काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघमा गठबन्धन निर्माणका खेलहरु भइरहन्छन् । पछिल्लो समय नेतृत्व चयनका लागि विगतमा भएको त्रुटिपूर्ण बिधानलाई संसोधन गर्ने विषयमा समेत गठबन्धनका नयाँ–नयाँ रुपहरु सतहमा आउँदै, हराउँदै गर्न थालेका छन् । 

एफएनसीसीआईमा एउटा समूह पैसाको बलजोडमा त्रुटिपूर्ण विधानलाई संसोधन नै हुन नदिने खेलमा छ भने अर्को समूह भने त्रुटिपूर्ण विधानलाई संसोधन गरी लोकतान्त्रिक ढंगले नेतृत्व चयन हुनुपर्ने विधान निर्माणको पक्षमा छ । पहिलो समूह पैसाको खोलो यसकारण बगाइरहेको छ कि त्रुटिपूर्ण विधान यो वर्षसम्म यथावत राख्न सकियो भने अबको नेतृत्व उसकै पोल्टामा स्वतः जानेछ । 

दोश्रो समूह, यसकारण विधान संसोधनको पक्षमा माहौल बनाइरहेको छ कि जसले महासंघलाई स्वस्थ र लोकतान्त्रिक प्रतिस्पर्धाको अभ्यासमा लैजानेछ र निश्चित समूहको स्वार्थको छायाँमा महासंघको प्रतिष्ठा पर्न दिनेछैन । तर, दोश्रो समूहका कतिपय खेलाडीहरु विवादास्पद पनि छन्, जसका कारण आम मतदातामा नकारात्मक सन्देश जाने हो कि भन्ने खतरा पनि देखिन्छ । 

उसो भए महासंघभित्रको पहिलो र दोश्रो समूह भनेको को हो त ? कुरा प्रष्टै छ, पहिलो समूह हो शेखर गोल्छा नेतृत्वको समूह । दोश्रो समूह हो हालकी अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य चण्डीराज ढकाल लगायतको समूह । 

राष्ट्रिय वाणिज्य बैंकको ऋण लिएर लामो समयसम्म नतिरेपछि बैंक डिफल्टरको रुपमा ढकालको छवि पछिल्लो समय धूमिल छ । यसकारण यो पटकको महासंघको राजनीतिमा उनलाई सकस पर्नसक्छ । तर, यो समूहमा पछिल्लो समय आबद्ध र साथ दिनेहरुको छवि राम्रो छ । 

शेखर गोल्छाको उद्योगी व्यवसायी भन्दा बाहिरको छवि राम्रो छ । तर, उद्योगी व्यवसायी र विशेष गरी महासंघकै मतदातामाझ उनको छवि नराम्रो छ । उनलाई घमण्डी, मतदातालाई नगन्ने, एटिच्यूड देखाउने र सिनियरहरुलाई समेत नगन्ने तथा पूर्ण जातिवादी उद्योगीका नेताको रुपमा धेरैले चिन्दछन् । 
अहिले महासंघभित्र यिनै दुई समूहबीच खेल चरमउत्कर्षमा पुगेको छ । दुवैले विधान संसोधनको विषयलाई प्रतिष्ठाको विषय बनाएर अहिले चलखेल गरिरहेका छन् । घोषित÷अघोषित अभियानहरु संचालन गरिरहेका छन् । 

समीकरणमा ट्वीस्ट
केही दिनअघि महासंघका केही पूवअध्यक्षहरुले विधान संसोधन समितिलाई आफ्नो प्रस्ताव पेश गरे । यसले महासंघभित्र तरंग पैदा गर्यो । चण्डीराज ढकाल नेतृत्वको समूह विधान संसोधनका लागि जोडबल गरिरहेको बेला उनै ढकालको नेतृत्वमा रहेको विधान संसोधन उपसमितिमा पूर्वअध्यक्षहरुले आफ्ना सुझाव पेश गर्दै ढकाल समूहलाई झट्का दिने काम गर्यो । तर पूर्वअध्यक्षहरुको संसोधन प्रस्ताव भने विरोधाभासपूर्ण देखियो । उनीहरुले दिएको सुझावका दुई बुँदामा परस्पर विरोधी प्रस्ताव गरेका छन् । एउटा बुँदामा महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिनुपर्ने सुझाव समेटिएको छ भने अर्को प्रस्तावमा भने अबको अध्यक्ष पुरानै विधानअनुसार चुनेर त्यसपछि मात्र विधान संसोधन गरी प्रत्यक्ष निर्वाचन प्रणाली लागू हुनुपर्ने भनिएको छ । 

