काठमाण्डौ । न्युजिल्यान्डले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउनमा गरिएको कडाइलाई थोरै खुकुलो पारेको छ। त्यस्तै न्युजिल्यान्डले उच्च सतर्कर्ताको उच्चतम स्तरलाई पनि एक तह तल झारेको छ।

अब न्युजिल्यान्डमा तेस्रो चरणको लकडाउन जारी रहेको छ। यो लकडाउनका क्रममा मानिसहरु अझै पनि आफ्नो घरको सीमित परिधिमा रहनुपर्ने हुन्छ तर अब उनीहरुलाई आफ्ना नजिकको आफन्त र साथीभाइसँगै पार्क वा बिचमा जान सक्ने छुट पनि दिइएको छ। उनीहरुले अब आइसोलेसनमा रहेका आफन्तलाई सहयोग पनि गर्न सक्ने न्युजिल्यान्ड सरकारले छुट दिएको छ। 

न्युजिल्यान्ड सरकारले जति सम्भव छ जनतालाई घरबाटै काम गर्ने कोसिस गर्न आग्रह गरेको छ। यदि कुनै पसलले विना सम्पर्क सेवाहरु प्रदान गरिरहेको छ भने उसले निर्वाध रुपमा पसल खोल्न सक्ने भएका छन्। 

मानिसहरु रेस्टुराँ पनि जान पाउने भएका छन्। यसअघि अनलाइन सेवा प्रदान गरिरहेका रेस्टुराँमा गएर अब सेवाग्राहीले खाना प्याक गरेर घरमा लान सक्ने भएका छन्। तर रेस्टुराँमै बसेर भने खान पाउने छैनन्।

यसैगरी न्युजिल्यान्डमा स्कुल पनि खोल्न अनुमति दिइएको छ तर सामाजिक दूरी भने कायम राख्नुपर्नेछ। ठूलो संख्यामा मानिस जम्मा हुन र सार्वजनिक स्थलमा भीडभाड गर्न भने प्रतिबन्ध नै छ। – एजेन्सी