काठमाण्डौ । सूचिकृत कम्पनीहरुको सार्वजनिक निश्कासन तथा हकप्रद, हितग्राही खाता(डिम्याट) संचालनमा लगानीकर्ताहरुले अनावश्यक दुःख पाइरहेका भन्दै नेपाल धितोपत्र बोर्डले सिडिएस, मर्चेन्ट बैंकर र सूचिकृत कम्पनीलाई कडा निर्देशन दिंदै झञ्झटिलो व्यवस्थामा आमूल सुधार गर्न भनेको छ । 

बोर्डले तीनवटै निकायलाई सम्बोधन गरेर उनीहरुले दिंदै आएको सेवामा सुधारको व्यवस्था हुनुपर्ने निर्देश गरेको हो । 

संगठित संस्थाको सार्वजनिक निश्कासनको क्रममा दरखास्त फारम लिन, बुझाउन, रकम जम्मा गर्न संकलन केन्द्रको संख्या कम भई लगानीकर्ताले अनावश्यक झञ्झट व्यहोर्नुपरेको तथा हकप्रद सेयर भर्दा समस्या भएको र संकलन केन्द्र कम हुँदा समेत लगानीकर्ताले सास्ती पाएका भन्दै भद्रगोल अवस्थामा सुधार ल्याउन निर्देशन जारी गरिएको हो ।

बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमीटेडलाई लगानीकर्ताहरुले नयाँ हितग्राही खाता खोल्दा अनिवार्य रुपमा बैंक खाता राख्ने व्यवस्था तत्काल मिलाउन र यस्तो खाता खोलिसकेका लगानीकर्ताको हकमा बैंक खाता सम्बन्धी विवरण अनिवार्य रुपमा अपडेटको व्यवस्था मिलाउन निर्देशन दिएको छ । 

बोर्डले सूचिकृत कम्पनीहरुको नाममा समेत निर्देशन जारी गर्दै मर्जर वा एक्वीजिसनको प्रक्रिया पूरा भई एकीकृत कारोबार सुरु भएसँगै सेयर कारोबार गर्ने व्यवस्था गर्न र तत्काल नसकिए एकीकृत कारोबार सुरु भएको १५ दिनभित्र अनिवार्य रुपमा सेयर कारोबारको व्यवस्था मिलाउन समेत कडा निर्देशन जारी गरेको छ । 

बोर्डले सबैभन्दा बढी विभिन्न १० बुँदामा मर्चेन्ट बैंकरको नाममा निर्देशन जारी गरेको छ । 

उसले आइपीओ, एफपीओका लागि सहज ढंगले दरखास्त फारम बुझ्न, रकम जम्मा गर्ने कार्य समेत सहज बनाउनका लागि आवेदन संकलन केन्द्रहरु पर्याप्त संख्यामा थप्न मर्चेन्ट बैंकरलाई निर्देशन दिएको छ । फारम, पैसा बुझाउँदा जेष्ठ नागरिक, अपाङ्ग र महिलाको अलग्गै लाइन बनाउनुपर्ने सर्कुलरमा भनिएको छ । 

आगामी दिनमा मर्चेन्ट बैंकरले सार्वजनिक निश्कासनहरुका लागि आवेदन दिने सहज व्यवस्थाका लागि सम्बन्धित कम्पनी वा मर्चेन्ट बैंकरकै वेबसाइटमा दरखास्त फारम राखी लगानीकर्ताले डाउनलोड गरेर भर्नसक्ने व्यवस्था समेत मिलाउन निर्देशन दिइएको छ । 

धितोपत्र बोर्डले विभिन्न निश्कासन तथा बिक्री प्रबन्धकका कार्यालयहरुमा समेत स्थलगत अवलोकन गरी सुधारको निर्देशन दिएको छ । बिक्री प्रबन्धकहरुले आफ्नो कार्यालयमा व्यवस्थित रुपमा दरखास्त लिने गरेका भए पनि संकलन केन्द्रको अवस्था डामाडोल देखिएको भन्दै बोर्डले त्यस्ता केन्द्रमा पर्याप्त पूर्वाधारको व्यवस्था गर्न र व्यवस्थित रुपमा फारम संकलन गर्न सुझाएको छ । 

कतिपय मर्चेन्ट बैंकरमा कार्यरत कर्मचारी दक्ष नरहेका अनुगमनको क्रममा पाइएकोले तालिमप्राप्त कर्मचारीलाई मात्र यस्तो काममा खटाउन बोर्डले निर्देशन दिएको छ । 

धितोपत्र बोर्डले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस् ।