कुरा हो । यो कुरा बुझेपछि मात्र विमितले सही कम्पनी छनौट गर्न सक्ला । विमित आफैंले तुलना गरेर यो चाहि मेरा लागि राम्रो भन्ने अवस्था बनाइदिनुपर्छ । 

जीवन बिमा कम्पनीहरुको जीवन बिमा कोषमा निकै धेरै रकम थुप्रिएको छ । कोषहरुको उपयोग कसरी गर्न सकिन्छ ? कस्ता क्षेत्रमा लगानीको अवसर सिर्जना भइदिए हुन्थ्यो भन्ने लाग्छ ?

-एकदमै राम्रो प्रश्न गर्नुभयो । वास्तवमा अहिलेको बिमा बजारमा यो एउटा जल्दोबल्दो प्रश्न पनि हो । अहिले देशका जीवन बिमा कम्पनीहरुसँग २ खर्ब भन्दा बढीको फण्ड छ । मुलुकको जीडीपीमा अब बिमाको योगदान झण्डै ३ प्रतिशत पुगिसकेको अवस्था हो । ५ वर्षअघिसम्ममा भोल्युम त्यति साइजेबल थिएन । यसले पनि त्यसबेला सोही अनुसारको गाइडलाइन बिमा समितिबाट आयो । पछिल्लो समय लगानीको गाइडलाइनलाई केही फराकिलो बनाइएको छ, यो स्वागतयोग्य पनि छ । 

अहिले फण्डको साइज बढी भयो । पुरानै ढर्रामा बसिरहँदा धेरै ठूलो रिस्क समेत हुन्थ्यो । फण्डमा थुप्रिएको पैसा विमितको पैसा हो, उनीहरुलाई भोलि रिर्टन दिनुपर्छ । न्युनतम रिटर्नको ग्यारेण्टी नगरी हामी लगानी गर्न सक्दैनौ । 

केही अघिसम्म धेरैको ७० देखि ८० प्रतिशत पैसा बैंकहरुको मुद्धती खातामै छ । 

बिमा कम्पनीहरुले आवश्यक ठाउँमा सोझै लगानी गर्न किन नसक्ने भन्ने बिषयमा समेत बहस हुन आवश्यक छ । बरु विशेष क्षेत्र तोकेर त्यसको सीमा तोकी लगानीको ढोका खोलिदिए हुन्छ ।

तर, यसो भनेर हामी लगानीका विज्ञ होइनौ । हरेक बिमा कम्पनीमा यो विज्ञता नभए पनि बैंकहरुले लिड गरेको ठाउँमा सहभागी बन्न बिमा कम्पनीले किन नपाउने ? डाइरेक्ट प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न पाउनुपर्छ । यस्तो किसिमको सुरुवात गर्नुपर्ने बेला भइसकेको छ । यसले मुद्धती निक्षेपसँगको निर्भरता घटाउँछ । 

अर्को, बिमा कम्पनीहरु डाइरेक्ट्ली विकासमा सहभागी भएको देखिन्छ ।

यस्तै, अन्य खालका प्रोडक्टहरुमा समेत लगानी खुल्ला गरिनुपर्छ । बरु भएको फण्डमा केही प्रतिशत मुद्धतीमा छुट्याएर बाँकी रकम राष्ट्रिय गौरवका आयोजनामा लगानी गर्नसक्ने वातावरण बनाइदिनुपर्छ । 

अहिलेको अवस्थामा हेर्दा २ खर्बको ७० प्रतिशत नै लगानी गर्न सकिए पनि १ खर्ब ४० अर्बको लगानी गर्न सकिन्छ । यसले त निकै ठूलै प्रोजेक्ट स्वदेशी पूँजीमा निर्माण संभव हुन्छ ।

