काठमाण्डौ । इन्फिनिटी लघुवित्तको आइपीओ आगामी बुधबार बाँडफाँड हुने भएको छ । 

निश्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमीटेडका मर्चेन्ट बैंकिङ हेड विनोद आचार्यले बुधबार बिहान बाँडफाँड गर्ने गरी तयारी अगाडि बढेको बताए । 

उनका अनुसार सो दिन सिभिल क्यापिटलको सुन्धारास्थित सिटीसी मलस्थित मुख्य कार्यालय परिसरमा एक समारोहका बीच इन्फिनिटी लघुवित्तको आइपीओ बाँडफाँड गरिनेछ । 

यो कम्पनीले जेठ १३ गतेदेखि १६ गतेसम्म आवेदन दिन मिल्ने गरी आइपीओ निश्कासन गरेको थियो । 

यो लघुवित्तको आइपीओमा मागभन्दा ११ गुणा बढी आवेदन परेको छ । आइपीओमा ३ लाख ३० हजार भन्दा बढीले ६७ लाख १० हजार ८०० भन्दा बढी कित्ता खरीदका लागि आवेदन दिएका छन् ।

यो कम्पनीले कुल ६ लाख ७४ हजार ३०० कित्ता आइपीओ निश्कासन गरेको हो । जसमध्ये ३३ हजार ७०० म्युचुअल फण्डका लागि १० हजार ३७० कित्ता कम्पनीको कर्मचारीका लागि छुट्याइएको छ । बाँकी कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको हो । 

अधिकांश लघुवित्त संस्थाहरुको आइपीओमा अचाक्ली आवेदन पर्ने गरेको छ । परेका आवेदनमध्येबाट १० कित्ताको दरले गोलाप्रथामा भाग्यमानी प्रमाणित हुनेले मात्र सेयर पाउनेछन्।

आइपीओपछि कम्पनीको चुक्तापूँजी बढेर २० करोड ७० लाखको उचाईमा पुग्नेछ ।