काठमाण्डौ । धेरैलाई लागेको थियो प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पंक्तिसँग सल्लाह नै नगरी दुई अध्यादेश ल्याएपछि बढेको विवाद साम्य होला । ओलीको हठात कदमविरुद्धमा एकमुख देखिएका पार्टीका नेताहरुको आक्रोश समेत अध्यादेश फिर्तासँगै साम्य होला । अर्थात सबै ठीकठाक होला र समग्र सरकार तथा सत्तारुढ दलका नेताहरु समेत कोरोना भाइरसविरुद्धको लडाईमा एकताबद्ध भएर अगाडि बढ्लान्, प्रतिपक्षीको समेत साथ लिएर । 

तर अवस्था ठीक उल्टो देखिएको छ । घटनाक्रम यस्तरी विकास भइरहेका छन् कि अध्यादेशका कारण नेकपाभित्र सल्किएको आगो सीतिमिति निभ्ने छैन ।

पछिल्लो २ दिनको घटनाक्रम र अझ शनिवारको घटनाक्रमले त नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको र अवस्था भित्रभित्रै निकै धेरै बिग्रिसकेको देखिएको छ । 

नेताहरुले जति नै ढाकछोप गरे पनि नेकपाभित्रको विवाद कति पेचिलो बनिरहेको छ भन्ने कुरा शनिवारको एउटा घटनाले पुष्टि गर्छ । यो दिन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका उपाध्यक्ष बामदेव गौतमबीच बालुवाटारमै चर्काचर्की भयो । 

विवाद यति उग्र बन्यो कि, दुवैले एकअर्कालाई देखाइदिनेसम्मको धम्की दिए ।

बालुवाटारस्थित स्रोतका अनुसार ओलीले शनिवार बिहानैदेखि नेकपा सचिवालयका नेताहरुसँग एकएक गर्दै भेटिरहेका थिए । 

बिहान कार्यकारी अध्यक्ष प्रचण्डलाई ४५ मिनेट जति भेटघाट गरेका ओलीले त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल लगायतलाई भेटेका थिए । 

अरुसँगको भेट सौहाद्रपूर्ण नै रहे पनि गौतमसँगको भेटले पनि आधाघण्टाजति हंगामा नै मच्चियो । 

ओली र गौतमबीच आधाघण्टासम्म चर्काचर्की र धाकधम्कीको भाषा प्रयोग भयो । 

ओलीले अध्यादेश फिर्ता लिइसकेको अवस्थामा स्थायी कमिटी बैठक बोलाउन आवश्यक नरहेको र यसका लागि वातावरण बनाइदिन गौतमलाई आग्रह गरेका थिए । सुरुवातमै ओलीबाट यस्तो आग्रह आएपछि बिच्किएका गौतमले ‘गल्ती गरेपछि जवाफ दिन सक्नुपर्छ, समस्याको फेस गर्न सक्नुपर्छ । जथाभावी गल्ती गर्दै हिँड्ने, पार्टीको बद्नाम गर्ने ? तपाई खुरुक्क राजीनामा दिनुस् ।’ भनेका थिए । 

गौतमको कुरा सुनेपछि ओली पनि आक्रोशित बन्न पुगे । उनले आफूविरुद्ध पहिलादेखि नै मोर्चाबन्दी हुँदै आएको आफूसँग एक एक सूचना रहेको भन्दै ‘देखाइदिने’ धम्की दिए । ‘पार्टीभित्रबाट मलाई कतिसम्म असहयोग भइरहेको छ भन्ने कुरा आज अझ प्रष्ट भयो । यसको परिणाम राम्रो हुनेछैन, तपाईलाई म देखाइदिन्छु ।’ ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो ।  

ओलीले समेत धम्की दिएपछि गौतम झनै रिसाए । उनले ‘बिरामी मान्छे बालकोट गएर बस्नुहोस्, तपाईसँग देश चलाउने क्षमता, आँट छैन’ भन्दै कडा टिप्पणी गरेका थिए । पार्टीभित्र देश चलाउनसक्ने योग्य नेता अरु पनि रहेका भन्दै ‘पार्टीको यति धेरै बद्नामी हुँदा पनि कुन नैतिकताले पदमा बसिरहनु भएको छ ?’ भनी प्रश्न गरेका थिए । 

त्यसपछि ओलीले पनि गौतमलाई चुनौति दिंदै धम्क्याइरहे । ‘म राजीनामा दिँन्न, के के गर्न सक्नुहुन्छ गर्नुहोस्, म पनि हेर्छु ।’ ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो–‘सक्नुहुन्छ भने मलाई फालेर देखाउनुहोस् ।’ 

एकअर्कालाई हैसियत देखाइदिने धाकधम्कीकै बीच बामदेव गौतम बालुवाटारबाट निस्किएका थिए । 

स्रोतका अनुसार ओलीले बैशाख ८ गते दल विभाजन गर्नेलाई सहज हुने खालको दल सम्बन्धी र रिक्त संवैधानिक अंगहरुमा आफ्नो एकलौटी चल्नसक्ने गरी संवैधानिक परिषदसम्बन्धी गरी २ अध्यादेश ल्याएका थिए । यो अध्यादेश लोकतन्त्रको भावना विपरीत रहेको भन्दै पार्टीभित्र र बाहिरबाट विरोध भएको थियो । चर्को विरोधपछि दुवै अध्यादेश सरकारले फिर्ता लिएको थियो । 

सरकारलाई अध्यादेश फिर्ता गर्न बाध्य बनाउने उद्देश्यले त्यसअघि नेकपाका २० स्थायी समिति सदस्यले ओलीलाई एक पत्र लेख्दै तत्काल स्थायी कमिटी बैठकको माग गरेका थिए । उनीहरुले अध्यादेश फिर्ता गरी बैठक बोलाउन माग गरेका हुन् । 

अध्यादेश फिर्ता भइसकेपछि २० सदस्यले माग गरेअनुसार बैठक डाकिरहन आवश्यक नरहेको भन्दै ओलीले स्थायी कमिटी बैठक छल्न खोजिरहेका छन् । पार्टीमा स्थायी कमिटी निकै शक्तिशाली निकाय पनि हो । यो बैठकमा ओलीविरोधीहरुले उनलाई सरकारबाट फिर्ता बोलाउनेसम्मको निर्णय गर्ने तयारी गरेका छन् । यही कुरा बुझेका ओलीले यो बैठक हुन नदिन शनिवार बिहानैदेखि सचिवालयका नेताहरुलाई एक–एक गर्दै बालुवाटार नै बोलाएर भेटघाट गरेका हुन् । 

सचिवालयमा समेत अल्पतमा रहेका ओली स्थायी कमिटीमा पनि अल्पमतमा छन् । प्रचण्ड र माधवकुमार नेपाल समूहको स्थायी कमिटीमा समेत प्रचण्ड बहुमत छ। 

अध्यादेश प्रकरणपछि प्रचण्ड र नेपाल समूह समेत ओलीलाई देखाइदिने र उनको सरकार ढालेर माधव नेपालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने योजनामा छ । यो समूहका नेताहरु ओलीलाई फाल्ने यो जत्तिको उत्तम मौका फेरि नआउने भन्दै दवाब सिर्जना गर्न छाड्न नहुने पक्षमा छन् ।