– प्रकाश बन्जारा

यूएई । कुनै दिन फियोना डे आफ्नो साथीलाई अपार्टमेन्टको डिजाइन खोज्न पसलमा गइन् तर उनको दिमागले अचानक गेस्टहाउसको डिजाइन तयार गर्यो । यदि कम सयममै एउटा सुन्दर गेस्टहाउसको नमुना तयार हुन्छ भने किन नगर्ने ? आखिर हरेक निर्माणको पहिलो स्टेप त सपना नै हो । जबसम्म मान्छेले सपना देख्दैन तबसम्म केही गर्न सक्दैन ।

फियोनाले सपना देखेको चार महिनामा नेपालको राजधानी काठमाण्डौमा गेस्टहाउस तयार भयो । गेस्टहाउस सानो ६ वटा बेडरुमको मात्रै छ तर नेपाललाई विश्वका धेरै देश चिनाएको रहेछ । कोलाहल राजधानीमा आरामदायी गेस्टहाउस खोज्नेका लागि निकै राम्रो रहेछ।

हुन त फियोना इंग्ल्यान्डकी नागरिक हुन् । उनको नेपाल माया देखेर बिजशालाले उनको कथा हाम्रा पाठकमाझ ल्याउने जमर्को गरेको छ।

एक विदेशी महिला त्यसमा पनि एकल । उनको नेपालप्रतिको माया र नेपालीका लागि सहयोगी भावना देख्दा जोकोही पनि अचम्मित हुन्छन्। 

आफ्नो २० वर्षे छोरालाई इंग्ल्यान्डको कलेजमा पढाइरहेकी फियाना आफ्नी १२ बर्षे छोरीसँग दुबईमा भेटिइन् । बिजशालाको आग्रहलाई स्वीकारेपछि हामी उनलाई भेट्न दुबईको इमिरेट्स हिलस्थित स्प्रिङ कम्युनिटीमै गयौँ । हामीसँगको भेटमा फियोनाले आफ्नो नेपाल अनुभव खुलेर साटिन्।

इंग्ल्यान्डकै पोलिस अफिसरका रुपमा काम गरेकी फियोनाले सन् २०११ मा नेपाल भ्रमण गरेकी रहिछन् । त्यसपछि खोइ कुन कुराले उनको मन तान्यो । नेपाल उनको मुटुमै गढ्न पुगेछ अनि नेपाली साथीहरु बनाएर बारम्बार नेपाल घुम्न थालिछिन्।

नेपालमा रहेका चाइल्ड रेस्क्यु नेपाल, एनिमल मेडिकल क्लिनिक र ब्लेसेड होप नेपालमा प्रत्यक्ष आबद्घ फियोनाका नेपाल र नेपालीप्रति प्रशस्त माया र स्नेह रहेछ । सेवा गर्नु फियोनाका लागि प्यासन नै रहेछ। उनी भन्छिन्, ‘हामी सबैले सहयोगी भावना राख्नुपर्छ एकअर्कामा र विश्वमै सहयोग गर्नुपर्छ।’

नेपालका बारेमा थुप्रै जानकारी भए पनि प्रक्रिया र पोलिसीका बारेमा भित्री ज्ञान नभएको बताउने फियोनाको नेपालमा भएको भएको गेस्टहाउसको नाम अमोरगेस्ट हाउस हो । उनलाई नेपालको बिजनेस पोलिसीबारे त्यत्ति धेरै जानकारी नभए पनि नेपालीका बारेमा थुप्रै जानकारी छ । नेपालीहरु कस्ता छन् , के मन पराउँछन् जस्ता कुरामा फियोनाको दख्खल निकै रहेछ।

