चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन क्वारेन्टाइन निर्माणलाई प्राथमिकता दिएको छ । 
 
काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको सो नगरपालिकाभित्र कोरोना सङ्क्रमित बढेसँगै क्वारेन्टाइन थप गर्न लागेको हो । 
 
नगर प्रवक्ता हरिभक्त महर्जनले क्वारेन्टाइनको क्षमता विस्तार गर्न लागिएको जानकारी दिनुभयो  । 
 
नगरपालिकामा हाल ४० श्ययाको क्वारेन्टाइन तयारी अवस्थामा गरेको छ । चन्द्रागिरि अस्पतालमा १५ र चुनदेवी माध्यमिक विद्यालय थानकोटमा २५ श्ययाको  रहेको छ । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय र मनमोहन अस्पताल दहचोकमा क्वारेन्टाइन विस्तार गर्न लागेको छ । 
 
हाल चन्द्रागिरिमा कोरोना सङ्क्रमित देखिएका व्यक्तिलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको अस्पतालमा उपचार गरिँदै आएको छ । हालसम्म सो नगरपालिकामा पाँचजनालाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको जनाइएको छ ।  
 
नगरपालिकाले हालसम्म ४८५ व्यक्तिमा कोरोना परीक्षण गरिसकेको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकालाई यही जेठ ७ गतेसम्म  सिल गरिएको छ । 
 
नगरपालिका सिल गरेसँगै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पूर्ण प्रतिबन्ध गरिएको छ । 
 
सशस्त्र प्रहरी अस्पतालमा १२० क्षमताको आइसोलेशन वार्ड स्थापना गरी कोरोना सङ्क्रमितको उपचार गरिँदै आएको छ । 
 
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको जोखिम हुन नदिन  सरकारले २०७६ चैत ११ गतेदेखि देशभर लकडाउन जारी गरेको थियो ।