काठमाण्डौ । महामारीका रुपमा फैलिएको प्राणघातक कोरोनाभाइरसका कारण सोमबार विश्व बजारमा बहुमूल्य धातु सुनमा उल्लेख्य मात्रामा लगानी बर्सिएको छ । जसका कारण अहिले सुनको मागसँगै भाउ गत वर्षभन्दा २० प्रतिशतले बढ्न पुगेको छ ।

कोरोनाभाइरसले खस्किएको विश्व अर्थतन्त्रमा तत्कालै कुनै सुधार आउने कुनै संकेत नदेखिएकाले निकट भविष्यमा सुनको भाउ प्रतिऔँस २ हजार डलर पुग्ने प्रक्षेपण विश्वविश्लेषकहरुले गरेका छन् ।

नेपालमा पनि सुनको भाउ दिनदिनै बढ्न थालेको छ । विश्व बजारमा सुनको भाउ बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि गर्छ । सुनको भाउ प्रतिऔँस २ हजार डलर पुगेमा नेपाली बजारमा सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँको हाराहारीमा पुग्ने नेपालका सुनव्यवसायीहरु बताउँछन् । 

अहिले विश्वबजारमा सुन प्रतिऔँस १६ सय डलरमा कारोबार भइरहेको छ । यो मूल्य सन् २०१३ पछि कै सबैभन्दा बढी हो । विश्व बजारमा सुन प्रतिऔँस १६ सय डलरमा कारोबार भइरहँदा नेपाली बजारमा सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । प्रतिऔँसबराबर २.४३ तोला हुन्छ । त्यस्तै १ डलरबराबर ११४ रुपैयाँ रहेको छ । 

यसअघि सन् २०११ को युरोपियन अर्थतन्त्रमा देखिएको ऋणको संकटको बेला सुनको भाउ प्रतिऔँस १९ सय डलरको रेकर्ड विन्दुमा पुुगेको थियो ।

अहिले विश्वका लगानीकर्ता खुलेर सेयर र अन्य क्षेत्रमा लगानी गर्न सकिरहेका छैनन् । जसको फाइदा सुन र सुन खानीमा संलग्न व्यवसायीहरुलाई पुग्न गएको छ । लगानीकर्ता डराएको अवस्थामा अक्सर सुन कारोबारीहरुलाई लोभलाग्दो लाभ पुग्ने गर्दछ ।

यसको गतिलो उदाहरणका रुपमा सुन खानी कम्पनी न्युमन्टलाई लिन सकिन्छ । सोमबार अमेरिकी स्टक एक्सेन्जमा सूचीकृत ५०० ठूला कम्पनीको सेयरको कारोबार मापक ‘एस एन्ड पी ५००’ मा उच्च कारोबार गर्ने केही कम्पनीमध्ये न्यु मन्ट पनि एउटा हो ।

ब्लान चार्ड एन्ड कम्पनीका सीईओका अनुसार चीनमा देखिएको यो नयाँ भाइरसले विश्व अर्थतन्त्रले अझै धेरै क्षति व्यहोर्नुपर्नेछ । ‘चीनमा देखिएको कोरोनाभाइरसले स्टक बजारलाई अझै ओरालोतिर लैजान्छ र यसको नकारात्मक असर सिंगो विश्वले महसुस गर्नेछ’, उनले भने । 

यस्तो अवस्थामा पनि सुन कारोबारले भने किन राम्रो गरिरहेको छ ?

अमेरिकाको फेडरल रिजर्भले गएको वर्ष तीनवटा ब्याज दरमा कटौती गरेपछि अमेरिकी डलर कमजोर हुन पुगेको थियो । युरोप र जापानमा ब्याज दर नकारात्मक अवस्थामा भएको र अमेरिकाले पनि ब्याज दरमा कटौती गरेपछि पेपर करेन्सी र ग्रिनब्याकभन्दा सुनको लगानी आकर्षक बन्न पुग्यो ।

अमेरिकी डलर थप अबमूल्यन हुने डर र घट्दो ब्याज दरको फाइदा केवल सुनलाई मात्रै पुगेन । यसको फाइदा चाँदी, प्लाटिनम र पलाडियमलाई समेत पुग्न गयो । यिनीहरुको मूल्यमा समेत उल्लेख्य बृृद्धि हुनपुग्यो । जसले गर्दा लङ टर्म इन्भेस्टरसलाई यी बहुुमूल्य धातुमा रिर्टायमेन्ट पोर्टफोलियोका रुपमा लगानी गर्न प्रोत्साहित गर्यो ।

सुनको लगानीलाई ‘सेफ हेभन’ का रुपमा लिइने भएकाले लगानीकर्ता मात्रै होइन विश्वका ठूला केन्द्रीय बैंकहरुले पनि सुनको सञ्चितमात्रा बढाएका छन्।

विश्व सुन परिषद्का अनुसार अमेरिकी केन्द्रीय बैंकले सन् २०१८ को पहिलो त्रैमासको तुलनामा सन् २०१९ को पहिलो त्रैमासमा सुनको खरिद मात्रा बढाएर १२ प्रतिशत पुर्याएको थियो । बैंकले मौजुदा सुनमा कुल ५४७.५ मेक्ट्रिकटन सुन थपेको थियो ।

वर्तमानमा कोरोनाभाइरस र विश्वको कमजोर मौद्रिक नीतिले गर्दा विश्व सेयर बजारमा र अर्थतन्त्रमा अविश्वास र अस्वस्थ वातावरणको सिर्जना भएको छ । – एजेन्सीको सहयोगमा