काठमाण्डौ । चीन सरकारले अस्ट्रेलियाले अब जौ निर्यातमा ८० प्रतिशत सीमाशुल्क दिनुपर्ने निर्णय गरेको छ।

चीनको यो निर्णय अस्ट्रेलियाली बजारका लागि ठूलो झट्का साबित भएको छ। यो एउटा विवाद हो। जुन हिसाबले चीनको यो निर्णय आएको छ, हुन सक्छ अब अस्ट्रेलिया यसविरुद्ध विश्व व्यापार संगठनमा अपिल पनि गर्न सक्छ।

अस्ट्रेलियाका पर्यवेक्षकहरुलाई भने चीनको यो कदम केवल दुई देशको व्यापारिक मामिलामा मात्र सीमित छैन। कोरोनाभाइरसको स्रोतलाई लिएर दुवै देशबीच भइरहेको खिचातानीका कारण प्रतिशोधका रुपमा चीनले यस्तो निर्णय लिएको हुन सक्ने उनीहरुको अनुमान छ।

अस्ट्रेलियाले कोरोनाभाइरसको स्रोत र यो भाइरस फैलिनमा चीनको भूमिकाको विषयमा निष्पक्ष र स्वतन्त्र जाँच हुनुपर्ने माग गर्दै आएको छ। अस्ट्रेलियाको यो मागप्रति वल्र्ड हेल्थ असेम्बलीमा ६० भन्दा बढी देशले समर्थन पनि गरेका छन्। साथै युरोपियन युनियन पनि यो मुद्दामा अस्ट्रेलियासँगै उभिएको छ। 

यद्यपि चीनले पनि यो व्यापारिक निर्णयमा कोरोनाभाइरसँग सम्बन्धित अस्ट्रेलियाको मागसँग कुनै सरोकार नभएको स्पष्ट पारेको छ। 

गता साता चीनले अस्ट्रेलियाका चारवटा भन्दा ठूलो बिफ निर्यातकहरुमा रोक लगाएको थियो। गत महिना चीनका राजदूतले यदि अस्ट्रेलियाले कोरोनासम्बन्धी विषयमा जाँचबुझ गर्ने माग राखिराखेमा चीनले अस्ट्रेलियाको उत्पादनहरु बहिष्कार गर्ने चेतावनी दिएका थिए। 

अस्ट्रेलियाले भने चीनको यो चेतावनीलाई ‘आर्थिक जबरजस्ती’ को संज्ञा दिएको थियो। अस्ट्रेलियाले कोरोनाभाइरसका विषयमा हुनुपर्ने जाँचको मागमा आफूहरु अडिग रहेको प्रतिक्रिया दिएको थियो। – एजेन्सी