चार महिनाको कडा परिश्रमपछि फियोनाको अमोर गेस्टहाउस तयार भएको रहेछ । गेस्टहाउस तयार भएदेखि हरेक ६ हप्तामा नेपाल जाने र दुबई आउने गरेकी फियोना हरेक पटक नेपालबाट उड्दा रुने गरेको सुनाउँछिन् । नेपालको तुलनामा दुबईमा व्यापार सुरु गर्न झन्झटिलो र गाह्रो हुने उनको भोगाइले भन्छ । यहाँ धेरै पेपरवर्क र प्रक्रिया छन् तर यहाँको तुलनामा नेपालमा व्यापार गर्न धेरै सजिलो रहेको उनको बुझाइ छ।

नेपाल सरकारले भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरिरहँदा फोहोरमैलाको व्यवस्थापन तथा धुँवाधुलोको रोकथाम नभएको कुरो निकालिन पर्यटकहरु नेपालमा माक्स लगाउनका लागि नजाने पनि फियोनाको छेडखान थियो। पछिल्लो समयमा अन्तर्राष्ट्रिय विमानस्थलको स्तर केही मात्रामा उकासिएको भए पनि प्रक्रियाहरु भmन्झटिलो भएको उनको अनुभव छ।

धेरैभन्दा धेरै पर्यटकलाई आकर्षित गर्न पहिलो विमानस्थलको स्तरोन्नति गरिनुपर्ने तथा पर्यटकको भिसा शुल्कमा समेत महँगाइ गर्न नहुने फियोनाको सुझाव छ। एकपटक त उनी विमानस्थलमा लाइनमा हँुदा अचानक काउन्टरका कर्मचारी खाना खान गएको र उनी खाना खाएर आउन्जेलसम्म लाइनै कुर्नुपरेको तितो अनुभवसमेत फियोनाको रहेछ। त्यसको सुधार गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन पक्ष के गर्दैछ त्यो सोध्नै बाँकी छ। 

नेपालसँग कसरी नाता गासिएको रहेछ त यी ब्रिटिस हसिनाको ? हामीले जान्ने कोसिस गर्यौं । “नेपालसँग सुन्दर मन भएका सुन्दर हृदय भएका नेपाली छन् त्यसैले मेरो मनलाई नेपालले तान्यो । मलार्ई नेपाल मन पर्नुको कारण पनि त्यही हो”, फियोना भन्छिन्।

नेपाल विकसित हुन के गर्नुपर्छ बिजशालाको प्रश्नमा फियोनाको पहिलो उत्तर “सरकार” थियो। युवापुस्तालाई लिडरसिपमा ल्याएर अगाडि ल्याउनुका साथै चेतनामूलक शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गनुपर्ने उनी बताँछिन्। प्रदूषण, रोड, पुरानो काम गर्ने शैलीजस्ता कुराहरु फेरिनुपर्नेमा उनी बारबार जोड दिइरहिन् । “जब विकासको कुरा आउँछ, त्यहाँ धेरै सुन्दर हस्तशिल्पहरू, प्रतिभाशाली व्यक्तिहरू, अचम्मका संगीतकारहरू र कलाविदहरू छन्’, उनी भन्छिन्, ‘संसारलाई नेपालका बारेमा अझ बढी जान्नु आवश्यक छ र उनीहरूको प्रतिभा विश्वमा हुनुपर्दछ । यो गाह्रो छ यदि देशले कुशल र प्रभावकारी रूपमा काम गर्न सक्दैन।’

सरकारले जनतासँग नजिकको सम्बन्ध राख्न आवश्यक रहेको फियोना सुनाउँछिन् । ‘मानिसहरूलाई उनीहरूले आफ्नो सरकारमा विश्वास गर्न सक्ने महसुस गर्न आवश्यक छ । सँगै काम गर्दा नेपाल नाटकीय परिवर्तन हुनेछ”, फियोनाले भनिन्।

फियोनाले बताइन् कि उनी नेपाललाई कसरी सहयोग गर्न चाहान्छन् भन्नेमा धेरै सपना छन् । ‘विकासको कुरा गर्दा विश्वलाई चकित पार्ने सुन्दर हेन्डिक्राफ्टहरु नेपालमा छन्, त्यसलाई विश्वमा चिनाउनुपर्छ’, उनी भन्छिन्, ‘त्यहाँ पैसा धेरै छ, साथसाथै नेपालको संगीत पनि विश्वमा चर्चित भइरहेको छ।’