प्रसंग बदलौं, प्राइम लाइफसँग कस्ता र कतिवडा बिमा पोलिसीहरु छन् ? नयाँ पोलिसी ल्याउने योजना के छ ? शाखा सञ्जाल बिस्तार र व्यवसाय श्रीवृद्धिका लागि अन्य योजना के के छन् ?
-हामीसँग १६ प्रकारका बिमा योजनाहरु छन् । कुनै एउटा व्यक्ति वा एजेन्सी प्राइम लाइफको कार्यालयमा आइसकेपछि उहाँले चाहेको किसिमको बिमा योजना दिन सक्नुपर्छ भन्ने हामी मान्यता राख्छौ । फरक चाहना राख्नेहरुको इच्छा पूरा गर्ने पोलिसी कम्पनीसँग हुनुपर्छ भन्ने मान्यताका साथ हामीसँग १६ प्रकारका योजना छन् । त्यसमा आवधिक भुक्तानी पाउने योजना पनि छन्, बच्चाको शिक्षाका लागि योजना छन् । महिलाका लागि मात्र डेडिकेटेड युनिक प्रडक्ट हामीसँग मात्र छ । 

यसैगरी, पेन्सन प्लान समेत हामी छ । हामीले योगदानमा आधारित पेन्सनको योजना ८ वर्षअघि नै ल्याएका थियौं । सरकारले बल्ल सोच्यो । डबल बेनिफिटवाला स्किम पनि छ । मनिब्याकका अन्य पोलिसी छ । निकै सस्तोमा पाइने टर्म पोलिसी पनि छ । अझै सस्तोमा जोखिम बहन गराउने अवधारणमा पनि अन्य प्रडक्ट डिजाइन गरिरहेका छौ । 

हामीसँग आजको दिनमा कुल ३४ शाखा, १०३ उपशाखा र सम्पर्क कार्यालय र ७ प्रदेश अफिससहित १४४ वटा शाखा सञ्जाल छन् । हामी अब निकट भविष्यमै ३४ वटा शाखा र उपशाखा थप्दैछौ । 

प्राइमको प्राथमिकतामा सधैं विमित हुन्छन् । गुणस्तरीय सेवा सुविधा र बढी भन्दा बढी लाभ दिने भन्ने लक्ष्य छ । 

हामीसँग लगानीकर्ताको पनि अपेक्षा हुन्छ । हालसम्म कम्पनीको पूँजी वृद्धि मात्र गरिरहेको अवस्था छ । हाम्रो पूँजी १७८ करोड पुगिसकेको छ । रिजर्बमा राम्रो पैसा छ । २०० करोड बोनस सेयरबाट पनि पुर्याउन सक्छौ । सेयरधनीको अपेक्षा पूरा गर्नका लागि २०० करोड पुगिसकेपछि सबै कुरा राम्रो हुँदै गयो भने आगामी ५ वर्षसम्मलाई न्यूनतम १० प्रतिशत रिटर्न दिनसक्ने खालको हाम्रो व्यवसायिक स्तर कायम भइसकेको छ । सेयरधनीलाई नियमित रुपमा एउटा राम्रो लेभलको रिटर्न दिनेछौ ।

अहिले बजारमा हाम्रो देशको जनसंख्या र इकोनोमीको साइज अनुसार बिमा कम्पनीहरुको संख्या बढी भयो भन्ने बहस पनि हुन थालेको छ । यसमा तपाईको धारणा के हो ?

-तुलनात्मक रुपमा हेर्ने हो भने संख्या बढी हो । भारत १३० करोडको जनसंख्या भएको मुलुक हो, जहाँ ३२ प्रतिशत बिमा भएको छ, २४ वटा कम्पनी छन् । सबैले राम्रो गरिरहेका छैनन् । एलआइसीको आज पनि ८२ प्रतिशत मार्केट सेयर छ भन्ने सुनिन्छ । हाम्रोमा ३ करोडको जनसंख्या भएको ठाउँमा १९ वटा कम्पनीको संख्या ठीक हो भनिहाल्ने अवस्था छैन । तर, फ्री इकोनोमी हो, सही ढंगले काम गर्ने टिक्लान् नै, बाँकी हराउने छन् । हाम्रै बेलामा आएका कतिपय कम्पनीको अवस्था आज पनि राम्रो छैन । प्राइम लाइफकै ४ वर्षको अगाडिको अवस्था हेर्ने हो भने पनि हामी ९ नम्बरको कम्पनी थियौं । कर्मचारीको तलबबाहेक हरेक इण्डीकेटरमा पछाडि थियौं । तर, आज हामी साइजेबल कम्पनी बनेका छौ । लाइभ फण्ड नै १ हजार करोडको हाराहारीमा पुगिसकेको छ । ४–५ नम्बरमा आइसकेका छौ । सञ्जालको हिसाबमा एकनम्बर छौ ।