काठमाण्डौ । कोरोना भाइरसविरुद्धको लडाईको मोर्चामा योद्धाको रुपमा चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक लगायतका स्वास्थ्यकर्मीहरु अनवरत खटिरहेका छन् । व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) समेत पर्याप्त नहुँदा समेत जेनतेन रेनकोट लगाएरै पनि संभावित संक्रमण रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरु काममा लागेकै छन् । 

देशमा संक्रमण फैलन नदिन र सर्वसाधारणलाई भाइरसबाट बचाउन रातदिन यसरी खटिने डाक्टर, नर्स र स्वास्थ्यकर्मीसँगै कुनै स्थानीय निकायले चन्दा माग्यो भने तपाई के भन्नुहुन्छ ? 

हो, पूर्वी नेपालको धरान उपमहानगरपालिकाले यस्तै असुहाउँदो काम गरेपछि अहिले यो विषयमा हङ्गामा मच्चिरहेको छ । 

धरानमा अवस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना संक्रमणको परीक्षणको व्यवस्था मिलाइएको छ । त्यहाँ पनि कोरोनाका संभावित संक्रमितहरुलाई आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ । उनीहरुको उपचारमा कुनै कसर बाँकी नराखेको वीपी प्रतिष्ठानलाई नै धरान उपमहानगरपालिकाले एक पत्र लेख्दै तोकेरै चन्दा मागेको छ । 

नगर प्रमुख तिलक राईले प्रतिष्ठानलाई चैत २३ गते एक पत्र पठाउँदै दैनिक ज्यालादारी मजदूरहरुलाई खाद्यान्न वितरणको उद्देश्यले प्रतिष्ठान अन्तर्गतका पदाधिकारीको १५ दिनको पारिश्रमिक र डाक्टर लगायत कर्मचारीहरुको १० दिनको पारिश्रमिक धरान उपमहानगरले स्थापना गरेको राहात कोषमा उपलब्ध गराउन भनेका छन् । 

उनले पत्रमा धरान उपमहानगरपालिकाका सबै जनप्रतिनिधिले समेत १५ दिन बराबरको पारिश्रमिक सो कोषमा योगदान गरेका भन्दै वीपी प्रतिष्ठानका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुले दिनुपर्ने आशय पत्रमा व्यक्त गरेका छन् । 

उनले आफैंले पठाएको पत्रको एउटा लाइनमा चाहि ‘धरानभरिका विभिन्न संघसंस्थाहरुले स्वेच्छाले राहात सामाग्री र सहयोग उपलब्ध गराएका’ समेत लेखेका छन् । अरुले स्वेच्छाले सहयोग उपलब्ध गराए पनि वीपी प्रतिष्ठानका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुलाई चाहि तोकेरै किन चन्दा मागियो भन्ने विषय चाहि पत्रमा खुलाइएको छैन । 

स्थानीय सरकारको रुपमा समेत रहेको धरान उपमहानगरले कोभिड–१९ विरुद्धको लडाईमा खटिएका चिकित्सक, नर्स लगायतसँगै तोकेरै चन्दा मागेपछि यसको सामाजिक सञ्जालमा तीव्र विरोध भइरहेको छ । 

सामाजिक सञ्जालका प्रयोगकर्ताले स्थानीय सरकारले कोरोनाविरुद्धको उपचारमा खटिइने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुपर्नेमा ठीक उल्टो तोकेरै खाइपाई आएको तलबबाट चन्दा मागिएपछि यसले उपचारमा खटिनेहरुको मनोबल घट्ने बताइरहेका छन् । 

इटहरीका पत्रकार मिलन बिछोडले यही विषयमा स्टाटस लेख्दै भनेका छन्–‘अलिकता लाज र अलिकता विवेक मात्रै पुर्याउँदा पनि यस्तो निर्लज्ज चन्दा पत्र नआउनु पर्ने हो । बिपिका चिकित्सक र कर्मचारीसँग यसरी तोकेर पैसा माग्ने होइन, बरु यो अवस्थामा खटेको भनेर प्रोत्साहन गरौं । नगरले राहत दिउँ । यो गलत भयो, सच्याउनुस महोदय ।’

उनको स्टाटसमा कमेन्ट लेख्दै दिपक सुवेदीले लेखेका छन् –‘ए मानविय सम्बेदना हराएकाहरु हो ! ! यस्तो निर्णय एक्लै हुन्छ कि अरु विबेकहिनहरुको जमात पनि राखेको थ्यो ? यस्तो बेला कहाँबाट राहात संकलन गर्न उपयुक्त हुन्छ?  अनि यो घडीमा कस्को मोरल हाइ गराउँदै समाज को प्रतिरक्षा गर्ने ? भन्ने सम्म पनि छुट्याउन नसक्नेहरु । तिमीहरुलाइ सम्झिँदा धिक्कार्न मन लाग्छ ।’

विकास अधिकारीले लेखेका छन्–‘गलत भयो। स्वैच्छिक बनाउदा राम्रो।’

जितेन्द्र थापा अगाडि लेख्छन्–‘प्रोत्साहन गर्ने बेलामा निराश नबनाउ, मेयरले लज्जास्पद काम गरे ।’

सामाजिक सञ्जाल प्रयोगकर्ता पूर्णिमा प्याकुरेलले लेखेकी छिन–‘लाजमर्नु, पीडित छन् स्वास्थ्यकर्मीहरु, बरु उनीहरूलाई जप्रतिनिधीहरुले सहयोग गर, फ्रन्ट लाइनमा बसेर ज्वरो मात्र नापी दिए पुग्छ, पाँच केजी चामल दिएर पाँचतिरबाट फोटो खिच्न जानु पर्दैन।’

यो विषयमा कुरा गर्न खोज्दा धरानका मेयर तिलक राई सम्पर्कमा आउन चाहेनन् ।