काठमाण्डौ । पार्टी एकतापछि र प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित भएपछि हुने सबै सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड समेत अन्य नेताहरुतर्फ नै बस्ने गर्थे । तर, निकै महत्वपूर्ण मानिएको र सर्वत्र चासोको विषयमा बनेको शनिवारको सचिवालय बैठकमा भने प्रचण्डको आसन एकाएक परिवर्तन गरियो ।

सचिवालय बैठकमा अरु बेलाभन्दा भिन्न दृश्य देखियो । अर्थात, यो दिन पार्टीका अध्यक्ष केपी ओली जता बसे, उतै अर्को कुर्सी राखियो र अर्का अध्यक्ष प्रचण्डलाई पनि ओलीसँगै बस्ने व्यवस्था मिलाइयो । 

यो विषय नेपाली मिडियामा हेडलाइन बन्यो । 

ओली र प्रचण्ड एकैतर्फ बसेपछि यसले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई भने झस्काएको स्रोतले दाबी गरेको छ । 

सचिवालय बैठकमा नेपालले व्यक्त गरेको अभिव्यक्तिले समेत ओली र प्रचण्डबीचको गोप्य सहमतिको विषयमा उनको असन्तुष्टि प्रष्ट देखिन्थ्यो ।

किनभने सचिवालय बैठकअघि ओली र प्रचण्डबीच भेटघाट र छलफल भएको थियो । सो छलफलमा दुई अध्यक्षबीच के सहमति भयो र ओलीको राजीनामा माग्नेसम्मको निर्णयमा पुगेका प्रचण्ड एकाएक किन नरम भए भन्ने विषयले नेपाललाई झस्काएको बुझिएको छ । 

आफ्नो समूहमा रहेका बामदेव गौतम २ दिनअघि नै केपी ओली क्याम्पमा पुगिसकेकामा नेपाल केही निराश थिए । हुँदा–हुँदा प्रचण्ड समेत बैठकको केही समयअघिदेखि ओलीप्रति नरम बनेपछि उनको पारो नतात्ने कुरै भएन । 

यहीकारण उनले बैठकमा समेत दुई अध्यक्षबीचका गोप्य सहमति पारदर्शी नभएकोमा व्यंग्य कस्न भ्याए । उनले बैठकमा भनेका थिए–‘पार्टीको एकता अक्षुण राख्ने विषयमा मेरो विमति रहेन । म पहिलादेखि नै यसको पक्षपाती हो । यसकारण मिलेर जाने कमरेडहरुको भावना एकदम ठीक छ । पार्टीमा हरेक कुरा तथा सहमति पारदर्शी हुनुपर्छ । अपारदर्शी ढंगले दुईजनाबीच भएको चोचोमोचो चाहि मानिन्न ।’ 

नेपालले सचिवालय बैठकमै आफू पार्टीको तेश्रो अध्यक्ष नबन्ने भन्दै ओलीले बुधबारको बैठकमा गरेको प्रस्ताव अस्वीकार गरेका थिए । 

यसरी हेर्दा शनिवारको सचिवालय बैठकले बामदेव गौतमको व्यवस्थापन गर्ने गरी मार्गप्रशस्त गर्यो । ओलीले आफ्नो कुर्सी जोगाउने सफलता पाए ।

तर, योसँगै नेकपाभित्र असन्तुष्ट हुँदै आएको नेपाल समूहलाई भने योसँगै झन सशंकित बनाउने र झस्काउने काम गरिदिएको स्रोतहरु दाबी गर्छन् ।

स्थायी कमिटी बैठकसम्म नेपाल समूहको असन्तुष्टिको विषयको सही व्यवस्थापन हुन सकेन भने अवस्था केही फरक पनि हुनसक्ने विश्लेषकहरु बताउँछन् ।