हुन त यिनै पूर्वअध्यक्षहरुले पहिलाको विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हुँदै गर्दा पनि सामूहिक रुपमा विज्ञप्ति निकालेर विरोध जनाएका थिए । त्यति मात्र होइन, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गलत भएको भन्दै उनीहरुले आर्मी अफिसर्स क्लबमा आयोजित साधारणसभा नै बहिस्कार गरेका थिए । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था ठीक नभएको निश्कर्षसहित विज्ञप्ति निकालेर विरोध जनाउने र साधारणसभा नै बहिस्कार गर्ने स्तरसम्म पुगेका पूर्वअध्यक्षहरु एकाएक यो इस्यूमा किन र कसरी यूटर्न भए ? भन्ने विषय रहस्यमय बनेको छ । 

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने गरी विधान संसोधन हुँदै गर्दा २०७३ कात्तिकमा पूर्वअध्यक्षहरुले निकालेको विज्ञप्ति । 

पूर्वअध्यक्ष सुरज वैद्य, कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ लगायतले अन्तिम समयमा खेल उल्टाउन गरेको प्रयासलाई महासंघको राजनीतिलाई नजिकबाट बुझेकाहरु ‘सैद्धान्तिक विचलनको नांगो रुप’सम्म भन्न भ्याएका छन् । केही महिनाअघि विधानको त्यही व्यवस्था सर्वथा गलत भन्दै विज्ञप्तिबाजी गर्ने पूर्वअध्यक्षहरुको सिद्धान्त केही महिनापछि नै स्खलित भएको प्रष्टै देखिएको छ ।

पूर्वअध्यक्षहरुलाई यसरी यूटर्न गराउने महत्वपूर्ण भूमिका हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले खेलेका देखिन्छ । उनले आफू जसरी पनि अध्यक्षमा पुग्नैपर्ने योजनासहित पूर्वअध्यक्षहरुलाई आफ्नो वशमा पार्ने सफलता पाएका छन् । तर, महासंघकै पूर्व पदाधिकारीहरुले भने केही पूर्वअध्यक्षहरुले गरेको विधान संसोधनको प्रस्तावले कुनै अर्थ नराख्ने र विधान संसोधनको विषयमा साधारणसभामा पेश हुने देशभरका मतदाताहरुको मत नै निर्णायक हुने प्रष्ट पारेका छन् । 

‘पूर्वअध्यक्षहरु विगत लामो समयदेखि महासंघमा राजनीति, गुटउपगुटको गलत प्रवृति प्रवेश गराउने सूत्रधार हुन् ।’ महासंघका एक पूर्व पदाधिकारीले बिजशालासँग भने–‘पहिला चण्डीराज ढकालकै सहयोगमा चुनाव जितेर अध्यक्ष भएकाहरु पनि अहिले ओरालो लागेका ढकाललाई महासंघबाट बढार्ने योजनामा खुल्ला रुपमै लागेका छन् । घिनलाग्दो राजनीतिले एफएनसिसीआईको बचेखुचेको प्रतिष्ठा पनि सकिने डर भयो ।’ 

आफ्नो विधान संसोधन प्रस्ताव सर्वत्र आलोचित भएपछि पूर्वअध्यक्षहरु विभिन्न फोरमहरुमा आफूहरुले अध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिनुपर्ने बुँदा समेत सुझावको रुपमा पेश गरेको भन्दै पन्छिन खोजिरहेका स्रोतहरु बताउँछ । 

पूर्वअध्यक्षहरुको यो खेलको निशाना विधान संसोधन गरी नेतृत्वमा आउन चाहनेहरुप्रति देखिएको छ । विधान संसोधन भई अध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने अवस्था आए महासंघको नेतृत्वमा भाष्करराज राजकर्णिकार आउन चाहेका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवस्था भए अध्यक्षमा भिड्ने भनेर किशोर प्रधान र उमेश श्रेष्ठ समेत खुट्टा उचालेर बसेका छन् । यो दौडादौडमा हालका अर्का उपाध्यक्ष चन्द्र ढकाल भने जता आफ्नो वरिष्ठ उपाध्यक्ष पद सुरक्षित हुन्छ, त्यतै दौडिने सूरसारमा छन् । 

समीकरणको सरप्राइज
पूर्वअध्यक्षहरुले आफूलाई साथ दिने देखेपछि आफू अब महासंघको अध्यक्ष बन्ने निश्चित ठानेर शेखर गोल्छाले पछिल्लो समय आफ्नै कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई समेत गन्न छाडेका आरोप लागेको छ । विभिन्न फोरमहरुमा उनले आफू अब अध्यक्ष भइहाले भन्ने हिसाबले व्यवहार गर्न थालेपछि उनकै सहकर्मी र सहपाठी पनि रुष्ट बनेका छन् । यसको परिणाम महासंघमा नयाँ समीकरण निर्माण भएको छ । नयाँ समीकरणको निर्माणसँगै शेखर गोल्छा महासंघको पदाधिकारीमा एक्लिएका छन् भने अन्य पदाधिकारी अर्कोतर्फ खडा भएका छन् । 

