काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि २२ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ८० करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो ।

अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा १३.३४ प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिमा बैंकले २ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा २ अर्ब १८ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । यसले बैंकको व्यवसाय विस्तार आक्रामक रहेको देखाउँछ ।

अघिल्लो वर्षका तुलनामा बैंकको सञ्चालन मुनाफा ४६ करोड ३३ रुपैयाँले बढेर ३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । बैंकको अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन मुनाफा ३ अर्ब १ करोड रुपैयाँ थियो ।
बैंकले रिजर्बको आकार १४.६७ ले बढाएको छ । अघिल्लो वर्ष ४ अर्ब ५१ करोड रुपैयाँ रिजर्बको आकारलाई बढाएर बैंकले ५ अर्ब १७ करोड रुपैयाँ पुर्याएको हो ।

अघिल्लो वर्ष १ अर्ब ४० करोड रुपैयाँ रिटेन अर्निङ रहेको बैंकको समीक्षा अवधिमा बढेर १ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । बैंकले रिटेन अर्निङतर्फ २८.५४ प्रतिशतले वृद्धि गरेको हो ।

समीक्षा अवधिमा बैंकले ७५ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ११ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ६७ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ५६ करोड ऋण प्रवाह गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी ३१.१५ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.१५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ०.१८ प्रतिशत रहेको थियो । बैंकको खराब कर्जामा ०.०३ प्रतिशतले घटेको छ ।

बैंकको क्यापिटल एडेक्वेसी रेसियो १९.९० प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ५.५० प्रतिशत र सीडी रेसियो ७३.१३ प्रतिशत रहेको छ ।

बैंकले समीक्षा अवधिमा आफ्नो आधार दरलाई ७.६३ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १८७.०८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.९० गुणा कायम भएको छ ।