काठमाण्डौ । कोरोना भाइरसको युद्धमाथि विजय प्राप्त गर्न विश्वका देशहरुले आ आफ्नै तरिकाले लडाई लडिरहेका छन् । तर, यो लडाईमा कुन देश कहाँ उभिएको छ भन्ने कुरा पत्ता लगाउने एउटा कडी हो कुन देशले हालसम्म कतिजनाको स्वास्थ्य जाँच गरे, अर्थात आफ्ना नागरिकमा हुनसक्ने संभावित कोरोना भाइरसको टेस्ट गरे । 

खास गरी पछिल्लो समय कम टेस्ट गरिएको भन्दै अमेरिका र ब्रिटेनको तीव्र आलोचना भइरहेको छ । तर, जर्मनी र दक्षिण कोरियाको पनि यही विषयलाई लिएर संसारभर प्रशंसा भइरहेको छ । यो कुराबाट पनि बुझ्न सकिन्छ कि कोरोनाको यो लडाईमा स्वास्थ्य जाँच कति अहम् र महत्वपूर्ण रहेछ भन्ने विषय । 

पछिल्लो समय यूरोप विश्वमै कोरोनाको सबैभन्दा धेरै शिकार भएको क्षेत्र हो । विश्वभरका कोरोना संक्रमितमध्ये आधाभन्दा बढी यूरोपकै छन् । यस्तै, संक्रमणबाट मर्ने कुल संख्यामा आधाभन्दा बढी पनि यूरोपबाटै छ । 

यही बीचमा एउटा यूरोपीय देश छ, जो यो युद्धमा बाँकी अन्य देशभन्दा बढी तयार देखिन्छ । जर्मनीमा कोरोना जाँचमा यति धेरै जोडबल दिइराखिएको छ कि सामान्य लक्षण देखिएकै व्यक्तिको समेत यहाँ धमाधम स्वाब परीक्षण भइरहेको छ । 

जर्मनी
जर्मनीको रोबर्ट कोश इन्स्टिच्यूटका अनुसार अहिलेसम्म त्यहाँ ९ लाख १८ हजार ४६० टेस्ट गरिसकिएको छ र त्यहाँ प्रत्येक दिन ५० हजारको स्वाब परीक्षण भइरहेको छ । जर्मनीमा हालसम्म ८५ हजार ९०३ जनामा कोरोना संक्रमण देखिइसकेको छ । त्यहाँ ११२२ संक्रमितको मृत्यु भएको छ ।

जर्मनीमा यति धेरै टेस्ट हुनुपछाडिको एउटा कारण यो पनि मानिएको छ कि यहाँ अस्पताल वा डाक्टरले मात्र होइन, स्पेशल ड्राइभ इन टेस्ट स्टेशन नै बनाएर जाँच भइरहेको छ । 

साउथ कोरिया
चीनको वुहानबाट सबक सिक्दै साउथ कोरियाले प्रारम्भिक चरणबाटै टेस्टका लागि सक्रियता देखायो । यहाँका मानिसहरुलाई सुरुवातदेखि नै आइसोलेट गर्न थालियो र प्रत्येक दिन १५ हजार मानिसको टेस्ट प्रारम्भदेखि नै गर्न थालियो । अहिलेसम्म यो देशमा ४ लाख ३१ हजार ७४३ वटा नमूना टेस्ट भइसकेको छ । यहाँ पनि जर्मनीको जस्तै ड्राइभ इन टेस्ट स्टेशन तयार गरिएको थियो र यस्ता स्टेशनहरुमा सर्वसाधारणको सित्तैमा जाँच गरिएको थियो । हालसम्म यो देशमा १४६२ मानिसमा कोरोना संक्रमण भेटिएको छ, जसमध्ये ५ जनाको मात्र मृत्यु भएको छ । 

फ्रान्स
फ्रान्सको हेल्थकेयर सिस्टमलाई विश्वमै सबैभन्दा बढी संसाधनयुक्त तथा प्रभावशाली मानिन्छ । तथापि, यहाँ स्पेनभन्दा पनि कम टेस्ट गरिएको छ । फ्रान्सको यो नीतिको चौतर्फी आलोचना भइरहेको छ । फ्रान्सको पब्लिक हेल्थ विभागका अनुसार २६ मार्चसम्म त्यहाँ १ लाख ७५०० टेस्ट मात्र भएका छन् । तथापि, अवस्था बिग्रदै गएपछि त्यहाँका स्वास्थ्यमन्त्री अलिभर वरेनले भनेका छन् कि ६ अप्रीलीसम्म प्रत्येक दिन ३० हजारको जाँच गर्ने लक्ष्य तयार गरिएको छ । 

फ्रान्समा सुरुवातमा त्यस्ता बिरामीको मात्र टेस्ट गरियो, जसमा कोरोनाको धेरै लक्षण थिए र उनीहरु बिरामी भई अस्पतालको बेडमा पुगेका थिए । यसबाहेक यहाँ विशेष ल्याबमा निकै कम संख्यामा मात्र परीक्षण गरियो । अब प्राइभेट ल्याबहरु समेत यसमा सहभागी भएका छन् र अब त्यहाँ धेरैको टेस्ट हुनसक्ने देखिएको छ । फ्रान्समा हालसम्म ५९ हजार १०५ व्यक्तिलाई कोरोना संक्रमण भइसकेको छ, जसमध्ये ५ हजार ३८७ संक्रमितको मृत्यु भइसकेको छ । 