‘शेखर गोल्छाको एटिच्यूडवाला व्यवहारका कारण हामी रुष्ट छौ, उनी सामाजिक व्यवहारिक छैनन् र अरुलाई गन्दैनन् । जिल्लाका उद्योगी व्यवसायीलाई त उनले भरसक रेसपोन्स नै गर्दैनन्, भेटिहाले पनि दासजस्तो व्यवहार गर्छन ।’ महासंघकै एक पदाधिकारी भन्छन्–‘उनकै कारण महासंघमा नयाँ समीकरण बनेको छ, जुन उनका लागि ठूलो चुनौति बनेर खडा हुनेवाला छ ।’ 

कस्तो बन्यो समीकरण ?
महासंघमा विधान संसोधनको पक्षमा रहेका विशिष्ट सदस्य चण्डीराज ढकाल, अध्यक्ष भवानी राणा लगायतको समूहमा अन्य पदाधिकारी पनि थपिएका छन् । विधान संसोधनको विषय चण्डीराज ढकालको मात्र स्वार्थको विषय भन्ने भ्रम फैलाइएपछि र चण्डीलाई टार्गेट गरी गोल्छा समूहले राजनीति गर्न थालेपछि यो भ्रमलाई हटाउने अभियानमा अन्य पदाधिकारी पनि लागेका छन् । 

उच्च स्रोतका अनुसार ढकाल र राणाको समूहमा पछिल्लो समय उपाध्यक्ष चन्द्र ढकाल समेत मिसिएका छन् । अर्का उपाध्यक्ष उमेश श्रेष्ठ समेत यही समूहमा आएका छन् । किशोरकुमार प्रधान समेत यही समूहमा छन् । यसरी महासंघका मुख्य ५ पदाधिकारीमध्ये ४ जना विधान संसोधनको पक्षमा देखिएका छन् भने एकजना अर्थात वरिष्ठ उपाध्यक्ष गोल्छा मात्र विधान यथावत राख्नुपर्ने र आफू स्वतः अध्यक्ष हुने बाटो सुनिश्चित गर्ने दौडमा लागेका देखिएको छ ।

अब के हुन्छ ? 
महासंघमा भित्रभित्रै बनेको नयाँ समीकरणले गोल्छा समूहलाई झट्का त लाग्छ नै गोल्छा बाहेकका पदाधिकारीले विधान संसोधनको विषयमा आफ्नो एकमत रहेको सन्देश दिन बुधबार(आज) साँझ ५ बजे कार्यक्रम समेत राखेका छन् । काठमाण्डौको त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा गोल्छा बाहेकका पदाधिकारीले एउटै मञ्चबाट विधान संसोधनको पक्षमा आफ्नो साझा धारणा सार्वजनिक गर्नेछन् । 

‘विधान संसोधनको मुद्धा चण्डीराज वा अरु कसैको व्यक्तिगत मुद्धा मात्र होइन, यो हाम्रो साझा मुद्धा हो भन्ने सन्देश हामी दिन चाहन्छौ ।’ एक स्रोतले भन्यो–‘यो कार्यक्रमसँगै अब आगामी नेतृत्वका लागि हाम्रो महाअभियानको थालनी हुनेछ ।’ 

यो कार्यक्रममा अबका महासंघमा अध्यक्षका आकांक्षीहरुको समेत सहभागिता रहनेछ । भाष्करराज राजकर्णिकारलाई पनि यो कार्यक्रममा निमन्त्रणा गरिएको महासंघका एक पदाधिकारीले बताएका छन् । ‘महासंघमा अहिले बोल्नसक्ने, सरकारसँग आफ्नो कुरा प्रष्ट राख्नसक्ने ड्यासिङ दिनसक्ने व्यक्तित्व अध्यक्ष बन्नुपर्ने आवश्यकता छ ।’ ती पदाधिकारीले अझै खुलेर भने–‘त्यसका लागि तत्काल भाष्करजत्तिको उपयुक्त उम्मेद्वार अर्को देखिन्न । तर, उनी नै अध्यक्षमा जानुपर्छ भन्ने पक्षमा हामी छैनौ । हाम्रो समीकरणमा रहेकाहरुले साझा र सामूहिक रुपमा जे निर्णय गर्छन्, त्यो कुरा हामीले मान्ने सहमति गरेका छौ ।’ 

ती पदाधिकारीका अनुसार महासंघ छाडेर चेम्बरतर्फ लागेका भाष्करराज राजकर्णिकारलाई यसकारण पनि बोलाइएको छ कि, विधान संसोधनकै कारण भाष्कर महासंघबाट बाहिरिएका थिए । भाष्करले विधान संसोधन गरिनुुहुन्न र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था राखिनुहुन्न भन्ने विषयमा लामै बहसपैरवी गरेका थिए । तर, त्यसबेला उनी सफल बन्न सकेनन् ।