काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । 

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले यही वैशाख २६ गते शुक्रबार अपराह्न १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक बस्ने गरी अधिवेशन आह्वान गरेकी संसद् सचिवालयले जनाएको छ ।

यो अधिवेशन संसदको बजेट अधिवेशन(बर्खे अधिवेशन) हो । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन आह्वानसम्बन्धी पत्र आइतबार नै संसद् सचिवालयमा पठाएकी हुन् ।

संघीय संसद्को संयुक्त सदनमा जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सरकारले बजेट अधिवेशनको तयारी थालेको हो । त्यसपहिले नै प्रि बजेट छलफल गर्ने परम्परा छ । त्यसका लागि पछिल्ला वर्षहरूमा बैशाख १५ लगत्तै बजेट अधिवेशन बोलाइने गरिन्थ्यो । तर, यो वर्ष कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन जारी गरिएका कारण त्यो संभव भएन ।