काठमाण्डौ । चीनको तिब्बतस्थित कैलाश मानसरोवर जानका लागि भारतीय पर्यटकलाई रकम बढाएसँगै नेपाली पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।

नेपालको हुम्ला–सिमिकोट र रसुवाको केरुङ र ल्हात्सा हुँदै कैलाशयात्राका लागि जाने भारतीय पर्यटकलाई चीनको फरएन एक्सचेन्ज सेन्टरले एक्कासि रकम बढाएपछि नेपाली व्यवसायी चिन्तित बनेका हुन् । उक्त सेन्टरले भारतीय पर्यटकलाई प्रतिव्यक्ति ७८० अमेरिकी डलर एकैपटक बढाएको छ । अन्य देशका पर्यटकका लागि भने रकम बढाइएको छैन ।

व्यवसायका लागि शुरुमा नै एक लाख अमेरिकी डलर धरौटी राख्नुपर्ने व्यवस्थासमेत गरेको छ । विदेशमा धरौटी राख्ने काम नेपालको कानूनले दिएको छैन । नेपालका पर्यटन व्यवसायीले हाल भारतीय पर्यटकलाई केरुङको बाटो हुँदै कैलाश पठाउँदा एक लाख ३० हजार भारतीय रुपैँया, ल्हात्साको बाटो हुँदै कैलाश पठाउँदा दुई लाख ३० हजार भारतीय रुपैँया र हुम्ला–सिमिकोट हुँदै कैलाश पठाउँदा एक लाख ७० हजार भारतीय रुपैँया लिँदै आएका थिए ।

चीनको फरएन एक्सचेन्ज सेन्टरले कैलाश जानका लागि रकम बढाएसँगै केरुङको बाटो हुँदै कैलाश पठाउँदा एक लाख ८५ हजार भारतीय रुपैँया, ल्हात्साको बाटो हुँदै कैलाश पठाउँदा तीन लाख १० हजार भारतीय रुपैँया र हुम्ला–सिमिकोट हुँदै कैलाश पठाउँदा दुई लाख ६० हजार भारतीय रुपैँया तिनुपर्ने भएपछि समस्यामा परेका हुन् ।

कैलाशयात्रा सङ्घका अध्यक्ष नारायण पोखरेल कैलाशयात्राका लागि वार्षिक १० प्रतिशत बढाउन पाउने भए पनि एकैपटक ३२ देखि ४० प्रतिशतसम्म बढाउँदा नेपाली व्यवसायी मर्कामा परेको बताउनुहुन्छ । भारतबाट नेपाल हुँदै वार्षिक २० हजार पर्यटक कैलाश जाने गरेका छन् । नेपाली भने वर्षको एक हजार हाराहारीमा कैलाश मानसरोवर धार्मिक यात्रामा निस्कने गरेका छन् ।

चीनको फरएन एक्सचेन्ज सेन्टरले हाल कैलाश पठाउँदै आएका ३४ टुर्स कम्पनीमध्ये १० वटामात्र कम्पनीले कैलाशयात्राका लागि पठाउन पाउने व्यवस्था गरेपछि झन समस्यामा परेका छन् । ठूला व्यवसायीले भने भारतबाट नै कैलाश यात्रामा पठाउँदा नेपालका व्यवसायलाई झन समस्या पर्ने गरेको छ ।

कैलाशयात्राका लागि यात्रामा गएका पर्यटक आफू फर्कने समयभन्दा अगाडि फर्कन चाहेमा दिनको १०० अमेरिकी डलर र पठाउने कम्पनीले सानातिना कमजोरी गरेमा १० हजार अमेरिकी डलरसम्म सजाय दस्तुर तिनुपर्ने बाध्यकारी परिस्थिति बनाइएको छ । नेपालको टुर्समार्फत भारतीय पर्यटक कैलाशयात्रामा पठाउँदा नेपालको अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास व्यवसायीले लिएका छन् ।

उक्त सेन्टरले नेपालका रमेश ओझा सञ्चालक रहेको ओझा होलीडेज प्रालि, प्रचण्ड मानन्धर सञ्चालक रहेको एक्सप्लोर भ्याकेशन, राजन श्रेष्ठ सञ्चालक रहेको कैलाश जर्नीज र वसन्त बराल सञ्चालक रहेको नमस्ते होलिडेज प्रालिसँगमात्र कैलाशयात्राका लागि सम्झौता गरेको छ । “चौँतीस वटा टुर्स कम्पनीले कैलाशयात्रा पठाउँदै आएकोमा १० कम्पनीलाई मात्र कैलाश पठाउनका लागि अनुमति दिनु र वार्षिक ठूलो सङ्ख्यामा कैलाश जाने भारतीय पर्यटकलाई कैलाशयात्रामा रकम बढाउनुले पनि हामीलाई व्यवसायबाट वञ्चित गर्न खोजिएको स्पष्ट हुन्छ”, अध्यक्ष पोखरेल भन्नुहुन्छ ।