काठमाण्डौ । सरकारले चैत ९ गतेदेखि १८ गतेसम्मका लागि लगाएको नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध आउँदो बैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित उच्चस्तरीय समितिको आइतबार दिउँसो सकिएको बैठकले यस्तो निर्णय गरेको हो । 

यो निर्णयसँगै अब अप्रिल १५ अर्थात आउँदो बैशाख ३ गतेसम्म कुनै पनि अन्तर्राष्ट्रिय उडान हुने छैनन् ।  

सरकारले चैत ९ गतेदेखि नै विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन प्रतिबन्ध लगाएको छ । तर, नेपालबाट भने यात्रु लिएर जाने उद्देश्यले खालि विमान आउनसक्ने छुट छ । 

अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समयसीमा बैशाख ३ सम्म लम्ब्याउने निर्णय गरेको सरकारले लकडाउनको अवधि समेत कम्तीमा एकसाताले बढाउने आजै निर्णय गर्दैछ । 

आज बस्ने क्याबिनेटले अति विपन्न र गरीबहरुका लागि राहात प्याकेज समेत घोषणा गर्नसक्ने संभावना छ।