काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)बीच सोमबार उनकै निवास खुमलटारमा भेटवार्ता भएको छ । 

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको निवासमा भएको विस्फोट गराएको विषयमा जानकरी गराएको छ । 

भेटवार्तामा महासंघका उपाध्यक्षर वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । 

सो अवसरमा वरिष्ठ उपाधक्ष्य गोल्छाले अहिले व्यवसाय गर्ने वातावरण बिग्रिदै गएको बताए । लगानी सम्मेलन नजिकिंदै गरेको अवस्थामा देशका घटिरहेको विभिन्न किसिमका घटनाहरुले व्यावसायिहरु त्रसित भइरहेको वरिष्ठ उपाध्यक्षले जानकारी गराए ।

सोही अवसरमा महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले वैदेशिक रोजगार व्यवसाय सुरक्षाको प्रत्याभूति नभएका कारण संचालनमा कठिनाई भइरहेको जानकारी गराए । 

सो भेटवार्ताका क्रममा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङले घटनाबारे विस्तृत जानकारी गराउनुहुँदै व्यवसाय संचालमा समस्या भइरहेको बताए । प्रतिनिधि मण्डलले व्यवसायिक वातावरणमा सुधार हुनुपर्ने, वैदेशिक रोजगार व्यवसाय मर्यादित बनाउन सरकारले सुरक्षा प्रदान गर्नुपर्ने लगायतका विषयमा जोड दिइयो । 

सो अवसरमा भूतपूर्व प्रधानमन्त्री दाहालले नेपाल सरकार र आफ्नो व्यक्तिगत तर्फबाट समेत समस्याको विषयमा संबोधन गर्ने प्रयास भइरहेको जानकारी दिए ।

सरकार व्यवसायीहरुको सुरक्षा निमित्त सदैव संवेदनशील रहेको बताउँदै व्यवसायीहरूको नोक्सानीको क्षतिपूर्ती दिलाउनका लागि सरकार संग छलफल गर्ने आश्वासन दिए ।