नेपालमा कारोबार निकै गाह्रो रहेको अनुभव पनि फियोनाले सुनाइन्। ‘किनकि त्यहाँ धेरै चाडहरू छन् र थुप्रै पसलहरू र व्यवसायहरू अक्सर बन्द हुन्छन्’, उनी भन्छिन्, ‘त्यहाँ एक प्रणाली हुनु आवश्यक छ, जहाँ देशले बाँकी विश्वलाई आपूर्ति गर्न कार्य घन्टा निरन्तरता दिन्छ। वर्षको धेरै दिन बिदा हुनु नेपालको अर्थतन्त्रका लागि राम्रो छैन। परिवर्तन गर्नु आवश्यक छ। त्यसैले देशका सबै लाभान्वित हुनेछन् र नेपाल पहिलो नम्बरमा हुनेछ।’

फियोनासँग नेपालको विकासका लागि कसरी सहयोग गर्ने भन्ने निकै ठूलो योजना रहेछ। आगामी डिसेम्बरमा दुबईमा नमस्ते नाम दिएर नेपाली हस्तकलाको पसल खोल्न लागेकी फियोनाको अर्को योजना भनेको काठमाण्डौमा भेजिटेरियन रेस्टुरेन्ट खोल्ने रहेछ। जहाँ काठमाण्डौको सडकमा रहेका बेवारिसे कुकुरहरुको हेरचाह गर्नेहरुलाई रोजगार दिने उनको योजनासमेत सार्वजनिक भयो। फियोनामा जनावरप्रतिको प्रगाढ माया पनि थाहा भयो । हामीसँगको बसाइमा उनले आफ्नो काठमाण्डौमा रहेको कुकुर लेक्सीलाई समेत सम्झन पुगिन्।

फियोना १० वर्षदेखि एकल महिलाका रुपमा छिन् । आफ्नो एकल पहलबाटै यहाँसम्म आएको बताउने यी हसिना नेपाली धेरै महिलाका लागि उदाहरणकी पात्र हुन् सक्छिन् । महिला सशक्तीकरणमा जोड दिने फियोना अहिले ४३ वर्षकी भइन् । उनलाई हौसला दिने पात्र कोही थिएन । आफैँ जीवनको बाटो पहिल्याउँदै हिँडेकी छन्। 

फियोना भित्रका कयौँ पिडाका बाबजुद पनि हँसिली थिइन् र मुस्कुराइरहन्छिन् । ‘खुसी रहनुपर्छ जीवनमा । मनलाई जस्तो कुरामा ढाल्यो त्यस्तै हुन्छ’, फियोना भन्छिन्, ‘सबैलाई सकारात्मक सोचाइ राखेर अगाडि बढ्न सल्लाह दिन्छु।’

फियोनाको दैनिकी पनि त्यस्तै रहेछ। पीडा त कसलाई नहोला र जिन्दगीमा । तर खुसी हुन सिक्नुपर्छ । दुबईको महँगो सहरमा एक्लो जीवन नै निकै गाह्रो हुन्छ । त्यहाँ माथि कलेज पढ्दै गरेको छोरोलाई पनि हेर्नुछ। उता आफूसँगै भएकी छोरीको ख्याल राख्नुपर्छ। समाजसेवा उनको रहर हो।

दुबईमा १० वर्षदेखि लाइफकोचका रुपमा काम गर्दिरहिछिन् फियोना। उनी आफ्ना क्लाइन्टलाई जीवन जिउन सिकाउँछिन्, फिलान्सरका रुपमा।

