काठमाण्डौ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान बनाएर आफूहरुले उद्योग वाणिज्य महासंघमा ‘राजाको जेठा छोरा’लाई जन्म दिने काम गरेको महासंघकै पदाधिकारीहरुले बताएका छन् । 

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बाहेकका मुख्य पदाधिकारीहरुले बुधबार साँझ पत्रकार सम्मेलन गरी तीन वर्षअघि विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेकोमा आफूहरुलाई ग्लानी महसुस भएको बताएका हुन् । 

सो बेला विधान संसोधनको पक्षमा खुलेरै लागेकाहरुले तीन वर्षपछि आफूहरुले गल्ती गरेको सार्वजनिक र सामूहिक रुपमा स्वीकार गरेका हुन् ।

उनीहरुको यो स्वीकारोक्ति र त्रुटिपूर्ण विधान संसाधेन हुनुपर्ने स्पष्टोक्तिले निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन उद्योग वाणिज्य महासंघमा तरंग पैदा गरिदिएको छ । 

बुधबारको पत्रकार सम्मेलन दशैंतिहार तथा छैठको शुभकामना आदानप्रदान गर्न बोलाइए पनि त्योसँगै विधान संसोधनको विषयमा धारणा सार्वजनिक गर्ने विषयलाई पनि जोडिएको थियो । 

सम्मेलनमा आफ्नो धारणा सार्वजनिक गर्दै उपाध्यक्ष उमेशलाल श्रेष्ठले आफूहरुले राजाको जेठा छोरालाई जन्म दिएको उल्लेख गर्दै शेखर गोल्छाप्रति कटाक्ष हाने । हाल महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा रहेका छन् । अहिलेको विधान संसोधन नहुने हो भने उनी स्वतः आगामी अध्यक्ष बन्नेछन् । तर, यो व्यवस्था राजाको छोरा नै राजा हुनेजस्तो रहेको र यो त्रुटिपूर्ण भएको श्रेष्ठको तर्क थियो । उनले शेखर गोल्छाको एकांकी स्वभाव, जिल्ला तथा नगरका मतदातालाई नगन्ने, फोन नउठाइदिने, भेट्न मन नपराउने, भेटिहाले पनि दासजस्तो व्यवहार गर्ने प्रवृतिप्रति समेत केन्द्रीत देखिन्थ्यो । 

उनले महासंघको प्रतिष्ठा, ओज र प्रभावलाई बलियो बनाउन समेत अहिलेको विधान संसोधन हुनुपर्ने भन्दै आगामी कात्तिक २९ गते हुने साधारणसभामा विधान संसोधनको प्रस्ताव पारित हुने दाबी गरे । जिल्ला तथा नगरकै बहुसंख्यक मतदाताबाट हालको त्रुटिपूर्ण विधान संसोधनको विषयमा लगातार दवाब परेपछि गत साधारणसभाले नै विधान संसोधनका लागि विशिष्ट सदस्य चण्डीराज ढकालको अध्यक्षमा समिति बनाएको थियो । सो समितिमा सुझावहरु आउने क्रम जारी छ । जिल्ला र नगरबाट आएका सुझावमध्ये ९० प्रतिशत भन्दा बढीले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था खारेज गरी महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने व्यवस्था हुनुपर्ने राय दिएका समितिका एक सदस्यले जानकारी दिए । सुझावहरु अझै आइरहेका र ती सुझावसहितको विधान संसोधनको प्रस्ताव कात्तिक २९ गते हुने साधारणसभामा पेश हुने बताइएको छ । 

पत्रकार सम्मेलनमा एशोसिएट उपाध्यक्ष चन्द्र ढकाल, जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानको समेत उपस्थिति रहेको थियो । विशिष्ट सदस्य चण्डीराज ढकाल, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार समेत पत्रकार सम्मेलनमा उपस्थित थिए । राजकर्णिकार ड्यासमै थिए भने ढकाल पत्रकारतर्फको सिटमा बसेका थिए । 

