काठमाण्डौ । पूर्णिमा विकास बैंकलाई प्राप्तिको सम्झौता गरिसकेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक अन्य संस्थालाई समेत एक्वायर गरेर राष्ट्रिय स्तरको बलियो विकास बैंक बन्ने अभियानमा जुटेको छ । 

यही क्रममा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भार्गव विकास बैंकलाई प्राप्तिको सम्झौता गरेको छ । 

समझदारी पत्रमा शाइन रेसुङ्गाका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र भार्गवका अध्यक्ष डम्बरबहादुर थापाले हस्ताक्षर गरेका छन्। 

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा १० जिल्ले बैंक हो । यसको कार्यक्षेत्र रुपन्देही, अर्घाखाँची, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ, प्यूठान, बाग्लुङ र चितवन लगायतमा बिस्तार भइसकेको छ । 

बाँकेको नेपालगञ्जमा मुख्य कार्यालय रहेको भार्गव विकास बैंक भने तीन जिल्ले विकास बैंक हो ।  बैंकका बाँके, बर्दिया र दाङमा शाखा छन्। 

भार्गवलाई प्राप्ति गरेपछि बन्ने बैंकको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक नै हुने समझदारीपत्रमा उल्लेख छ। 

एक्वीजिसनपछिपछि सञ्चालक समितीको अध्यक्षमा हाल शाइन रेसुङ्गाका अध्यक्ष श्रेष्ठले नै निरन्तरता पाउने छन् भने प्रमुख कार्यकारी अधिकृतमा पनि शाइन रेसुङ्गाका प्रकाश पौडेल नै रहनेछन् । भार्गवका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी एकीकृत संस्थाको नायव कार्यकारी प्रमुख हुने छन्।

डिडिए रिपोर्टका आधारमा निस्किने सेयर स्वाप रेसियोलाई मानेर अगाडि बढ्ने दुवै बैंकबीच सहमति भएको छ । 

यसअघि शाइन रेसुङ्गाले पूर्णिमा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सहमति गरेको थियो। उनीहरुलाई राष्ट्र बैंकले बैशाख १६ गते नै सैद्धान्तिक सहमति दिइसकेको छ। 

हाल शाइन रेसुंगाको चुक्तापूँजी १ अर्ब ६२ करोड रुपैयाँ छ । पूर्णिमाको ५५ करोड छ भने भार्गव विकास बैंकको ५० करोड रुपैयाँ रहेको छ । तीनवटै कम्पनी मर्ज भएर बन्ने एकीकृत संस्थाको चुक्तापूँजी तीन अर्बको हाराहारीमा पुग्नेछ । 

यस्तै, तीनवटै बैंक गाभिएपछि बन्ने बैंकको शाखा सञ्जाल संख्या ६८ पुग्नेछ भने वासलातको आकार ५० अर्बको हाराहारीमा पुग्नेछ ।