अमेरिका 
अहिले पूरा विश्वमध्ये सबैभन्दा बढी संक्रमित अमेरिकामा भेटिएका छन् । यहाँका अढाईलाख हाराहारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । यहाँ हालसम्म ६१०० हाराहारीमा संक्रमितको मृत्यु भइसकेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले केही दिनअघिसम्म देशका सबैको टेस्ट गर्न सकिँदैन भनिरहेका थिए, तर जब यो घातक भाइरसको प्रभाव बढ्दै गयो, सरकारले आफ्नो सूर नै परिवर्तन गर्नुपर्यो । हालसम्म यहाँ १२ लाख मानिसको नमूना(स्वाब) परीक्षण भइसकेको छ । यहाँ प्रत्येक दिन १ लाख भन्दा बढी नमूनाहरुको परीक्षण भइरहेको छ । तथापि, विज्ञहरुको भनाईमा यो रफ्तार समेत अमेरिकाका लागि कम हो । 

ब्रिटेन
अमेरिका बाहेक विश्वमा यदि कुनै देशको टेस्ट नगरेकै कारण बढी आलोचना भयो भने त्यो हो ब्रिटेन । यहाँको नेशनल हेल्थ सिस्टमले सुरुवातदेखि नै यस्ता विरोध र प्रश्नको घेरामा पर्यो । विश्वमा यो भाइरस फैलिएको सुरुवाती चरणमै देशको हेल्थ सिस्टमले किन सक्रियता देखाएन भनेर ब्रिटेनको तीव्र आलोचना भइरहेको छ । तर, जब यो भाइरस देशका राजनेतादेखि लिएर दरबारसम्म पुग्यो, तब मात्र सरकारको आँखा खुल्यो । हालसम्म ब्रिटेनमा १ लाख ६३ हजार १९४ को नमूना परीक्षण गरिएको छ । त्यहाँका स्वास्थ्यमन्त्री म्याट हेनकाकले भनेका छन् कि अप्रीलको अन्तसम्ममा प्रत्येक दिन १ लाखको नमूना परीक्षण गर्ने व्यवस्था मिलाइनेछ । 

इटली र स्पेन
कोरोना भाइरसका कारण सबैभन्दा ठूलो मानवीय क्षति इटली र स्पेनले व्यहोरिरहेका छन् । इटलीमा टेस्टिंग सुविधा निकै कमी छ । यहाँ जुन व्यक्तिमा लक्षण देखिइरहेको छ, अथवा जो मानिस कोरोना पोजिटिभको सम्पर्कमा छन्, उनीहरुको टेस्ट गर्नुपर्छ, तर उनीहरुसम्म स्वास्थ्य सुविधा नै पुग्दैन । हालसम्म इटलीमा ५ लाख ४१ हजार मानिसको टेस्ट गरिसकिएको छ, जसमध्ये १ लाख १५ हजार २४२ व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । यहाँ १३ हजार ९१५ बढी मानिसको मृत्यु भइसकेको छ । 

उता स्पेनका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् कि त्यहाँ दैनिक १५ देखि २० हजारसम्म मानिसको नमूना परीक्षण हुन थालेको छ । २१ मार्चसम्मको डेटा अनुसार स्पेनमा ३ लाख ५० हजार मानिसको टेस्ट भइसकेको छ । 

भारत
भारतमा हालसम्म कोरोना भाइरस संक्रमणको २३०१ घटना बाहिर आइसकेका छन् । त्यहाँ ५६ मानिसको मृत्यु भइसकेको छ । इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार बिहीबार हालसम्मकै सबैभन्दा बढी ८ हजार ८००को स्वाब परीक्षण गरियो । हालसम्म त्यहाँ ६६ हजारको टेस्ट गरिएको छ । देशको जनसंख्यालाई हेरेर यति थोरै टेस्ट भएका कारण यो आशंका गर्न थालिएको छ कि भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या निकै धेरैले बढ्नेछ । तर, विश्वका अन्य देशको तुलनामा भारतले भने केही छिटै देशभर २१ दिने लकडाउनको घोषणा गरिसकेको छ । 

नेपाल
नेपालमा हालसम्म कोरोनाका ६ जना संक्रमित भेटिएका छन् । ती संक्रमित पनि सबै विदेशबाट नेपाल आएका थिए । ती ६ मध्ये एकजना ठीक भएर घर फर्किसकेका छन् भने ५ जना आइसोलेसनमा छन् । देशभर १२० जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ हालसम्म १२७७ को मात्र स्वाब परीक्षण भएको छ । नेपालले कोरोना टेस्टको दायरालाई फराकिलो पार्न सकेको छैन । नेपालमा पनि चैत ११ गतेदेखि लकडाउन जारी छ । तर, यही अवधिमा तीव्र रुपमा टेस्ट हुनुपर्नेमा त्यो हुन सकेको छैन । बरु टेस्टकै लागि भनेर चीनबाट ल्याइएका टेस्ट किट नक्कली फेला परी गोदाममा थन्किएका छन् भने थप सामाग्री ल्याउने प्रक्रियाको विषय तीव्र विवादित भई सरकार नै अनिर्णयको बन्दी बनेको छ । यहाँ यथेष्ट किट नभएका कारण समेत धेरैको टेस्ट हुन सकेको छैन । कोरोनालाई जित्ने एउटा महत्वपूर्ण कडी टेस्ट रहे पनि यसमा नेपाल धेरै पछाडि रहेको छ । यसले नेपाल अझै उच्च जोखिममा रहेको देखाउँछ । 
(एजेन्सीहरुको सहयोगमा)