काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा आज बिहीबारका दिन काठमाडौं डिल्लीबजारस्थित अमृतभोग क्याटेरर्समा सम्पन्न भएको छ । 

गत आर्थिक वर्षको नाफाबाट ६.८ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको बैंकका अध्यक्ष्य सुदिप आचार्यले बताए । उक्त साधारणसभाले आर्थिक वर्ष २०७५-०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी रु. २,५४,०१,९५,३५२.०० को ६.८ प्रतिशतका दरले हुन आउने रकम रु. १७,२७,३३,२८४ नगद लाभाँश  वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको जनाएको  छ ।

बैंकका अध्यक्ष्य सुदिप आचार्यले उक्त साधारणसभामा बैंकको आर्थिक वर्ष २०७५-०७६ को वासलात, नाफा-नोक्सानहिसाब, नगदप्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गरेका थिए । साथै, बैंकले गरेका रणनीतिक लगानीबाट भविष्यमा दिगो प्रतिफल आर्जन गरी बैंकलाई अझै सवल, सक्षम र सुरक्षित बैंकको रुपमा स्थापित गर्नमा टेवा पुग्ने उक्त साधारण सभामा बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमअनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको दीर्घकालिन रणनीति प्रस्तुत गर्दै यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक वजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजनासहित अगाडि बढेको बताए । 

बैंकका अध्यक्ष्य सुदिप आचार्यको अध्यक्ष्यतामा बसेको साधारणसभामा बैंकका सञ्चालक चतुराखर अधिकारीले शेयरधनीलगायत उपस्थित सबैलाई मन्तव्यमार्फत स्वागत गरे भने सञ्चालक भिम प्रसाद तुलाचनले धन्यवाद ज्ञापन दिए । शेयरधनीहरुबाट उठेका विभिन्न जिज्ञासाहरुको जवाफ बैंक सञ्चालक समितिका अध्यक्ष्य सुदिप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले दिए भने कार्यक्रमको सञ्चालन कम्पनी सचिव हरि प्रसाद लम्सालले गरे ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११४ वटा शाखा तथा ६० वटा एटिएमःमार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।