काठमाण्डौ । विश्वमा कोरोना भाइरसको आतंक सिर्जना भएसँगै सुनको भाउ फेरि उचाइतिर अगाडि बढ्न थालेको छ ।

कोरोना भाइरसले विश्व बजारमा इन्धन, सेयरजस्ता क्षेत्रमा लगानी घट्नुसँगै सुनको माग बढ्न थालेपछि भाउ बढ्न थालेको हो । यसको प्रत्यक्ष प्रभाव नेपालीमा पनि देखिन थालेको छ ।

नेपाली बजारमा सुनको भाउ यो साताको कारोबारको दोस्रो दिन सोमबार तोलामा एकैपटक ५०० रुपैयाँले बढेर प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ पुगेको छ । यो पुस महिनाकै उच्च भाउ हो।

सुनको भाउ हिजो आइतबार प्रतितोला छापावाल ७५ हजार ५०० रुपैयाँ र तेजाबी ७५ हजार २०० रुपैयाँ थियो । हिजो पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो ।

यसअघि अमेरिका–चीन व्यापारयुद्ध, अमेरिका–इरान तनाव र भारत–पाकिसतानसीमा विवादका कारण पनि सुनको भाउ विश्व बजारमा बढेको थियो । जसका कारण लगानीकर्ताहरुले सुरक्षित लगानीको माध्यम सुन रोज्न थालेपछि माग बढेसँगै यसको भाउले पनि उचाइ लिएको थियो ।

अमेरिकी–इरान तनावको प्रत्यक्ष प्रभाव नेपाली सुन बजारमा पनि परेको थियो । जसका कारण गत पुस २३ गते सुनको भाउ नेपाली इतिहासमै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन प्रतितोला छापावाल सुन ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७६ हजार २०० रुपैयाँ पुगेको थियो ।

अहिले देशहरुबीचको आपसी विवादभन्दा पनि कोरोना भाइरसले विश्व अर्थतन्त्र लगानीको वातावरण धमिल्याउँदा सुनको भाउ बढ्न थालेको जानकारहरु बताउँछन् । कोरोना भाइरसबाट अतिप्रभावित चीनबाट विभिन्न देशका बहुराष्ट्रिय कम्पनीहरु बाहिर थालेपछि सुरक्षित लगानीका रुपमा सुनको माग बढ्न थालेको उनीहरुको ठम्याइ छ ।

कोरोना भाइरसको प्रभाव बेलैमा नियन्त्रण हुन नसके अब सुनको माग झनै बढ्ने र यसको भाउ थप उचाइ लिने पनि विज्ञहरु बताउँछन् ।