सो क्रममा पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले विधान संसोधनको सान्दर्भिकताको विषयमा प्रकाश पारेका थिए । उनले आफूले तीन वर्षअघि नै पनि विधान संसोधन हुँदै गर्दा यो सही नभएको बताएको, तर सो बेला आफ्ना कुरा नसुनिएको भन्दै अब विगतको त्रुटिलाई सच्याएर अगाडि बढ्दा नै महासंघको सर्वोपरि हित हुने जानकारी दिए । पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले भनेका थिए–‘विधान संसोधनको प्रस्ताव कुनै व्यक्तिप्रति लक्षित छैन । संस्था पहिला आउँछ, व्यक्ति गौण हुन्छ । महासंघलाई बलियो बनाउन समेत विधान संसोधन हुन आवश्यक छ ।’

उनले पूर्वअध्यक्षहरुले विधान संसोधन गर्न हुँदैन भनी लिखित रुपमा सुझाव दिएको भन्दै भ्रम फैलाइएको, बरु उनीहरुले दिएको सुझावमा पनि महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत हुनुपर्ने सुझाव समेटिएको उल्लेख गरे । 'यो इस्यूमा पूर्वअध्यक्षहरुको समेत साथ छ ।' उनले थपे-' किनभने तीन वर्षअघि विधान संसोधन गरी गलत व्यवस्था हुँदै गर्दा उहाँहरुले विरोध गर्नुभएको थियो । त्यसबेला यो गलत भयो भनेर उहाँहरुले विशेष साधारणसभा नै बहिस्कार गर्नुपरेको थियो । उहाँहरु अडान छाडेर सैद्धान्तिक रुपमा स्खलित हुने व्यक्तिहरु हुनुहुन्न ।'

एशोसिएसट उपाध्यक्ष चन्द्र ढकालले जिल्ला तथा नगरबाट विधान संसोधनका लागि सुझावहरु आइरहेका उल्लेख गर्दै ती सबै साधारणसभामा पेश हुने र यसपटक विधान संसोधनको माहौल देखिएको बताए । 

जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले महासंघको सुखद भविष्यका लागि समेत विधान संसोधन हुन आवश्यक रहेको र विधान संसोधनका ३५ बुँदा प्रस्तावको रुपमा साधारणसभामा लगिने र तीमध्ये एउटा बुँदामा मात्र सबैको ध्यान गएको बताए । उनले ९० प्रतिशतभन्दा बढी जिल्ला नगरबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अन्त हुने गरी विधान संसोधन हुनुपर्ने प्रस्ताव आएको दाबी गरे । 

महासंघ अध्यक्षको कार्यकाल ३ वर्षबाट घटाएर २ वर्षमा सीमित गर्ने प्रस्ताव समेत साधारणसभामा लगिँदैछ ।

यो कार्यक्रमको एकदिनअघि महासंघ अध्यक्ष भवानी राणा समेत ड्यासमै रही सहभागी हुने बताइएको थियो । तर, उनी भने पत्रकार सम्मेलन अवधिभर त्यहाँ देखिइनन् । पत्रकार सम्मेलन सकिएको केही मिनेटमै उनी कार्यक्रम हलमा पुगेकी थिइन् । यसले समेत उनको समेत विधान संसोधनको प्रस्तावमा मौन समर्थन छ भन्ने देखिएको छ । 

कार्यक्रममा केही प्रदेश संघ अध्यक्ष, केही नगर तथा जिल्लाका अध्यक्ष, केही कार्यसमिति सदस्यहरु लगायतको समेत सहभागिता थियो । 

कार्यक्रममा भेटिएका अधिकांश प्रदेश, नगर तथा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यहरुले यसपटक विधान संसोधनको माहौल बनेको र यस्तो माहौल जिल्ला तथा नगरबाट आएको उल्लेख गर्दै अब महासंघ बलियो हुने दाबी गरे । उनीहरुले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था निरकुंशतालाई जन्म दिने र प्रतिस्पर्धा गर्न पाउने हकबाट धेरैलाई बञ्चित गर्ने भएकोले समेत यो संसोधन भएरै छाड्ने उद्घोष समेत गरे ।