काठमाण्डौ । अधिकांश सूचकमा फड्को मार्दै मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १९ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ ।

समीक्षा अवधिमा बैंकले ५८ करोड ६९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा ८५ करोड ३२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ६२ करोड २८ लाख रुपैयाँ रहेको थियो । बैंकको नाफा ३६.९८ प्रतिशत वृद्धि भएको छ ।

अघिल्लो वर्ष ८९ करोड २४ लाख रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष १ अर्ब २१ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ३१ करोड रुपैयाँमा सीमित खुद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर १ अर्ब ९१ रुपैयाँ करोड पुगेको छ ।

अघिल्लो वर्ष ६२ करोड ८८ लाख रुपैयाँ रहेको रिटेन अर्निङ यो वर्ष बढेर ७५ करोड १५ लाख रुपैयाँ पुगेको छ । बैंंकले अघिल्लो वर्षको तुलनामा ५५.४० प्रतिशतले वृद्धि गर्दै रिजर्बको आकार ६७ करोड २ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष रिजर्बको आकार ४३ करोड १३ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकले ४१ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब ९४ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २७ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २७.८४ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जाको अनुपात ०.०७ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ८.९९ प्रतिशत र आधार दर ११.३६ प्रतिशत रहेको छ ।