वास्तवमा हामी नेपाली कमाइको पहिलो प्राथमिकता घरमा दिन्छौँ तर फियोनाको सुझावले त्यसो भन्दैन । नेपालका धेरै वस्तु र उत्पादनले विश्व बजार देख्न बाँकी छ । फेरि उनको भनाइमा व्यापार सुरु गर्न कता हो कता करोडौँ पनि त चाहिँदैन । हरेक ठूलो सफलताको पहिलो पाइला त सानै हुन्छ । सानोबाट लगानी सुरु गरेर आफ्नो व्यापारलाई बढाउन सकिन्छ।

फियोनाको अमोर गेस्टहाउस बन्दै गर्दा उनीसँग त्यत्रो पैसा छँदै थिएन। तर इच्छाशक्ति प्रशस्त थियो । त्यसैबाट तयार भयो एउटा नमुना। 

यूएई तथा विश्वमा रहेका नेपालीका लागि फियोनाको सुझाव के छ त हामीले जान्ने प्रयास गर्यौं । “कडा परिश्रम त छँदैछ साथसाथै जे गर्दै हुनुहुन्छ त्यही गर्दै गर्नुहोस, आफूलाई विश्वास गर्नुहोस्’, उनी भन्छिन्, ‘परिवारका लागि वर्षौंवर्ष विदेशमै बस्नुपर्दैन । नेपालमा धेरै माध्यमहरु छन् । जसबाट सानो लगानीमा व्यापार सुरु गर्न सकिन्छ । त्यहाँ तपाइँको विश्वास र उपस्थितिको मात्र जरुरी हुन्छ।”

कुनै कामको सुरुवात गर्दैगर्दा अरुको कुरा सुन्न नहुने फियोनाको अनुभव छ । ‘समाजमा राम्रो नराम्रा दुवै खाले मान्छे बस्छन् । यदि नकारात्मक धारणाका मान्छे तपाइँको नजिक छन् भने उनीहरुबाट टाढै रहँदा राम्रो हुन्छ’, उनी भन्छिन्।

नेपाल धेरै राम्रो देश रहेको फियोना दोहोर्याउँछिन् । ‘ म नेपाललाई सधैँ माया गरिरहन्छु । मेरो नमस्ते पसल पहिलो पाइलामात्रै हो । त्यसपछि एउटा अर्को मलमा यस्तै सानो पसल खोल्न चाहन्छु’, उनी योजना सुनाउँछिन्, ‘म चाहन्न कि मसँग महँगो कार होस । ठूलो घर होस् । जबसम्म मैले मेरो साधारण खर्च धान्न सकिरहन्छु तबसम्म नेपालीका लागि उत्प्रेरणाको काम गरिरहन्छु।’

‘सपना ठूलो देख्नुपर्छ । अवश्य सफल बन्न सकिन्छ । म विश्वास गर्छु कि म एकल महिला भए पनि आफूलाई विश्वास गर्छु’, फियोना भन्छिन्, ‘नेपालमा थुप्रै एकल आमाहरु छन् । जो म गर्न सक्दिनँ भनेर हार मान्छन् । तर आफँैमा विश्वास गर्यो भयो जे पनि गर्न सकिन्छ । हरेक मान्छेले आफ्ना लागि र देशका लागि योगदान गर्न सक्छ । त्यसको लागि आफूमा विश्वास गर्नुपर्छ।’

फियोनासँगको कथाले धेरैलाई देशका बारेमा सोच्न र सकारात्मक सोचाइ राख्न सहयोग मिल्ने हामीले आशा लिएका छौँ । एउटी एक्ली महिला त्यो पनि अर्काको ठाउँबाट आएर नेपालमा धेरै थोक छ । नेपालीले धेरै गर्न सक्छन्। मात्र सकारात्मक धारणाको विकास गर्नुपर्छ भनेर भनिरहँदा हरकोहीलाई एकपल्ट आफ्ना बारेमा सोच्न बाध्य तुल्याँउछ। सकारात्मकताको विकास गर्ने यी नारीको सोचले सार्थकता पाओस् । त्यही शुभकामना  छ।