काठमाण्डौ । संघीय राजधानी काठमाण्डौका सबै होटल सरकारलाई कोरोना रोकथामका लागि आवश्यक परे क्वारेन्टाइनका लागि दिने होटल व्यवसायीहरुले निर्णय गरेका छन् । 

शनिवार होटल व्यवसाय व्यवसायी महासंघको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नम्बर ३ काठमाण्डौ जिल्ला होटल व्यवसायी संघका ९ वटा इकाईका अध्यक्षहरुको आकस्मिक बैठकबाट काठमाण्डौ उपत्यकाभित्र रहेका पर्यटन सम्बद्ध होटलहरुले नेपाल सरकारलाई कोरोना नियन्त्रणका लागि आवश्यक परेको खण्डमा पर्यटन व्यवसायको रुपमा संचालन भइरहेका होटलहरु क्वारेन्टाइन संचालनका लागि प्रदान गर्ने निर्णय गरेका हुन् । 

बैठकले उपत्यकाबाहिरका अन्य जिल्लाहरुमा सम्बन्धित जिल्ला अध्यक्षहरुसँग समन्वय गरी देशैभर क्वारेन्टाइन संचालनका लागि सहयोग गर्ने निर्णय समेत गरेको छ । 

तर, त्यसका लागि आफ्नो होटल प्रयोग गर्दा नेपाल सरकारले आवश्यक स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको विशेष निगरानीमा क्वारेन्टाइन पूर्वाधारका लागि उचित प्रबन्ध गर्नुपर्ने महासंघका अध्यक्ष हिराध्वज शाहले माग गरे । 

व्यवसायीहरुले कोरोनाको त्रासका कारण आफूहरुको व्यवसाय शून्यको अवस्थामा झरेकोमा चिन्ता समेत व्यक्त गरेका छन् । 

तर, राज्यलाई विपत आएको अवस्थामा आफूहरु सहयोग गर्न तयार रहेको भन्दै व्यवसायीले यस्तो निर्णय गरेका हुन् ।